श्रीकृष्ण जन्माष्टमीको अवसरमा टुक्का लेखन कार्यक्रम सम्पन्न, नेपाल लगायत विश्वका ८० जना नेपालीभाषी सर्जकहरूकाे सहभागिता

  • १४ भाद्र २०७८, सोमबार ०८:५० मा प्रकाशित
  • टुक्का साहित्य समाज, काठमाडौले हिन्दुहरूको पर्व
    श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर यहि भाद्र १३ गते “वृहत टुक्का लेखन अभ्यास श्रृङ्खला-१८” सम्पन्न गरेकाे छ।

    टुक्का साहित्य समाजकी सल्लाहकार शर्मिला श्रेष्ठकाे संयाेजकत्वमा संचालन भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूका ८० जना नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । उक्त शृङ्खलाको टुक्का लेखन र संकलनमा संयोजक श्रेष्ठलाई समाजका अध्यक्ष ताराप्रसाद चापागाई र सचिव विमुन्स पाैडेलले पनि सहयोग गर्नुभएको थियोे । श्रीकृष्ण जन्माष्टमी काे पावन अवसरमा आयोजित शृङ्खलामा उहाँहरूद्वारा सहभागी सर्जकहरूमा हार्दिक धन्यवादका साथ शुभकामना व्यक्त गरिएको थियो ।

    टुक्का काव्य विधा अन्तर्गतको नविनतम उपविधाहरू मध्ये एक हो । जसलाई समान अक्षर संख्यामा अन्त्यानुप्रास सहित दुई हरफमा लेख्ने गरिन्छ । टुक्का कविताको उन्नयन र विकासका लागि टुक्का साहित्य समाजले नियमित टुक्का लेखन अभ्यासका साथै विशेष शृङ्खला पनि सञ्चालन गर्दै आएको छ ।

    अभ्यासकाे शृङ्खलामा संकलन गरिएका टुक्काहरू

    [१]

    १.
    कृष्ण जन्माष्टमीकै दिन भयो मथुरा झलमल,कंसको तय मरण,
    सत्यको जितमा श्रीमद्भागवत उदाहरणीय,पापीका लागि ग्रहण।
    २.
    दुर्जन,अत्याचारीको थलमा कृष्णको जन्मले धन्य भयो द्वापरयुग,
    कलियुगी कंस दहन गर्नुपर्छ प्रभु!फेरि जन्म लिन नेपाल पुग।
    ✍️ शर्मिला श्रेष्ठ
    ललितपुर, हाल अमेरिका

    [२]
    १.
    देवकी र वासुदेवलाई यमुनाले डाक्दै ल्याइन्,
    वृन्दा वनले गाेठालाेमा कन्हैयाकै दर्शन पाइन् ।
    २.
    धृष्टताले जलाउँछ कंस जले जस्तै गरि,
    साँचो प्रेम बाँचिदिन्छ राधा कृष्ण बाँचे सरि।
    ✍️ धनु शर्मा, पाेखरा

    [३]
    १.
    विष्णु भगवान् को आठौँ अवतार कन्हैया कृष्ण प्यारा,
    जगत् भलाईकाे उपदेशले सचेत गरायाै सारा।
    २.
    युद्ध मैदानमा दिएका थिए उपदेश राम्रा,
    संसारका मार्ग निर्देशक कृष्ण भगवान् हाम्रा ।
    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेशी नगरपालिका ९, धादिङ

    [४]

    १.
    तिमी हौ हर युगका दुःख नासक,
    तिमी नै सत्य कुराका हौ प्रचारक ।
    २.
    तिमी कृष्ण युगयुगसम्म न्याय मूर्ति,
    किन दानव फेरि बलको राख्छ फुर्ती।
    ✍️ पौडेल विमुन्स, पोखरा कास्की

    [५]
    १.
    युगका युग पुरूष तिमी हौ प्रभु कृष्णा,
    तिम्रो सम्झनाले मात्र पनि मेटिन्छ तृष्णा।
    २.
    हे कृष्ण तिम्रो लिला अपरम्पार परमात्मा,
    जोडिएका प्रभु तिमी प्रेमीहरू भित्र आत्मा।
    ✍️ शरद प्रधानाङ्ग, विराटनगर-७

    [६]


    कंशले नि घुडा टेक्यो चलेन उसको जोर,
    ठुला ठुला दानव जित्यौं तिमी मख्खन चोर।

    श्रीमद् भागवत पुराण बन्यो तिम्रै वाणी लेखि,
    कर्म र फलको सुन्दर ब्याख्या भेट्छौ पढेदेखि ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [७]


