टुक्का साहित्य समाज, काठमाडाैंको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसर पारेर ‘१५ औं वृहत् टुक्का लेखन अभ्यास शृङ्खला’ सम्पन्न

  • २८ श्रावण २०७८, बिहीबार १७:४७ मा प्रकाशित
  • टुक्का साहित्य समाज काठमाडाैंले अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा मिति २०७८ श्रावण २८ गते  ‘१५ औ वृहत्  टुक्का लेखन अभ्यास श्रृङ्खला’ सम्पन्न गरेको छ ।

    टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंको संयाेजनमा सम्पन्न उक्त कार्यक्रममा नेपाल भारत लगायत बिश्वका विभिन्न देशका नेपाली भाषी सर्जकहरूले सहभागीता जनाउनु भएको थियो । अध्यक्ष चापागाईंका अनुसार सहभागी टुक्काकारहरूलाई “युवा” विषयमा अभ्यास गर्न भनिएको थियो ।

    अभ्यासका क्रममा ८४ जना टुक्काकारहरूको उत्कृष्ट टुक्काहरू संकलन गरिएको थियो भने उक्त टुक्काहरूको सम्पादन समाजकी सचिव विमुन्स पाैडेलले गर्नुभएकाे थियाे।

    उक्त अवसरमा समाजका अध्यक्ष ताराप्रसाद चापागाईं र सचिव विमुन्स पौडेलले आयाेजककाे तर्फबाट अन्तराष्ट्रिय युवा दिवसकाे शुभकामना व्यक्त गर्नुकाे साथै सक्रिय सहभागिताका लागि सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नु भएकाे थियोे ।

    काव्य विधाको उपविधाका रूपमा परिचित टुक्का कविताको उन्नयन र विकासका लागि समाजले दैनिक, साप्ताहिक तथा महत्त्वपूर्ण दिवसको अवसर पारेर निरन्तर कार्यक्रम सन्चालन गर्दै आएको  समाजका अध्यक्ष चापागाईंले जनाउनुभयो ।

    प्रस्तुत छ, अन्तराष्ट्रिय युवा दिवसकाे अवसरमा उत्कृष्ट टुक्का लेख्ने टुक्काकारहरूका टुक्काहरू  –

    ==========          ======
    [ १ ]
    १.
    कसरी मनाउँ खै!अन्तर्राष्ट्रिय युवा दिवस,
    रोजगार बिना बाध्य भए विदेशीन विवस ।
    २.
    देशको बलिया खम्बा बनाउँनु थियो युवा हाम्रा,
    शिक्षित भए नि जागिर छैन कसरी बनुन् राम्रा।
    शर्मिला श्रेष्ठ, भैंसेपाटी, ललितपुर
    हाल अमेरिका

    ~~~~~~~~~~~~~~~~~~~~~
    [२ ]
    १.
    युवा हो! अझै जाऊ अगाडि
    देश हाँक्न नहट पछाडि।
    २.
    समाज विकास युवाको हात
    देशको शक्ति युगकै सौगात।
    भूषण जंग
    ललितपुर, हाल अस्ट्रेलिया

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ३ ]
    १.
    युवा देशका प्राण हुन्छन ऋण पनि,
    नौनी बनाउन सक्छन बञ्जर खनी।
    २.
    युवाको शक्ति नलागे देश बन्दैन,
    आज देशमा रोजगार कत्ति छैन।

    बञ्जर जमिनमा पनि फलाउँछन् सुन,
    युवा शक्ति हुनेगर्छ सधै अमूल्य गुन।
    सुरेशकुमार पान्डे, दाङ घोराही १८

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ४ ]
    १.
    हौसला नपाए युवा कमजोर हुने
    शक्ति हो युवा स्याबासीले नै दु:ख धुने ।
    २.
    युवाको काँधमा जिम्मेबारी दिएर हेर,
    सरकार!  युवा शक्ति बाहिरियो जमेर ।
    पुष्पासायरा, बिराटनगर

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ५ ]

    उठ जाग युवा हिड्नु छ देश बाेकेर,
    रक्षा खातिर बैरीलाई गाेली ठाेकेर।

    भविष्य काेर्ने राजनेता ती खै कता गए,
    युवा शक्ति सबै विदेश पलायन भए।
    ताराप्रसाद चापागाई
    धुनिबेशी ९, धादिङ

