टुसास द्वारा ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा वृहत् टुक्का लेखन कार्यक्रम

  • ३० भाद्र २०७८, बुधबार १९:३१ मा प्रकाशित
  • काठमाडौ, ३० भाद्र । टुक्का साहित्य समाज काठमाडौले “टुक्का लेखन अभ्यास श्रृङ्खला-२१” सम्पन्न गरेकाे छ । विशेष अवसरहरूमा टुक्का कविता लेखन अभ्यास संचालन गर्दै अाएकाे समाजले ५७ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर भाद्र २९ गते उक्त कार्यक्रम सञ्चालन गरेकाे हो। अभ्यासमा नेपाल लगायत विश्वका विभिन्न देशहरूबाट ३४ जना नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।

    टुक्काकारहरूले बालबालिकाे संरक्षण तथा तिनीहरूकाे हक, अधिकार सम्बन्धमा केन्द्रित भई चाेटिला टुक्काहरू सिर्जना गरेका थिए। 

    अभ्यास कार्यक्रम टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंकाे संयाेजकत्वमा  सञ्चालन भएकाे थियो भने टुक्काहरूको संकलन र सम्पादनमा सहयोग समाजकी सचिव विमुन्स पौडेलले गर्नुभएकाे थियाे ।

    कार्यक्रमकाे समापनगर्दै अध्यक्ष चापागाईं र सचिव पाैडेलले सक्रिय सहभागिताकाे लागि सम्पूर्ण सर्जकहरूमा हार्दिक अाभार तथा धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

    अभ्यासकाे क्रममा संकलन गरिएका बालबालिका सम्बन्धी टुक्काहरू

    १.
    पढी लेखी हाँसखेल गरि ज्ञान भरेर,
    भाेलि देश बनाउने यिनै ज्याेती छरेर ।
    २.
    पढ्ने लेख्ने उमेरमा मजदुर बन्नु नपराेस्,
    बालबालिकाकाे संरक्षण गर्न बाधा नझराेस्।
    ३.
    बालअधिकारका कुराहरू भाषणमा मात्र सिमित भयाे,
    कानून बने कार्यक्रम भए ती बजेट त्यसै खेर गयाे ।
    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेशी, धादिङ

    १.
    अधिकारहरू चिन है तिमीले,
    अनि प्रेम दिनेछ यही जिमीले।
    २.
    सुन बालक हो सुख शान्ति तिर,
    अघि लम्किनू चिन्नू पर्यो समीर।
    ३.
    पर्खाइको अन्त्य कहिले हुन्छ?
    आमा बिना एक्लो जीवन रुन्छ।
    ४.
    बालअधिकार के हो कोही त केही सुनाऊ,
    मेरो वाल्यपन किन थिचिएको हो बुझाऊ।
    ✍️ पौडेल विमुन्स, पाेखरा

    १.
    अाधारभूत आवश्यकता हुन्न बञ्चित गर्दिन,
    अधिकार,ज्ञान, शीप दिएर पर्छ उर्जा भर्दिन।
    २.
    कोपिला हुन् यी आजका भोलिका कर्णधार हुनेछन् ,
    संरक्षण र माया पाएमा पछि त शिखर छुनेछन्।
    ✍️ नानीबाबा अधिकारी, काठमांडौ

    १.
    पाउनु पर्छ बच्चाले स्वास्थ्य,शिक्षा र पौष्टिक आहार,
    यही नै हो बालबालिकाको आधारभूत अधिकार। 
    २.
    बन्द गरौँ श्रम शोषण,हत्या हिंशा र बलात्कार,
    सुरक्षा गरौँ बालबालिका भविष्यका कर्णधार।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग।

    १.
    बिरुवा जोगाए पछि फलको आस,
    मल बिनाको बिरुवा हुँदैन खास।
    २.
    खै चट्टानमा पनि   उम्रदो रहेछ,
    त्यसको फल सारै नै तीतो भएछ।
    ३.
    पालुवा बचाए फूल बाँच्छ अनि बन्छ फूलबारी,
    पालुवा टिप्दै भाँच्दै गरेभने बन्नेछ काँडाघारी।
    ४.
    बचाऔँ पालुवा  सुन्दर  बारीको नै कल्पना गरौँ,
    गरी सुरक्षा हाली पानी संसारमै सुगन्ध छरौँ।
    ✍️धनुष न्यौपाने,
    प्युठान, हाल सुर्खेत