    कृष्ण जन्माष्टमी हामी पुजा गर्छौ,
    जिन्दगी   भर  उनकै   भर  पर्छौ।

    कृष्ण जन्माष्टमी कृष्णजिको पुजा गरौं,
    हामी  सबैले  उनकै  जस्तो  ज्ञान  भरौं।
    ✍️ जगत थापा, बझाङ्ग

    [८]


    दही चोरी खाने उनै भगवान कृष्ण नै  थिए,
    दुष्ट कंशलाई मार्न भनी कृष्णले जन्म लिए l

    महान हुनुहुन्छ है भगवान कृष्ण देव अवतार,
    सबैले बुझ्नु संसारमा भगवानको लिला छ अपार l
    ✍️ रिता खराल, रुपन्देही

    [९]

    १.
    सबै भक्तहरूको उनै हुन् सहारा,
    बाँसुरी बजाउने राधाका पियारा ।

    मखन मन पराउने हुन् चित्त चोर,
    कृष्ण हृदयमा राख्न बनाउँछु  खोर ।
    ✍️ रिजाल विनोद,
    बेलबारी २ मोरङ

    [१०]

    १.
    जन्म भएथ्याे मथुराकाे जेलमा,
    अधेराेथ्याे बत्ती थिएन तेलमा ।
    २.
    कृष्णजीले सधैं मक्खन, मिस्री नाैनी मिठाे मानी खाएर,
    राधाजी साथ रासलिला रचाएथ्याै बृन्दावन अाएर ।
    ✍️ लक्ष्मी घिमिरे दहाल, दमक -७ झापा

    [११]

    १.
    हे कृष्ण तिमीले वंशी बजाइ देउन,
    दु:ख पाएं धेरै मैले काखमा लेउन ।
    २.
    भन्छन् कृष्ण तिम्रा त गोपिनी धेरै थिए अरे,
    लिला  अति  भयो  प्रभु  अब  पटक्कै नगरे ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरंग हाल- प्रवास

    [१२]

    १.
    श्रीकृष्णकाे भाे लिला ठुला,
    माेहमा सारा जगत् भुला ।
    २.
    आइद्याैन हे कृष्ण कुकर्मी मास्नकन,
    पुकार गर्दछु हर दिन भगवन ।
    ✍️ प्रधुम्न चालिसे
    भक्तपुर कटुञ्जे, सु न पा ५

    [१३]

    १.
    युग परिवर्तन गर्ने महान विचारक श्रीकृष्ण हुन,
    सब छोडेर शान्ति खातिर महाभारत युद्ध गराउन ।
    २.
    श्रीकृष्णका पदमा आफ्ना सब दर्द थुपारी,
    भुलेर आफ्नो कर्म, केवल नबसौँ गुहारी ।
    ✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर ।

    [१४]

    १.
    जन्मिए कृष्ण त्यो अधेरी रातमा,
    वसुदेव  देवकी  थिए साथमा।
    २.
    मखन खाने बासुरी बजाउने,
    कृष्ण नाममा मन यो रमाउने।
    ✍️ रघु न्याैपाने, पाेखरा

    [१५]

    १.
    सकेजति जप, ध्यान, दान गर्ने  गर्छु ,
    कृष्णकाले सम्झिएर शरणमा  पर्छु ।
    २.
    कृष्णले ज्ञानको  कटारी चलाए,
    प्राण चुसी पुतना भैमा ढलाए ।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [१६]

    १.
    कृष्णजीको लीला बुझ्न चाहिन्छ शुद्ध तनमन,
    आचार विचार शुद्ध राखे, सुधरिन्छ जीवन।
    २.
    भौतिक प्रेमलाई न तौल तिमी त्यो रासलीलामा,
    अखण्ड प्रेमको हेर निशानी वृंदावन सिलामा।
    ✍️ पदमा शर्मा आंचल, कालाचिनी, भारत

    [१७]


    भाद्रकृष्ण अष्टमीको मध्यरात झलमल,
    श्रीकृष्ण तिमी जन्मिँदामा सबै थे अलमल ।

    जन्मिनेबित्तिकै बिछोडियौ प्यारो काख आमाको,
    दूधै नखाई गोकुल पुग्यौ हर्कतले मामाको ।
    ✍️ श्रीकृष्ण शर्मा, पोखरा

    [१८]