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ६ ]
    १.
    बलिया पाखुरी हुने सबै युवा विदेश हिँडे
    खबर आयो दुस्मनले उनका टाउका गिँडे।
    २.
    म बुढीया चुहिने घरमा छु, जवान छोरा डलर गन्छन्
    बुझ्नै नसकिने छ्याङ्फ्याङ् बोलेर नबुझ्ने? भन्दै खोइरो खन्छन्।
    पौडेल विमुन्स,पाेखरा

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ७ ]
    १.
    युग भन्नू युवा नै हो तारा जस्तै चम्किनू
    नयाँ युग ल्याउनु छ  उन्नतिमा लम्किनू
    २.
    नयाँ खोज नयाँ विचार अब ल्याउनु पर्छ
    जुनेलीमा शीतको थोपा जसरी जुन छर्छ।
    दस्ता कौशिक
    पाँचथर,हिलिहाङ्ग-२,सिंहपुर।

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ८ ]
    १.
    हातमा हात मिलाउनु  उठ्नुपर्छ युवा,
    जल पानीले भरियोस् प्रकृतिको कुवा ।
    २.
    देशमा  सुधार ल्याउनु मिली  सबै  युवा,
    आफ्नै बारीमा फलेको खाई मकैको पुवा ।
    कल्पना थामी
    सिन्धुपाल्चोक

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ९ ]

    १.
    मातृभूमि मेरी आमा गर्छु म त देशको भक्ती,
    समृद्धि र बिकास हुन्छ जुटे भने युवाशक्ती।
    २.
    देश भित्रै युवा हरू लाई रोजगारी दिनु पर्छ,
    समुन्नत बन्छ यो देश अग्रगामी सन्देश छर्छ।
    नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ
    हाल गोदावारी ,लालितपुर

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ १० ]
    १.
    कृति राख्न खनाउनु छ मिलेर सबैले कुवा,
    परिवर्तन ल्याउन देशमा जाग्नु पर्छ युवा।
    २.
    जाँड,रक्सी, चुरोट नपियौं नखेलौं तास,जुवा,
    कुलतमा नफसौं ल होसियार है हामी युवा।
    पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ११ ]
    १.
    देशका शक्ति युवाहरू केटी हुन् वा केटा
    मानौँ देश चरा हो युवा यसका पखेटा ।
    २.
    ढल्नुहुन्न युवा तिमी हौ यो देशको मियो
    बाल्नुपर्छ सबै मिली यहीँ आस्थाको दियो ।
    श्रीकृष्ण शर्मा, पोखरा

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ १२ ]
    १.
    विदेश पलायन भए युवा जति,
    स्वदेशमा घट्दै गयो मानिसको मति।
    २.
    हातमा सर्टिफिकेट मात्र बोकेर  के गर्नु,
    सधैं अर्काकै देशमा परेको छ बाँझो चर्नु
    सरस्वती श्रेष्ठ, इटहरी

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ १३ ]
    १.
    युवा तिमी  देशका हाै दरिला खम्बा
    अाफैँ मेहनतले खानुपर्छ अम्बा ।
    २.
    पैसाका लागि विदेश नजाऊ
    अाफ्नै देशमा पसिना बगाऊ ।
    लक्ष्मि घिमिरे दाहाल

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ १४ ]
    १.
    नक्कल किन पार्छौ युवा पैसा पनि चिन्नुपर्छ
    ट्याक्सी किन चाहियो तिमी साझा बस किन्नुपर्छ।
    २.
    मादल भिरे हुदैन र गितार किन भिर्नु
    घरमा खाए हुदैन र होटल किन छिर्नु।
    मन्दिरा सेडाई
    मलेखु, धादिङ

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ १५ ]
    १.
    विदेश पलायन भए कति कति,
    युवा नै हुन् राष्ट्रका अमूल्य  सम्पत्ति ।
    २.
    युवा मलम पट्टी गर  देशको घाउ,
    बुढापाका घरमा बस बाटो देखाऊ ।
    रिजाल विनोद
    बेलबारी २ मोरङ

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ १६ ]
    १.
    जिम्मेवारी काँधमा बोकी लम्क युवक,
    साथ हाम्रो सधै छ नदेखाउ रूपक।
    २.
    राष्ट्र शक्ति युवा तिमी राख शिरमा यो देश,
    नेपालीको शान हौ नि बचाई राख है भेष ।
    माधव पोखरेल, गोज्याङ्ग्रे उदयपुर गाईघाट हाल ताप्लेजुङ