    १.
    अधिकार विद्यालय गई पढ्नु  मात्र होइन मेरो,
    भन्छन् खेल्नु पनि बालक, तोडौँ पुरानो सोचको घेरो ।
    २.
    काँचो माटो भन्छन् तिनलाई राम्रो आकार देऊ,
    सबल सन्तानका अविभावकको जस लेऊ ।
    ३.
    दिएर प्रेरणा बढाउनु अगि,
    समय सुलुत्तै गइहाल्छ बगी ।
    ✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर ।

    १.
    आजका बालबालिका भविष्यका कर्णधार,
    देश निर्माण कार्यको लागि प्रमुख उद्गार।
    २.
    आजका कोपिला भोलिका फूल,
    यिनै हुन ती विकासका मूल।
    ३.
    हामी  हौँ  संरक्षक  तर्नु  परे जंघार तरौँ,
    बालबालिकाको अधिकार सुरक्षित गरौँ।
    ४.
    आजका बालबालिका भोलिका कर्णधार,
    सबै जना मिली गरौँ समान व्यवहार।
    ✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
          पनौती ३,काभ्रे

    १.
    बालअधिकार जोगाई महान बन्नु पर्छ,
    बा.सं.बि.स. अधिकारले बालक अघि बढ्छ ।
    २.
    मिच्नु हुन्न अधिकार साना नानीको,
    संरक्षण गरिदिनु राम्रो बानीको ।
    ३.
    कलिलो म मुना छु आज रक्षा गर,
    आउनेछू भोलि रक्षक बनी घर ।
    ४.
    साना ठूला सबै समान कानूनको नजरमा,
    कति अस्त वन पाखा कति विलीन वगरमा ।
    ✍️ इन्दिरा देवकोटा ,  कपिलवस्तु न .पा .३

    १.
    फूलबारीको फूलहरूमा एक कोपिला,
    ती सन्तान मीठो जातको देशकै चिचिला।
    २.
    निःस्वार्थ बालबच्चामा गरौँ लगानी,
    सही बाटो देखाएमा हुन्छ आम्दानी।
    ३.
    आज बालक भोलि ठूलो भविष्यको कर्णधार,
    रानोझैँ  नेतृत्व  भए  सुन्दर  बन्छ  आफै  घार।
    ४.
    कानून जरुर हुनुपर्छ अनि सही कार्यान्वयन,
    स्थानीयबाट शुरु गरौँ हाम्रो नभई राम्रो चयन।
    ✍️ म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-प्रवास

    १.
    आजका यी बालबालिका भोलिका कर्णधार,
    पढी लेखी सक्षम भए थाम्छन् देशको भार ।
    २.
    शिक्षा, स्वास्थ्य, खेलकुद उचित हेरविचार,
    स्वतन्त्रता दिनुपर्छ हक अनि अधिकार ।
    ३.
    कुबाटोमा लाग्नबाट जोगाऔं बच्चा दिई असल संस्कार,
    सुनिश्चित गरौं बाल अधिकार उनीहरुको हरबार ।
    ४.
    कर्तव्य हुन्छ अभिभावकको सत्मार्ग देखाउने,
    योग्य र कर्मठ बनाउन लेखपढ गराउने ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    १.
    आजका  बालबालिका भाेलिका खम्बा  बन्नेछन् ,
    देशकाे लागि  सकेसम्म   खट्नुपर्छ भन्नेछन् ।
    २.
    देशैभरि मनाइदै छ कार्यक्रम  राम्रो,
    बालदिवस अनुपम उत्सव  हाे हाम्रो  ।
    ३.
    अपराधीहरू पनि तानाबाना बुन्छन् ,
    बच्चाबाट पनि ठूला अपराध  हुन्छन् ।
    ४.
    बालक भनेर  अदालत  अपराधी  बचाउँछ,
    पीडितलाई रुवाएर पिडकलाई हसाउँछ ।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    १.
    सानातिना लालाबाला समाजकाे सार,
    गर्न सक्छन् केही नयाँ पाए अधिकार  ।
    २.
    नकुँदेकाे काँचो माटो जस्तो हुन्छन् कलिला बाला,
    शिक्षा स्वास्थ सुरक्षा र अधिकारकाे हक वाला ।
    ३.
    सुरक्षाको मजबुत जुटाऊँ ताला साँचाे ,
    हाम्रा नानी बाबुकाे जाेखिम् घटाउँने खाँचो ।
    ४.
    कलिलाछन् नानीबाबू खाेज्छन् अाडभर,
    जाेखिम् टारि सुरक्षाको प्रत्याभूति गर ।
    ✍️ रामकृष्ण दुवाडी, पाेखरा ।