    १.
    द्वापरयुगमा अवतरित हुनुभए’थ्यो श्री कृष्णा,
    पूरा भए’थ्यो मानव जातिको प्रभु मिलनको तृष्णा।
    २.
    एउटा कंसको विनाश गर्न पनि भगवान श्रीकृष्ण आफैँ अघि सरे,
    कलियुगमा जन्मिए झनै धेरै कंसहरू भगवान नै ओझेल परे।
    ✍️ प्रमोद भट्टराई ‘प्रतीक’
         कौशलटार, भक्तपुर

    [१९]

    १.
    बाच्छा रहे मथुरामा गाई बृन्दाबन ,
    हामी कतै नजाउ है कृष्ण यहि छन ।
    २.
    गोकुल खोज्यौ मथुरा खोज्यौ खोज्यौ बृन्दाबन ,
    बाहिर कतै छैनन् कृष्ण हाम्रै मनमा छन ।
    ✍️ मन्दिरा सेढाई, मलेखु धादिङ

    [२०]

    १.
    भाद्र कृष्ण अष्टमी तिथि अन्सार,
    श्रीकृष्ण ज्योती छ उज्यालो सन्सार।
    २.
    मन्त्रमुग्ध  आनन्द  बाँसुरी  धून,
    लम्किन्छ कृष्णभाव़ चन्द्रमा छुन  ।
    ✍️ होम प्रसाद नेउपाने, धरान,सुनसरी

    [२१]

    १.
    कृष्ण तिम्रो मुरलीको धुन अति मिठो ,
    घरको धन्दा छोडी राधा पुग्थिन छिटो ।
    २.
    यशोदाका  पुत्र तिमी कृष्ण कन्हैया ,
    तिम्रो चाल देखि छक्क  यशोदा मैंया ।
    ✍️ इन्दिरा देवकोटा, कपिलवस्तु न .पा .३

    [२२]

    १.
    श्री कृष्ण जन्माष्टमीको दिन घर-मन्दिर सजाइन्छ,
    हरि किर्तनमा मस्त भइकन् शंख-घण्टा बजाइन्छ।
    २.
    पूर्ण अवतार  प्रिय प्रभु  सोह्रै कलाले युक्त,
    श्री कृष्ण कृपाले हुन्छ भवसागरबाट मुक्त।
    ✍️ अरुण कुमार भुजेल , गोरूबथान,कालेबुङ्ग।

    [२३]

    १.
    कृष्णजी को जन्म भएथ्यो मथुरा को जेलमा,
    बुवा आमा दुवै थिए हतकडी र नेलमा।
    २.
    जन्म भन्दा पहिले आकाश वाणी दियो,
    देवकीका  आठौ पुत्र कंश मार्ने थियो ।
    ✍️ सरस्वती श्रेष्ठ, इटहरी

    [२४]


    साँझ घर अाऊ कृष्ण बत्ती बालेकी,
    मन शुद्ध पारेकी छु मैलो फालेकी।

    हे कृष्ण प्यारा तिमी साथ पाऊँ ,
    ति चरणको  धूलो  माथ लाऊँ।
    ✍️ सावित्री न्यौपाने, काठमाडाैं

    [२५]

    १.
    मान्छेका त बिचार छन् अनेक,
    आखिर श्रीकृष्ण रहेछन् एक।
    २.
    आध्यात्मिक  ज्ञान  त शान्तिका लागि,
    लोभ   मोह   सबै   मनबाट   त्यागी।
    ✍️ तेजप्रसाद खनाल, दाङ।

    [२६]
    १.
    श्रीकृष्णजी नै हुन् देवादि देव सारा सृष्टिका सार,
    द्वापर युगमा मथुरामा भो अपूर्व अवतार !
    २.
    कृष्णले कर्मयोग,ज्ञानयोग आदि भाव जगाए,
    समस्त मानवको कल्याणमा गीता ज्ञान बगाए!
    ✍️भूषण जंग ललितपूर
    🏠हाल प्रवास

    [२७]

    १.
    ज्ञानको भण्डार पनि कृष्ण जि लाई भने,
    सोह्र सय गोपिनीको प्यारो कसरी बने?
    २.
    जति ज्ञानी भए पनि कृष्ण जि त दहि चोर हुन,
    मख्ख पार्नलाई बजाई दिन्छन बाँसुरीको धुन।
    ✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [२८]

    १.
    हातमा बाँसुरी शिरमा मयुर प्वाँख रुप तिम्रो झलल,        
    शीतल बागमा, गोपिनी साथमा  यमुनाको गीत सलल।
    २.
    पापको घडा भरिँदै जाँदा लियौ तिमीले न्यायको रक्षार्थ  जुनी,                                               
    लोकको उपकार  गर्नुपर्ने मनमा कुरा कृष्ण तिमीले गुनी।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ १, काठमाडौँ

