
काठमाडौ, ११ असोज । टुक्का साहित्य समाज काठमाडौले ‘टुक्का माथि टुक्का’ नामक नयाँ टुक्का लेखन अभ्यास शृङ्खला कार्यक्रम सञ्चालनमा ल्याएको छ । समाज अध्यक्ष एवं टुक्का कविताका प्रवर्तक ताराप्रसाद चापागाईंको परिकल्पनामा उक्त अभ्यास शृङ्खलाको प्रथम भाग सञ्चालनमा ल्याइएको हो ।
साप्ताहिक रूपमा सञ्चालन गरिने उक्त कार्यक्रमको संयोजनको जिम्मा सक्रिय टुक्का सर्जक वसन्त अनुभवलाई दिइएको अध्यक्ष चापागाईंले जनाउनु भयो । उहाँका अनुसार टुक्का कविताको उन्नयन र विकासका लागि नयाँ नयाँ प्रयोग ल्याउने क्रममा उक्त अभ्यास शृङ्खलाको शुरूवात गरिएको हो ।
“टुक्का माथि टुक्का” काे पहिलाे शृङ्खलामा समाजका अध्यक्ष ताराप्रसाद चापागाईले सिर्जना गर्नु भएकाे व्यङ्ग्यात्मक टुक्कामाथि केन्द्रित भएर टुक्काकारहरूले व्यङ्ग्यात्मक टुक्काहरू सिर्जना गर्नुभएको थियोे । उक्त अभ्यासमा २० जना टुक्का सर्जकहरूको सहभागिता रहेको थियोे ।
टुक्का अभ्यासका लागि राखिएको व्यङ्ग्यात्मक टुक्का
अपरिचित अनुहारले आफ्नोलाई नै भुलायो,
घरको काममा मन छैन सारा संसार डुलायो ।
✍️ ताराप्रसाद चापागाईं, धुनिवेशी
सहभागीहरूद्वारा सृजित टुक्काहरू
अपरिचितको अनुहार पर्दैन देख्न सुन्दरै भयो छाँया,
घरभित्रको भन्दा बढी बाहिरकै मान्छेको लाग्न थाल्यो माया ?
✍️ रचना शर्मा ‘प्रतीक्षा’, ललितपुर
भो परेन अब कुराहरुको साथ,
बरू हाँसो होइन देऊ तिम्रो हात ।
✍️ निमा भाेटिया
जलढक्का, कालेबुङ
सधैभरि मेराे मनमा तिर्सना जाग्छ,
अपरिचित देख्दा भने डरै पाे लाग्छ ।
✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
गाेरखा
अपरिचित अनुहार तर चिने जानेको हो की जस्तो,
हेर्दा मात्रै रहेछ आकर्षक ब्यहोरा भने निकै सस्तो।
✍️ प्रमाेद भट्रराई प्रतिक
काैशलटार
ओठमाथि लपक्क गाजल अनि लाएपछि आँखामा लाली,
अर्काको पोइलाई माया गरेर मेरी कहाँ हुन्छ्यौ र काली ?
✍️ श्रीकृष्ण शर्मा पोखरा
पक्कै प्रेमरोग ले आश्रय पायो,
त्यै भएर होनि बौलाहा बनायो।
✍️ इशाक हुसैन
बारा, हाल काठमाडाैं
कलि कालले यस्तै बनाउँछ,
पछि हाँस्न नदिई रुवाउँछ।
✍️ अरुण कुमार भुजेल
गाेरुवथान, भारत
नक्कलीले आँखा झिम्क्याई फिँजाई दिई झाँक्रो,
मर्ने बेला भएको बुढालाई हरियो काँक्रो।
✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
एक नारी ब्रह्मचारी,
छैनन् अब त पुजारी ।
✍️ प्रधुम्न चालीसे, भक्तपुर
परिचित आफ्नाहरूले परिचितलाई नै भुलेपछि,
नजिकैको तिर्थलाई हेला गरि टाढा टाढा डुलेपछि।
✍️ शान्ती याक्साे वन
काठमाडाैं
अपरिचितले भुलाए पनि आफ्नो नभुलून्,
पारिवारिक सम्बन्ध त्यागेर कतै नडुलून्।
✍️ म्यामराज राई, भाेजपुर
हाल, जापान
झिम्काएर अाँखा उस्लाई मख्ख परेको ,
बुख्याँचालाई यतिबिघ्न मायाँ गरेकोे ।
✍️ रामकृष्ण दुवाडी, पाेखरा
नक्कली ले अाँख मारी घरकी भुलायो,
गोजी सबै रित्त पार्दै सन्सार डुलायो।
✍️ लक्ष्मी श्रेष्ठ, झापा
तिम्रो आँखा मै तिर झिमिक्क,
जति हेरी नि लागेन दिक्क ।
✍️ कल्पना थामी, सिन्धुपाल्चाेक
घरको कामले फुत्कनै पाइन,
देखभेटै नभै भो माया लाइन ।
✍️ ऋषिराम खनाल, नवलपुर
दायाँबायाँ लुकिछिपी सम्बन्ध लुकाउँछन् ,
आफ्नै स्वरुप हेर्दै आफ्नु मुख सुकाउँछन्।
✍️ होम प्रसाद न्याैपाने
धरान,सुनसरी
यता खाएर उताको गुणगान गर्नेले,
के विश्वास देलान् पिठ पछि छुरा धर्नेले ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
पर्दाफास गरी नाैटङ्कीलाई पाठ सिकाउनु,
कि निकाल्नु घरभाँडालाई कि नाठाे झिकाउनु।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेशी
कसरी जान्नु हजुर चित्र हेरेर चरीत्र,
हेर्दा राम जस्तै लाग्दथ्यो कृष्ण रहेछ भित्र
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
कसले हो बुझ्ने बरै उसको चालबाज,
घरै खाली बनाएर गर्दैछे सज्जा साज।
✍️ विमुन्स पाैडेल, पाेखरा
::::: जय टुक्का! जय साहित्य!! :::::


हार्दिक आभार हिमालयन दृष्टि अनलाइन पत्रिका प्रति तथा वसन्त अनुभव सर प्रति कृतज्ञता प्रकट गर्दछु। सम्पूर्ण टुक्का सर्जक ज्यू हरूमा हार्दिक बधाई तथा शुभकामना।