    १.
    बिना रोकतोक जिन्दगीको बिहानी म पाऊँ,
    हुन्छ विश्व फूलबारीमा फुली मगमगाऊँ ।
    २.
    आज बालक कोपिला छु मौका पाए पढ्न,
    सक्छु भोलि उन्नतिको सगरमाथा चढ्न ।
    ३.
    आजको कोपिला भए पनि हुँ भोलिको फूल,
    उचित शिक्षादीक्षाले म बन्छु विकास मूल ।
    ४.
    सडक बालक हुँ म सबै गर्छन् अत्याचार,
    खाते भन्छन् खोई त मेरो जिउने अधिकार ?
    ✍️ श्रीकृष्ण शर्मा, पोखरा

    १.
    कोपिला हुन् बालबालिका राम्रो  सँग फुल्न  देऊ,
    हराएको शिक्षा सबैजनाले खोजी खोजी लेऊ।
    २.
    आफ्नो अधिकार गुमाउन दिनु हुँदैन कहिल्यै पनि,
    सबै बालबालिका एउटै हो हाम्रो होस् शिक्षाको धनी ।
    ३.
    बालबालिकाको सुरक्षा सबैले गरौँ,
    मनभरी हामी उनको शिक्षाले  भरौँ ।
    ४.
    नलैजाऊ कोही अन्धकारको बाटो,
    खेलून् जहिले आफ्नै यो देशको माटो ।
    ✍️ कल्पना थामी , सिन्धुपाल्चोक

    १.
    निरिह बन्दै छ मान्छे धरातलमा,
    न्याय विक्दैछ आज अदालतमा ।
    २.             
    घेरा बन्दी भित्र गुम्सिएका भावना,
    बुझ्दैन कसैले पिल्सिएका को चाहाना ।
    ३.           
    पुकारा गरिरहेछ  न्याय का  खातिर,
    काहाँ मिल्ला यो मनमा शान्ति रआखिर ।
    ✍️ सूर्य मणि रेग्मी , चितवन

    १.
    अबोध बाल बालिकाले पाउनु पर्छ अधिकार,
    पढ्न पाऊन् रमाई बिद्यालयमा तिनी लगातार।
    २.
    पोषिलो खाना खान खेल खेल्न पाउँनु राम्रो,
    कोरोनाको खोप लाउन आवश्यकता हाम्रो।
    ✍️ तारा घिमिरे,संखुवासभा

    १.
    भाद्र उनन्तीस गते अाज हाे विश्व बाल दिवस,
    सँरक्षण विहिन भइ छन रुनलाई विवश ।
    २.
    अधिकार दिई हामी सबले बालबालिकाकाे रक्षा गराैँ,
    स्वर्णका कलशमा जल भरिभराउ झैं  दिमाग भराैँ ।
    ✍️ लक्ष्मी घिमिरे दहाल
    दमक -७ झापा

    १.
    बच्चालाई शिक्षा दिक्षा दिँदै समस्यासँग डट्न सिकाउनुपर्छ
    सत्यताले गन्तव्य छुन्छ है भन्दै जोश जाँगर  झिकाउनुपर्छ।
    २.
    कलिला मुनालाई सम्हाल्नु पर्छ घन ठोक्न दिनुहुन्न,
    असल छुट्टाउन सिकाउ गलत निर्णय लिनुहुन्न।
    ✍️ इश्वरी अधिकारी, लमजुङ्ग

    १.
    बालकलाई  चाहिएको छ संरक्षणका हातहरु,
    कानुन व्यवसायीहरूले बुझिदिऊन् यी बातहरु।
    २.
    आफै धामी र बोक्सी मन्त्र नभरौँ,
    बाल अधिकार हनन नगरौँ।
    ✍️ सरस्वती श्रेष्ठ,  इटहरी