    [२९]


    मख्खन चोर समेत हुन कृष्णा पनि भने,
    धेरैले उनैका राम्रा नराम्रा बिचार गने।

    सबैका राम्रा बिचार अगालेर बढे,
    धार्मिक र भौतिक जगत सबै पढे।
    ✍️ सुरेशकुमार पान्डे
    दाङ घोराही १८,

    [३०]
    १.
    द्रौपदीको वस्त्रहरण हुँदा श्री कृष्णजीले नै लाज बँचाए,
    कौरवको क्रुरता नङ्ग्याएर त्रिलोक सबैका मन हँसाए।
    २.
    गोकुलमा  कनैयाले दही चोर्थे
    छोएपछि अमृत तुल्याइ छोड्थे।
    ✍️ रतन पाण्डे’पारतन’, दार्जीलिङ।

    [३१]

    १.
    कृष्ण जिले बासुरी बजाए,
    सोह्रसय गाेपिनी लजाए।
    २.
    कृष्ण लिला संसार भुलाउने,
    अघि पछि गाेपिनी डुलाउने।
    ✍️ अरुण नदी खत्री, काठमाडाैं ।

    [३२]

    १.
    तिम्रो भजन सुन्न पाउँ  कृष्ण जी,
    बराबरी तिमी ,यी हाम्रा शिवजी ।
    २.
    दहीको ठेकी छ हाम्रो सानो घरमा,
    तिमीलाई ठान्छौं हामी तिम्रै भरमा।
    ✍️ कल्पना थामी, सिन्धुपाल्चोक

    [३३]

    १.
    बासुरीको धुनमा रमाइरहेछु अाज,
    प्यारा कृष्ण अाउ पहिराई दिज्छु म ताज।
    २.
    भवसागर बाट कृष्ण जपेर मुक्ति पाऊँ,
    गिताकाे मर्म बुझी याे जीवन पार लगाऊँ।
    ✍️ रश्मी रिमाल, झापा

    [३४]

    १.
    भदौ महिनाको अष्टमीको रातमा,
    जन्मे बाल कृष्ण  कंस कारागारमा।
    २.
    बसुदेव  देवकीको पुत्र रुप लिएर,
    दुष्टहरु नास गरे  सदबुद्धि दिएर ।
    ✍️ कमला देवकोटा, पाल्पा

    [३५]

    १.
    बर्षि रह्यो मुस्लधार पानी,भयो तिम्रो अवतार,
    जन्म्यौ तिमी कृष्णा खुल्यो त्यसदिन आफै कारागार।
    २.
    मथुरा  बासीमा थियो धेरै नै त्रास ,
    कंश थियो कृष्णा तिम्रो मृत्युको प्यास।
    ✍️ सुरेखा चाम्लिङ्ग
    सुर्यबिनायक २, भक्तपुर

    [३६]

    १.
    भगवान बनी कृष्ण यो धर्तीमा आए,
    पाण्डवहरुलाई  दु:ख बाट बचाए।
    २.
    हरेक काम सजिलै गर्न सक्ने उनी महान्,
    संसार भर चिनिए कृष्ण  बनेर भगवान्।
    ✍️  लालीमाया थापा मगर प्यूठान

    [३७]

    १.
    सत्रसय गोपिनिका एक कृष्ण कनैया हुन,
    मथुरामा बाँसुरीकाे बजाए चारैतिर धुन।
    २.
    यत्ति मीठो बाँसुरी यो ,कहाँ बज्यो आज,
    कता लुक्यौ कृष्ण काले,आऊ हामी माझ।
    ✍️ शाेभा अर्याल, रुपन्देही, बुटवल

    [३८]

    १.
    जन्माष्टमी कृष्णकाे ध्यानमा ब्यस्त,
    दुख हटी खुसी हाेस् मनमा मस्त।
    २.
    कृष्ण भेट्ने याे मनकाे चाहाना,
    व्रत ध्यानमा अनेकाै बाहाना।
    ✍️ प्रेम सुनार, दैलेख

    [३९]
    १.
    कहिले होईन मनका कुरा मुखमा ल्याइ फोर्ने,
    श्री कृष्णले त गर्थे अरे सधैं ठेकिको दहि चोर्ने ।
    २.
    पराम्परा देखि चली आएको चलन,
    चाडपर्व आउँदा  मन हुन्छ जलन ।
    ✍️ ललिता अभागी, सिन्धुली

