
हरितालिका तीजको अवसरमा वरिष्ठ साहित्यकार शर्मिला श्रेष्ठद्वारा झ्याउरे छन्दमा सृजना गरिएका गीती टुक्काहरू
१/
मिलेर हामी,मनाऔँ आज,शिवको महिमा,
गाएर गीत,तीजको चाड,बढाऔं गरिमा ।
२/
आउँनु दिदी,बहिनी सबै,माइती आँगन,
नारीका सबै,अधिकार ति,दायरा मापन ।
३/
आमाको माया,संगाली जान्छु,मिठास दरको,
अति नै भयो,भगाइ सबै,कोरोना डरको।
४/
लगाऔँ मास्क,जरुरी रैछ,नजिकै उभिदा,
नबोली बाड्नु,लगाइ पन्जा,भोजन बाडिदा ।
५/
राख्नेछु शीर,ढुक्कले मत,आमाको काखमा,
सुरक्षा राखी,रमाऔं साथी,हुन्जेल साथमा ।
६/
दिएन शान्ति,कहिल्यै मन,चाडको बेलामा,
संस्कारै यस्तो,फरक पर्यो,चेली र चेलामा ।
७/
माइती सम्झी,रोएर बस्छु,प्रत्येक चाडमा,
घरका भने,रोकेर राख्ने,हकको आडमा ।
८/
पठाऊ लिन, हे मेरी आमा,चाड हो तीजको,
रोकिन्न अब,कसैले रोके,आश छ जितको।
९/
आमाजु नन्द,भैसके भेला,म बसौँ कसरी,
किनार कुर्नु,आउँछु आमा,खोला आफै तरी।
१०/
बुझ्दैनन् पीडा,चेलीका किन,निर्दयी समाज,
समाज त्यस्तै,दिदैनन् गर्न, माइतीमा राज।
शर्मिला श्रेष्ठ,ललितपुर
हाल अमेरिका