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ १७  ]
    १.
    युवावर्ग नै  देश विकासका मेरुदण्ड हुन,
    मुलुकको उन्नतिमा पो भेटिनेछ स्पष्ट जून।
    २.
    युवा वर्ग निर्यात गरी पन्छिंदै छ सरकार,
    सबै युवा एक मनमा हुनुपर्छ दरकार।
    निर्मला शाही ठकुरी, दैलेख

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ १८  ]
    १.
    जवानी  चडेर  युवा  हुँदैछ,
    बिग्रिन्छ  भनेर  मन रुँदैछ ।
    २.
    सधै  आस गर्छु  उसकै भर परी,
    खुसी दिन खातिर जान्छ दुःख टरी।
    होम, प्रसाद न्याैपाने
    धरान,सुनसरी

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ १९  ]
    १.
    नेपाल हाम्राे देश नेपाली हाम्राे नाम,
    देशलाई जाेगाउन युवा गराैं काम।
    २.
    जाग्नु पर्छ निदाएका हामी सबै जुटौँ,
    देश विकासमा युवा गिटी पनि कुटौँ
    अरुण नदी खत्री, काठमाडाैं

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ २०  ]
    १.
    गाउँमा खेतबारी सबै बाँझो नै छन् फलाउनु पर्छ सुन,
    युवाशक्ति सबै मिलेर हामीले देश लगाउनु छ गुन।
    २.
    हाम्रो देशका युवशक्ति विदेशी  चक्कर,
    रातदिन धेरै दु:ख पाए खाए सारै ठक्कर।
    शाेभा अर्याल, बुटवल

    ~~~~~~~~~~~~~~~~~~~~
    [ २१  ]
    १.
    पहाड थेग्ने युवाको बल देशमा लगाऊँ,
    गरिबी सबै हटाई यहाँ चेतना जगाऊँ ।
    २.
    प्रशस्त  पानी हजारौं  खानी  यहीँ छन् हेर,
    अर्काको दास बन्ने बानी अहिले नै फेर ।
    रचना मोक्तान “यात्री”
    नमोबुद्ध न. पा. ५, काभ्रे ।

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ २२ ]
    १.
    हामी युवाहरू  एकसाथ जागँ,
    देशको विकास गर्न सबै लागौँ।

    सुन्दर भविष्य हामी खोजौँ,
    आजै बाट राम्रो बाटो रोजौँ।
    खगिन रिदम लामा
    खोटाङ ईन्द्रेणी पोखरी

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ २३ ]
    १.
    देश यो माथि जुरुक्कै उठ्छ युवाले उचाले,
    फोहोर जति मिल्काऊँ सबै बढारौँ कुचाले ।
    २.
    देशका खम्बा बलिष्ठ युवा विदेश नजाऊ,
    देशमै  सुन  फल्दछ  हेर  हरेस  नखाऊ ।
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ २४ ]
    १.
    काम कर्तव्य बाकी छ धेरै अब कहिलै न भनौ भोलि ,
    हामी युवा न जागे भर्दछ कसले आमा को रित्तो झोली!

    नेपाल आमा मा समर्पित छोरो म काममा खट्छु,
    शान्त रहन्छु तर आइ लागेमा किन पछि हटछु!
    विशनु सिंह बस्नेत, ल. पु.१३, कुसुन्ती।

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ २५ ]
    १.
    तिम्रै सोचबाट प्रगतिको मूल फुट्ने गर्छ
    हे युवा! तिम्रो उद्योगमानै देश जुट्नु पर्छ।
    २.
    पहिलो बीउ मायाको यहाँ, युवाले नै छर्छ
    कति गहिरो चाहना त्यो! सन्सार मक्ख पर्छ।
    अर्जुन उप्रेती (अप्रतिम)
    असम, भारत

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ २६ ]
    १.
    युवा देशविकासका  मेरूदण्ड ,
    भ्रष्टाचारका लखेट मुण्ड चण्ड ।
    २.
    हे युवा कति  बजाउँछाै  अन्धो बनेर ताली ,
    किन केही देख्दैनाै तिमी जनता रित्तो  थाली ।
    प्रधुम्न चालिसे
    कटुञ्जे, भक्तपुर

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ २७ ]
    १.
    देशभक्त  युवा जाग्नुपर्छ अब,
    देश विकासमा लाग्नुपर्छ सब ।
    २.
    हाम्रा सिमाना त सारेर मेटिँदैछ,
    बिस्तारै देश टुक्राएर बेचिँदैछ।
    दुर्गा भट्टराई, मोरङ