    [४०]

    १.
    कृष्ण काले तिम्राे रासलिला के सुनाउनु,
    सोह्रसय गाेपिनी राधालाई चुनाउनु।
    २.
    कोपिला बनेर धर्तिमा फुल्न नपाउदै,
    मार्न तयार कंस मामा जाल बुनाउदै।
    ✍️ मोहन तरामु मगर
    गुल्मी नेपाल , हाल यूएई

    [४१]

    १.
    राधा हुन् महान नारी,
    कन्हैया कि अति प्यारी।
    २.
    सबैको जीवन नै उज्ज्वल रहोस् मेरो चाहना,
    श्रीकृष्णा जन्माष्टमीको सबैलाई शुभकामना।
    ✍️हिउँकला हाँसी खतिवडा अछाम,

    [४२]

    १.
    कालको सार्‍है डर त्यो बेला कृष्णले पचाए,
    उनैले  गरे  कंसको  बध   संसार   बचाए ।
    २.
    त्यो  सत्य  त्रेता  द्वापर  कली युग पो गनेर,
    श्रीकृष्ण जन्मे लोकको हीत गर्न नि भनेर ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [४३]

    १•
    मथुरामा  जन्मिएर गोकुलमा गए,
    सुदामा र बलराम खेल्ने साथी भए।
    २•
    सानो छॅदा दही चोर्ने बालाकृष्ण काले,
    जवानीमा गोपीनी नै सताउन थाले।
    ✍️ घनश्याम पौडेल, सृजना चोक
    पोखरा

    [४४]

    १.
    कथा, घट्ना, वृतान्तका एक पृय पात्र,
    थरिथरि अवतार श्रीकृष्णजी मात्र ।
    २.
    धर्ती अनि स्वर्गलाेककै मनमुटुका प्यारा,
    अलाैकिक गुणका धनी प्रेमालापका तारा।
    ✍️ त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    [४५]

    १.
    द्वापरमा जन्मिएर नि पुज्य देव बने ,
    साेह्रसय गाेपिनीलाई मायाँ गर्छु भने ।
    २.
    बालापनमा दहि चाेरी खान्थे कृष्ण काले ,
    भक्तजनले जन्माष्टमी ब्रतराख्न थाले ।
    ✍️ रामकृष्ण दुवाडी, पाेखरा

    [४६]

    १.
    कृष्ण  तिम्रो व्रत बस्छु भक्त बनेर,
    तिमी जस्तै बुद्धिमानि बन्छु भनेर।
    २.
    कृष्ण जन्माष्टमी व्रत बसि पुण्य  कमाऔं ,
    मन भित्र  भएका  दुष्कर्म सबै भगाऔं।
    ✍️ काेकिला चाैधरी, बाँके

    [४७]

    १.
    कंशले  भरे  पापको  घडा विष नै भरेर,
    उन्मुक्ति दिए कंशको बध कृष्णले गरेर ।
    २.
    हस्तीनापूर जितेरै छाडे कृष्णले लडेर,
    तूफानसरि युद्धमा उनी अगाडि बढेर ।
    ✍️ रचना मोक्तान ” यात्री”
    नमोबुद्ध न. पा. ५, काभ्रे

    [४८]

    १.
    कृष्ण काले नक्कले नक्कल नपार,
    तिम्रै लिला मायाले भुलायाै संसार।
    २.
    साेह्रसय गाेपिनीलाई वशमा पारेर,
    प्यारा कृष्ण कन्हैया नजाउ माया मारेर ।
    ✍️ वसन्ती भण्डारी, सुर्खेत

    [४९]

    १.
    आठौँ गर्भ देवकीको लिइ ,आठौँ औतार विष्णुको,
    प्रेम भावले मनाऔँ आज, जन्माष्टमी सहिष्णुको।
    २.
    पुतना जलाए अत्याचारी, कंशको वध गरे,
    आफू चिनाउन अर्जुनलाई, विश्वरुप धरे ।
    ✍️ गाेपाल कृष्ण डंगोल
    महाराजगञ्ज, काठमाण्डौँ

    [५०]

    १.
    माधव  गोपाल धरतिमा आउँन,
    हे कृष्ण राधे हामीलाई बचाउँन।
    २.
    देवकी को आठौ पुत्र कंस ले चिनेन त कहिलै,
    उनकै हातबाट मर्नु पर्यो निहु खोज्थ्यो जहिलै।
    ✍️ कमला पाण्डे पराजुली झापा