    १.
    अनेकौँ सपना  देखाउँछ दरिया,
    नेपालको तन्त्र भो वेश्याको फरिया ।
    २.
    साशकले शासन अनेक तरिकाले गर्छ,
    बालक हुन्जेल जोगाएर युवा बेच्नु पर्छ ।
    ✍️ रिजाल विनोद, बेलबारी ०२ मोरङ

    १.
    सहनु छ हथौड़ाको चोटैचोट जीऊ भरी,
    लुटिखाने अरू नै छ श्रम गर्छु मरी-मरी।
    २.
    वालकलाई चाहिएकोछ संरक्षणका हातहरू,
    किन आज बितिरहेछन् छट्पटिमै काला रातहरु।
    ✍️ होम प्रसाद न्याैपाने, धरान,सुनसरी

    १,
    कानूनले भन्छ बालश्रम गर्नु दिनु हुन्न,
    गरिब को भोको पेटलाई कानुनले छुन्न।
    २,
    बालकको श्रम शोषण सरकार ले गर्छ,
    कानूनको  पालन  सरकारले गर्नु पर्छ।
    ३,
    जसोतसो दु:ख गरी लक्का जवान भयो,
    अाफ्नो देशमा काम हुन्न विदेशमा गयो।
    ✍️ लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा

    १.
    सुरक्षा हो पहिलो कुरा बालबालिकाको सबैतिर,
    श्रमबाट जोगाऔँ अनि पढाइमा लगाऔँ आखिर ।
    २.
    न्याय गरौँ बालबालिका माथि अधिकार बुझाएर,
    लेख्ने पढने खाने बस्ने हक सबको छ सुझाएर ।
    ✍️ माधव पोखरेल गोज्याङ्ग्रे
    उदयपुर गाईघाट हाल ताप्लेजुङ

    १.
    बाल दिवस भन्छ मञ्चमा भाषण दिन्छन,
    उनैको पसिनाको उब्जिएको धन लिन्छन।
    २.
    बाल मजदुर बनी आएं मौलानमा पनि,
    साध्यछैन बितेका दिनका दुःखलाई भनी।
    ✍️ सुरेशकुमार पान्डे, दाङ घोराही १८

    १.
    सडकमा मागेका नदेखिउँन् सुरक्षित हुनुपर्छ बालअधिकार,
    प्रत्येक बालबालिका  हाम्रा देश बिकास गर्न सक्ने बनुन् होनहार।
    २.
    पढ्ने हक प्रत्येक बालबालिकाको सुगम स्थलका होस् या दुर्गमका,
    निःशुल्क शिक्षा व्यवस्था प्रणाली बनाउनमा ध्यान जाओस् सरकारका।
    ✍️ शर्मिला श्रेष्ठ, ललितपुर
    हाल परदेश

    १.
    बाल शोषण हटाऊँ भनी कतिदिन गाउने,
    बालबच्चा सधैँभरि उही मेलापात धाउने ।
    २.
    आँखा भरि आँसु हुन्छ उनको दु:ख देख्दा,
    उनको दु:ख के घट्थ्यो र मैले टुक्का लेख्दा ।
    ३.
    पढ्ने लेख्ने उमेरमा पर्छ मेलामा धाउनु,
    दुखीयाको जीवनमा कहिले सुख आउनु ।
    ✍️ मन्दिरा सेढाई
    धादिङ, मलेखु


    बालबालिका हुन् महान एक कर्णधार,
    उनीहरुले पाउँनु पर्दछ बाल अधिकार।

    धेरै हुन्छन् स- साना बालबालिकाहरूकाे हरेक चाहना,
    बुझ्नुपर्छ जनताहरूले उनीहरूकाे मनकाे भावना।

    ठाउँ-ठाउँमा,चाेक-चाेकमा दिनहुँ भई रहन्छ नि हत्या बलात्कार अति,
    बालबालिकालाई हामी सबै मिलेर दिनु पर्छ यिनको अधिकार जति ।
    ४.
    अनेकौँ सपनाहरू देखाएर काम लगाएका हुन्छन्,
    बिचरा तिनी नाबालक बालबालिकाहरू कति रुन्छन्।
    ✍️ शाेभा अर्याल
    रुपन्देही -१४, बुटवल