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ २८ ]

    पढ़ेलेखेका युवा, पीड़ा बेरोजगारीको
    घूसखोरीले के गरी चल्ने खेतबारीको।

    जागीर बिक्छ पैसामा काम छैन डिग्रीको
    युवाहरू बिग्रिए कसको जिम्मा बिक्रीको।
    पदमा शर्मा आंचल
    कालचिनी, प. बंगाल

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ २९ ]
    १.
    युवा हुन् देशका खम्बा मानव स्रोत जुटाउने,
    रोपेर ज्ञानका दल सिर्जना मुल फुटाउने ।
    २.
    युवाकाे जाेश जाँगरमा फेर्दछ देशले मुहार,
    बन्दछ मुलुक समृद्ध पर्दैन सापटी गुहार
    त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    ~~~~~~~~~~~~~~~~~~~~
    [ ३० ]
    १.
    मातृभूमि नै माथमा सजाई युवाअघि बढ्छन्,
    देशको माटो सिरमा लगाई युद्धभूमि चढ्छन्।
    २.
    देशको सिर उच्च राख्ने सदा युवा भए पुग्छ,
    युवा स्थिर रहेभने यहाँ देशको मूल सुक्छ।
    धनुष न्याैपाने,
    गुठिचौर गाउँपालिका ०४ जुम्ला बिगारे
    हाल – सुर्खेत

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ३१ ]
    १.
    वृद्धभत्ता खाने नेता कति बोल्न जानेका,
    यूवाले नै यो देशको अर्थतन्त्र धानेका ।
    २.
    फर्की आऊ यूवाहरू स्वदेशमा रमाउँला,
    सबैमिली फटाहाका कठालोमा समाउँला ।
    ऋषिराम खनाल, मध्यबिन्दु- ६ नवापुर ।

    ~~~~~~~~~~~~~~~~~~~~~
    [३२ ]
    १.
    बाँझो खेतबारीमा अब झन् नौलोपन भरौं,
    आफ्नो देशमा रोजगारी आफै सृजना गरौं।
    २.
    गौराङ्गको अत्याचार गोर्खालीले सहेर,
    दुःख पाउँछौ युवा हौं परदेश गएर।
    रविन भण्डारी, मोरङ

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ३३ ]
    १.
    बेलैमा सजग भएर होसपूर्वक कर्म गर्नु है युवा,
    नबनोस् जीवन बुढो गोरुलाई नारिएको हलो र जुवा।
    २.
    उत्साह उमङ्ग र जोशको भण्डार हुनुपर्दछ युवापन,
    ओइलाएको घाम जस्तो हुँदा कठिन हुन्छ जीवनयापन।
    प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ३४ ]
    १.
    अन्तरास्ट्रिय  युवा दिवस परेको छ आज,
    आफ्नो सान मान राख्नू युवा नमानेर लाज।
    २.
    एकवद्ध भै आऊ  हे!  युवा तिम्रो छ आशा अब,
    देशले चोला फेर्ला काँध मिलाई आउँछौ जब।
    कमला देवकोटा, पाल्पा

    ~~~~~~~~~~~~~~~~~~~~~
    [३५ ]
    १.
    युवा नै हुन् देशका खम्बा राष्ट्रभार थाम्ने,
    गाह्रोपर्छ पहाड नि टिक्न उनको साम्ने।
    २.
    परिवर्तनका संवाहक हुन् युवा कर्णधार,
    हर मुस्किल आईपर्दा राष्ट्रमा लाउछन् पार ।
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ३६ ]
    १.
    मनमा राख युवा अामाका घाउ,
    विदेश हैन स्पदेशमा रमाऊ।
    २,
    नजाऊ  युवा तिमी मरुभूमि तिर ,
    पसिना बगाऊ स्वदेशकै हौ वीर।
    राजेश्वरी राजाेपाध्याय
    पाटन, ललितपुर

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ३७ ]

    युवाकै काँधमा आएकोछ देशको अभिभारा
    सुल्झाउनु पर्छ अब मिली समस्याहरू सारा।

    युवा दिवस मनाउँदैछौ नेपाली हामी खै? युवा स्वरोजगार
    छिमेकिकै आरक्षणमा बस्नु पर्ने, कहिलेसम्म होला बेकार।
    अबजस चन्द्र, झापा