    [५१]

    १.
    देश सिध्याउने कंसहरू गर्नु है! बेलैमा होस्,
    कलियुगमा तिम्रै निम्ति कृष्ण जन्मनु नपरोस् ।
    २.
    शक्ति ज्ञान धैर्य सुमार्ग जगतमा कृष्ण बनी आए,
    मनाउँछौ जन्मोत्सव उनैले जीउने कला सिकाए।
    ✍️ अरुणा श्रेष्ठ ‘अनु’ ,
    भद्रपुर नगरपालिका ३ भिमनगर, झापा

    [५२]

    १.
    मख्खन चाेर कृष्ण जन्मेको देशमा,
    दानवहरू छन मान्छेको भेषमा।
    २.
    भगवान कृष्ण सधै सत्यको साथ खडा थियौ,
    सारथी बनी  हरपल अर्जुनकाे साथ दियौ।
    ✍️ रिना याेल्माे, दार्जीलिङ्ग

    [५३]

    १.
    आध्यात्मको दिव्य ज्योति सबैतिर छर्ने
    ज्ञानमार्ग पेल्लाउन सहयोग गर्ने ।
    २.
    धन्य धन्य भए सबै गिता ज्ञान पाई
    कोटी कोटी नमस्कार गर्छु कृष्णलाई।
    ✍️ धनुष न्याैपाने
    गुथिचौर गाउँपालिका०४ जुम्ला बिगारे
    हाल सुर्खेत ।

    [५४]

    १.
    मख्खन चोर्दै अाउ कृष्ण,मुरलि हात समाई,
    तिम्रैं भक्ति जपिरहुला,भजन गर्दे रमाई ।
    २.
    सधैं भरि तिम्रै नाम जपौंला यहि भावना,
    भदौं महिनाको जन्म दिनमा “शुभकामना” ।
    ✍️ दुर्गा अाचार्य, मोरङ

    [५५]
    १.
    आउ कृष्ण अर्जुनलाई सँगै लिएर आउ,
    सत्य र धर्मको लागि धनुष वाण चलाउ।
    २.
    कृष्णकै लिलामा रचिएको गिता पुजिन्छ,
    रुक्मिणि र राधाजीको गुणगान  सुनिन्छ ।
    ✍️ लक्ष्मण समीर, बर्दिया

    [५६]
    १.
    भाद्रकृष्ण अष्टमीको रात लियौ जन्म सबैको पीडा ति हर्न,
    कृष्णको अवतारमा आयौ तिमी दुःखी जनको उद्धार गर्न ।
    २.
    हे नन्दलाला बालक छँदा नै अनेक लीला रचायौ,
    मुखमा तिमीले यशोदा मैयाँलाई ब्राह्मण्ड देखायौ ।
    ✍️ राजेन्द्र प्रधान पासा,
    दार्जिलिङ, भारत ।

    [५७]
    १.
    काले,कन्हैया,हे घन श्याम,
    श्री कृष्ण मुरारी तिम्रो नाम।
    २.
    अत्याचारी राजा थिए कंस मामा,
    मारेर उद्धार गर्यौ बाबा आमा।
    ✍️ बि.के. मुखिया, दार्जीलिङ्ग

    [५८]
    १.
    नौनी माखन चोरेर तिमी खाने,
    भक्तको मन संधै हरेर लाने।
    २.
    कृष्ण तिमी यो मनमा संधै भरि नै बस्नु,
    अन्धकार यो मनमा उज्यालो भई पस्नु।
    ✍️ प्रसान्ती राई
    सामसिङ्ग खासमहल (कालेबुङ)

    [५९]
    १.
    बहिनीका पुत्र मार्‍यो त्यो कंसले सात ,
    आठौं गर्भ लिनुभयो श्रीकृष्णको गाथ ।
    २.
    श्रीकृष्णले जन्मलिनुभयो  मामा कंसको कारागारमा ,
    बासुदेवले पुर्‍याउनुभयो नन्द यसोदाका प्यारमा ।
    ✍️ बेदु न्यौपाने, काठमाडौ

    [६०]
    १.
    जन्मिए कृष्ण भरियो देवकी माताको कोख,
    खुसीमा परिणत आमाको पुरा भयो शोख।
    २.
    असत्यको हार सत्यको हुन्छ जित,
    कंशको नाश कृष्णबाट भयो हित।
    ✍️ बिना रोका, घोराही दाङ्ग।