    १.
    नारा खुब लाउँछौ बाल अधिकार दिन्छौ भनी,
    नारामा नै सिमित हुन्छन् हरेक व्यानर बनी ।
    २.
    बाल अधिकार के खाँदा खेल्दा मात्र हुन्छ ?
    परम्परा देखिको कुरीति याे कस्ले सुन्छ ?
    ३.
    गरौँ माया  दिऔँ प्रेरणा हरेक बाल बालिकालाई,
    नरोकिउन् हरेक पाईलाहरू कहीँ सद्बुद्दि अाई।
    ✍️ दुर्गा  अाचार्य, मोरङ्ग

    १.
    सम्झना मात्रै आउँदा पनि कति हुन्छ हर्ष
    त्यो बाल्यकालको मिठासमा गरुँ के बिमर्ष ।
    २.
    न पिट्ने गर्नु भो न गर्नु भो कहिले गाली,
    बालक हुँदा बिग्रँदा न बजाउनु ताली ।
    ३.
    बाल बालिका हुन् भोलिका भविष्य हाम्रा
    बनाउँनु पर्छ  गहना बिचार  राम्रा ।
    ✍️ पुष्पासायरा, बिराटनगर ।

    १.
    शान्तिका सम्वाहक हुन् हाम्रा प्यारा बालबालिका,
    बालश्रम यो मुक्त पारौ  सबै गाउँ  र पालिका।
    २.                     
    माया गरौँ प्रेरणा दिऔँ बालबालिकालाई,
    अगाडी बढुन् हामी सबको अर्ती बुद्दी पाई।
    ३.                      
    बालबालिका तारा जस्तै सधैँ चम्किरहुन् ,
    प्रगतिको  पथमा  निरन्तर  लम्किरहुन् ।                   
    ✍️ नवशिला
    बेलबारी- २,लालभित्ती,मोरङ।

    १.
    साना बालबालिका हुन् देशको भविष्य उज्वल पार्ने,
    टुहुरा अनाथ बनाएर किन बाल आश्रम सार्ने?
    २.
    अज्ञानी थिए कतिपय ज्ञानको ज्योति देखाऊँ,
    अनाथ बाल खोजी बिद्यालयमा नाम लेखाऊँ।
    ३.
    पढेर लेखेर पछि ठुला भएर देशको नाम चलाउँछन्,
    यिनै बाल बालिका ले घुसखाेरी देश द्रोहीलाई जलाउँछन्।
    ✍️ कमला हरिमाया पाण्डे पराजुली, झापा

    १.
    बाल दिवस मनाअौ बालबालिका हाम्रा  साथी,
    उनका प्रतिभा बाहिर उजागर गर्ने माथि ।
    २.
    बाल अधिकार उनको हो हक ठान्दै,
    स्कूलमा वाद-विवाद गराऊ है छान्दै।
    ३.
    बालबालिका हाम्रा पूर्वाधार,
    यिनीलाई अटुट गरौं प्यार ।
    ✍️ भगवती दवाडी, दमक झापा

    १.
    न चिन्ता, न पीर, खाली खान र खेल्न मन लाग्ने,
    स्कूल जाँदा म, किताब सहित, बाटोबाटै भाग्ने ।
    २.
    फर्केर आए नि हुन्थ्यो, एक दिन त्यो बालापन,
    आमैलाई ढाँटेर जान्थेँ नि, अम्बा चोर्ने त्याे मन ।
    ३.
    बाबाको पिटाई रुवाउँथ्यो, आमाको श्पर्सै न्यानो,
    फेरि बन्न मन छ मलाई, कान्छो भन्दा नि स्यानो ।
    ✍️ गोपाल कृष्ण डंगोल
    इटहरी, सुनसरी,  प्रदेश नं-१

    पढ्न गुन्न सधै लागोस् बालबालिकाहरूलाई मन,
    विद्यालाई  सदुपयोग गरे यही हो जीवन धन।
    ✍️ गोमा गुरागाई, इटहरी

    :::::: जय टुक्का !जय साहित्य!! ::::::

    One thought on “टुसास द्वारा ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा वृहत् टुक्का लेखन कार्यक्रम

    1. हार्दिक आभार हिमालयन दृष्टि अनलाइन पत्रिका प्रति तथा वसन्त अनुभव सर प्रति कृतज्ञता प्रकट गर्दछु।

    Leave a Reply