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ३८ ]
    १.
    आजका युवा भोलिका कर्णधार
    नगर उपेक्षा गर अङ्गिकार
    २.
    युवा बलियो भए मात्र देश बलियो हुन्छ
    यिनलाई पोषण गरे मात्र आकाश छुन्छ
    गृष्मा पाैड्याल
    टाेकियाे, जापान

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ३९ ]

    देशमा धेरै सशक्त युवा त थिए,
    सबैलाई खाडी तिर पठाई दिए।

    देशको मुहार फेर्न पाएनौँ हामी युवा भएर,
    रगत र  पसिना  बेच्नु  पर्यो  परदेश  गएर।
    जगत थापा, बझाङ्ग

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ४० ]

    तिमीले गर्नुपर्छ देशमा सेवा,
    उठ जाग लम्क है मिल्नेछ मेवा।

    नेपालमा नै केही गरौं भन्ने बढोस् चेतना,
    आफ्नै मातृभूमिमा युवाहरू गर साधना।
    भगवती दवाडी ,दमक, झापा

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ४१]

    नीति छ रोजगारीको कार्यान्वयन हुँदैन,
    ठुलाले कुम्ल्याए देशमा कानुनले छुँदैन।

    नेपालीको कुशलताले धेरै देश धनी भए,
    अधिकार स्थापित नहुँदा गुलामी बन्न गए।
    म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

    ~~~~~~~~~~~~~~~~~~~~~
    [४२ ]

    यही विषय दोहोरिँदैछ बारम्बार
    युवा नै धन अनि देशको कर्णधार।

    तिमी देशको मेरूदण्ड भई बाँच्नू
    जाति र माटोको माया मनमा साँच्नू ।
    निरूविन्दु परियार,
    जल्ढक्का कालेबुङ्ग

    ~~~~~~~~~~~~~~~~~~~~~
      [४३ ]
      १                                                  
    युवाहरुका ती सहयोगी हात,
    अघि बढे पाउँछ देशले साथ।

    युवा देशका मेरुदण्ड थाम्नु पर्छ भार,
    विकासको मूल फुटाउने शक्ति अपार।                                                                                 
    अम्बिका गिरी, विराटनगर

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ४४]
    १.
    धरोहरमा नै खिया लाग्यो भने सबै सखाप हुन्छ,
    कर्मयोद्धा  बाकसमा फर्किँदा नेपालीको मन रुन्छ।
    २.
    युवाको जोश जाँगर  हाम्रो देशमा खाँचो भयो,
    नभन  सरकार बिदेशमा कोटा खाली रह्यो।
    इश्वरी अधिकारी, लमजुङ्ग

    ~~~~~~~~~~~~~~~~~~~~~
    [४५ ]

    बिना युवा देश चलाउन सकिन्न
    युवाशक्ति अहँ कमजाेर बनिन्न।

    युवा शक्ति  शसक्त बनाउनु पर्छ
    तब युवाले देशकाे विकास  गर्छ ।
    सुस्मिता नेपाल, सुनसरी

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ४६]
    १.
    रगतको बलिदान दिन सक्ने युवा
    माटोमा बरु दुःख गर नखेल जुवा
    २.
    अब पछि हट्नु हुन्न जागौं
    विकासको खम्बा बनी लागाैँ।
    साधना पाैडेल, अाेखलढुंगा

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ४७ ]

    सत्यताको मसी कलममा राखेर ,
    बढौं अघि युवा इतिहास छापेर ।

    युवाशक्त्ति मिलेर बचाऊँ है आफ्नो देश ,
    अब कोही पनि युवा  भुल्दैन परिवेश ।
    बेदु न्यौपाने, काठमाडौ ।

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ४८ ]
    १.
    घरबार सबै बन्धक राखी साउदी कतार गए,
    प्राणसँग पैसा साट्दा सम्झ ती पल के भए।
    २.
    नजाअाैं विदेश युवा साथी यहीँ गराैँ काम,
    लाखौं करोड कमाए नि खानु त हाे माम।
    काजी तामाङ ग्याबा
    चैनपुर -४,संखुवासभा

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ४९ ]
    १.
    गरेर मेहनत चम्काउनु आफ्नो  भविष्य र नाम,
    जुुन मनपर्छ गर्नु हे युवा सानो ठूलो हुन्न काम।
    २.
    समय मै गर काम , युवा जोश होशले  पछुताउनु  नपरोस्,
    जीवन बनाऊ उज्यालो , दया प्रेम राख आमाको आँसु नझरोस्।
    मिसु श्रेष्ठ
    काँडाघारी , काठमाडौं