    [६१]
    १.
    द्वापर   युगको   पिता   वसुदेव,  माता   देवकीका,
    श्रीकृष्ण भगवान् विश्वास हुन् हिन्दु धर्मावलम्बीका।
    २.
    बिष्णुको आठौँ अवतार बनी जन्मदिन गोकुलाष्टमी,
    मथुरा  र  वृन्दावनमा  मनाउँछन्  केही  नराखी कमी।
    ✍️ म्यामराज राई
    हतुवागढी-६, होम्ताङ्,भोजपुर,हाल:-जापान

    [६२]

    १.
    जगमा सूर्यको ज्योति सरी,
    मान्छौं श्रीकृष्णको रुप हरि।
    २.
    जन्माष्टमीको पर्वमा, हर्ष मनाऊँदै,
    राति उत्सव मनाऊँ भजन  गाउँदै ।
    ✍️ भगवती दवाडी, दमक  झापा

    [६३]

    १.
    रुक्मिणीलाई भेट्न जान्थे माया आधाआधा,
    नक्कले थे  कृष्ण  काले  मन  परेकी  राधा।
    २.
    सबैका प्यारा कृष्ण काले थिए धन्दुकारी ,
    मखन चोर्थे  लुकाउथे  गोपिनिका सारी।
    ✍️ अबजस चन्द्र, झापा

    [६४]
    १.
    मै हु तिम्रो काले कृष्ण तिमी हौ मेरी राधा रानी,
    यती धेरै किन होला मनपरेको  तिम्रो बानी।
    २.
    आउनु राधे भेट्न तिमी मलाई बृन्दाबनमा,
    अगालेर राख्छु प्यारी तिमीलाई मेरो मनमा।
    ✍️ नवशिला
    बेलबारी-२,लालभित्ती, मोरङ।

    [६५]
    १.
    वृन्दा वनको  गोठाले कृष्ण चन्चले,
    मन  तान्छ सधैं  त्यो मुरली छन्दले।
    २.
    कृष्ण  जन्म  दिनको   शुभकामना,
    भगवान्  कृष्णलाई  मीठो सम्झना।
    ✍️ भुपेन्द्र राना मगर, धादिङ

    [६६]

    १.
    शोह्र सय गोपिनीका साथ रमाउछन ,
    लिलाले परेमिलता प्यार जमाउछन।
    २.
    कृष्ण काले नक्कलेका चकचके बानी,
    राधा प्रिय प्रेमिका रे बाकी आठ रानी ।
    ✍️ रामजी लामिछाने, पाेखरा

    [६७]

    १.
    मन चाहिँ त्यो सफा थियो भए नि कृष्ण काले,
    भन्नेले त भनिदिन्छन् उनी थिए रौसे भाले।
    २.                 
    अति सुन्दर र चमत्कारी कृष्णको गर्नु के कुरा,
    हरेक ज्ञान, योग र युक्तिमा थिए पुरा का पुरा ।
    ✍️ परिक्रमा श्रेष्ठ, धरान

    [६८]

    १.
    आजैकादिन जन्मेका भगवान कृष्ण थिए,
    सोह्रसय गोपिनीमा राधिका रोजेर लिए ।
    २.
    भगवान काले कृष्ण जन्मिएर ज्योति छर्ने,
    अहिलेका कृष्णहरु आफ्नै भुँडीमात्र भर्ने ।
    ✍️ ऋषिराम खनाल, मध्यबिन्दु -६ नवलपुर ।

    [६९]

    १.
    दहि चाेरी खादै हिड्छाै सबै पर्छन् छक्कै,
    साेह्रसय गोपिनीलाइ नि पारिदिन्छौ मख्कै।
    २.
    बाँसुरीको धुन बजाइ लिला गरिदिन्छौ,
    कंश मारी यशोधालाइ खुशि भरिदिन्छौ।
    ✍️ नानीबाबा अधिकारी, कलंकी काठमाडौं

    [७०]

    १.
    रुप  अनेकौं कृष्णले जान्ने चर्तीकला
    वासुरीको धुन उस्तै अति मिठो  गला।
    २.
    सत्यको नै जित हुन्छ भन्ने सन्देश कता गयो?
    फेरि प्रकट हुनु कृष्ण जि सन्सार मैलो भयो  ।
    ✍️ इश्वरी अधिकारी, लमजुङ्ग

    [७१]

