
मेघराज राय जिराभवानी
पर्साको ठोरी गाउँपालिकामा जङ्गली च्याउ खोज्न गएका एक वृद्ध ३ दिनदेखि बेपत्ता भएका छन् ।गत असोज १ गते शुक्रबारका दिन नेपाल भारत सिमानामा पर्ने भारतको जङ्गलमा च्याउ खोज्न गएका वडा ४ , निर्मलवस्ती, स्याउली वस्तीका ७४ वर्षीय वृद्ध सुन बहादुर बोम्जन बेपत्ता भएका हुन् ।शुक्रवार दिउँसो करीब १२ बजे च्याउ खोज्न घरबाट करीब १ किलोमीटर दुरीमा रहेको दक्षिणतर्फ पर्ने भारतको वाल्मीकि टाइगरटप निकुञ्ज गएका बोम्जन सम्पर्कबिहिन भएको उनका नजिकका आफन्त पर्ने जीत बहादुर बोम्जनले जानकारी दिए। प्रायः सधैं जङ्गल गईरहने वृद्ध बोम्जन शुक्रबार बेलुकासम्म घर नफर्केपछी उनका आफन्त र छरछिमेकले शनिबार दिनभर नै जङ्गलमा खोजी गरेको जीत बहादुरले जानकारी दिए। करीब ६० जना भन्दा धेरैले जङ्गलमा बोम्जनको खोजी गरेपनि फेला नपरेको र आइतबार पनि स्थानीयले खोजी जारी राखेको उनले बताए। लगातार आफन्त र छरछिमेकले खोजी गर्दा पनि उनको अवस्था थाहा नभएपछि बोम्जनको खोजी गरिदिन आग्रह गर्दै उनका आफन्तले प्रहरीमा जाहेरी दिएका छन् । च्याउ खोज्न गएका वृद्ध बोम्जन ३ दिन बित्न लाग्दा समेत घर नफर्केपछी ईलाका प्रहरी कार्यालय ठोरीमा जाहेरी दिइएको उनका आफन्तजनले जानकारी दिए।घरमा पालनपोषण गर्ने एकमात्र वृद्ध बोम्जन बेपत्ता भएपछि उनको परिवार चिन्तामा डुबेको छ । उनको श्रीमती लामो समयदेखि अशक्त भएर थला छिन् । साथमा भएको एकमात्र छोरा मानसिक रुपमा सुस्त मनस्थिति र आँखा समेत कम देख्ने अवस्थाको रहेको उनको छिमेकीहरुले बताएका छन् । बोम्जन बेपत्ता भएपछि उनको घरमा बिचल्ली भएको छ । कालो बर्णका वृद्ध बोम्जनको उचाई अन्दाजी ५ फीट ८ इन्च रहेको छ ।
फेला पार्नुहुने वा देख्नुहुने महानुभावले नजिकैको प्रहरी चौकीमा खबर गरिदिनुहुनसबैसँग हार्दिक अनुरोध गर्दछ ।