    १.
    दुःख हरण गर्ने तिम्रो काम उत्कृष्ट भन्दछन्
    संकर्षण हलो जोत्दै कृष्णका नाम त्यै गन्दछन्।
    २.
    राधा आराधना गर्छिन् खास रास रचाउँछिन्
    रासकै रसका थोपा कृष्ण जप्न अचाउँछिन्।                             
    ✍️ छत्रपति दाहाल                                   
    उग्रचण्डी नाला, चुनाताल               
    बनेपा न.पा. ३, काभ्रेपलाञ्चोक

    [७२]

    १.
    श्रीकृष्णले दही चोरेर अनेकौं दु:ख दिने गरेका,
    रासलीला गरेर गोपिनीका बस्त्र  समेत हरेका ।
    २.
    कृष्णजीको लीला छ यहाँ अपरम्पार,
    यही मार्ग हिड्ने गरौं पाइन्छ नि सार ।
    ✍️ दुर्गा भट्टराई, मोरङ

    [७३]

    १.
    फुटाएर हण्डी चुहाए मखनको धारा,
    चकचके कृष्ण थिए सबैका धेरै प्यारा।
    २.
    वनभरी गाईवस्तु सबलाई नचाउँदै,
    मीठो स्वरमा कृष्णजीले बासुरी बजाउँदै।
    ✍️ रविन भण्डारी, मोरङ

    [७४]

    १.
    हे राधा ! हे कृष्ण ! द्वापरबाट कलियुगमा आउ ,
    यस युगमा बढ्यो अशान्ति कसरी समाउँ पाउ।
    २.
    चारैतिर अशान्ती बढ्यो शान्ती कहिले हुन्छ कृष्णा ,
    भुखमरीको नै आगो दन्कियो कहिले मिट्छ तृष्णा।
    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    [७५]

    १.
    जन्माष्टमीको दिन आयो दहि केरा पनि खाने ,
    श्रीकृष्णको जन्मदिन सबै व्रत रहन्छ माने।
    २.
    म माया गर्छु श्रीकृष्ण भगवानलाई,
    त्यसैले पनि  वर्त बस्छु खाना नखाई।
    ✍️ कान्छी बिनिता विश्वकर्मा, बाजुरा

    [७६]
    १.
    आठाै गर्भ  रहेको देवकीको साथमा ,
    कृष्णको जन्म भयो अष्टमीको रातमा।
    २.                
    झट्ट हेर्दा श्याम वर्ण घुम्रिएकाे बाल,
    हन्डि फोरी मखन खाने चतुरो  चाल ।
    ✍️ अम्बिका गिरी, विराटनगर

    [७७]

    १.
    हे ! गोबिन्द , गोपाल , मोहन मुरलीधर
    तिम्रो पुजाआजा हुन्छ सदैव घर घर ।
    २.
    दुर भाग्छ दु:ख दर्द हाय ,
    बालकृष्णको भजन गाए ।
    ✍️ बिके माकजू , भक्तपुर।

    [७८]
    १,
    हुँन काले कृष्ण सबैको प्यारो,
    कृष्ण नभए  जगत  अँध्यारो।
    २,
    कृष्णको वचनले नै मानव चलेका,
    उनकै बाणीले जगत सबै बलेका ।
    ✍️ लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा

    [७९]

    १.
    जब कृष्णले भगवान काे रुप लिएर अाए,
    पृथ्वीमा धनि गरिव सबैले सुख शान्ति पाए।
    २.
    म कृष्ण भगवान मान्छु,
    पुज्नलाइ मन्दिर जान्छु।
    ✍️ दीपा मग्राती, चतरा, सुनसरी ।

    [८०]

    १.
    कृष्ण  काले नक्कलेले मोहनी लगायो
    प्यारो रैछ ग्वाले कृष्ण हृदय जगायो ।
    २.
    कृष्ण तिम्रो प्रेम ठूलो साथी बनाउन
    बंशी धुन सुन्न पाउँ वंशी बजाउन ।
    ✍️ पुष्पासायरा । बिराटनगर ।

    :::: जय टुक्का! जय साहित्य!! ::::

    One thought on “श्रीकृष्ण जन्माष्टमीको अवसरमा टुक्का लेखन कार्यक्रम सम्पन्न, नेपाल लगायत विश्वका ८० जना नेपालीभाषी सर्जकहरूकाे सहभागिता

    1. हार्दिक आभार हिमालयन दृष्टि अनलाइन पत्रिका तथा वसन्त अनुभव सर प्रति। सम्पूर्ण टुक्काकार ज्यू हरूमा हार्दिक बधाई तथा शुभकामना। श्री कृष्ण जन्माष्टमी को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

    Leave a Reply