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ५० ]

    अन्तराष्ट्रिय युवा दिवस मनाऔँ विश्वलाई जगाऔँ,
    अशान्ति अनि मनमुटावलाई घृणा भावले भगाऔ।

    अमनचैन ल्याउनलाई युवाहरू पर्छ जाग्नु,
    अरूको आत्मा रुवाउने भावनाहरू पर्छ त्याग्नु।
    राजेश भट्टराई
    सैनामैना ११,रुपन्देही
    हाल सुर्खेत

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ५१ ]
    १-
    युवा हुन् देशका मुटु धड्केमा बाँच्दछ देश,
    सत्कर्मी आँटी मनले जित्छन् संसार अशेष।
    २-
    जति तातो रगत हुन्छ उत्तिकै हुन्छ विवेक,
    युवाको चेतना भित्र चम्कन्छ झन् आशाको लेक।
    नारायण खनाल,
    मालारानी ,अर्घाखाँची

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ५२ ]
    १.
    देशका खम्बा अघि बढे प्रगतिले चुम्छ
    विकासका लहरहरू सबैतिर घुम्छ ।
    २.
    अघि बढ युवाशक्ति देशलाई तिम्रो छ खाँचो
    जाली झेली पाखा लगाउने तिमीसँग छ साँचो ।
    लोकमणि गौतम
    शिवसताक्षी -९ झापा

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ५३ ]

    युवा दिवस भएर हजुर साँच्चै के गर्नु ,
    नेपालमा प्रगति  ठुलो के छर भर पर्नु।

    बाध्यताले परेको छ प्रदेश तिर धाउन ,
    कहिले अाउला पालो नेपालमा रमाउन ।
    कान्छी बिनिता विश्वकर्मा
    बाजुरा

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ५४ ]

    देश बनाउने हामी नै हो नबनाऊ गुट
    सानो ठुलो,जात हैन सबै एक भैई जुट ।

    सुकि गयो सबै ज्यान तिम्रो हेरन
    आज त केहिबेर थकाइ मेटन ।
    मुस्कान मिलु राई
    सोलुखुम्बु

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ५५ ]

    म त कुरा सुनाउँछु यहाँ  सत्य साँचाे,
    युवा शक्ति देशलाई  सधैँ हुन्छ खाँचो ।

    युवालाई  दिनुपर्छ राम्रो  सीप, ज्ञान,
    दुनियाँमै  युवा शक्ति हुन्छन्  उर्जावान।
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ५६ ]

    हेर सबै लुटेरा स्याल भए, देश नाङ्गो भयो
    उठ युवा अत्याचारले पनि सीमा नाघी गयो !

    युवा जोश जाँगर निकाल, देश ब्युँताउन
    विकाशको मूल फेरि यै, धर्तीमा फुटाउन !
    गोपाल कृष्ण डंगोल
    महाराजगञ्ज, काठमाडाैं
    हाल: इटहरी,  प्रदेश नं १

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ५७ ]
    १.
    नसा भाङ्ग खाएर युवा बिग्रनु हुँदैन
    भविष्यको टेवा तिमी अरूले कतै छुँदैन।
    २.
    देशको सारा भविष्य छ युवाको हातमा
    समाजमा केही काम गरेको हेर्छु साथमा।
    प्रशान्ति राई
    सामसिङ्ग खासमहल कालेबुङ्ग

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ५८ ]
    १.
    देशको कर्णधार युवावर्ग अब जाग्नु पर्छ,
    कर्मठ युवाहरू अघि नसरे अरू को सर्छ?
    २.
    युवा शक्ति भन्दा ठूलो अर्को शक्ति हुन्न,
    युवाले आँटेको काम विरोधीले छुन्न।
    अरुण कुमार भुजेल , गोरूबथान,कालेबुङ्ग

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ५९]

    युवाले देश हाँक्छ जब
    बिकास हुन्छ देश तब ।

    गोरु नार्ने युवा भए , मलिलो हुन्छ देशको माटो
    युवाहरू समाऊ काम, बुढापाकाहरूको साटो ।
    –  बिके माकजू , भक्तपुर ।

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ६० ]

    युवा सबै जागेर नेपालमा अब्बल विकास पर्छ रचाउँनु ,
    देशको निम्ती सबैले रगत र पसिना धेरै पर्छ बगाउँनु l

    आवश्यक छ यहाँ सबैको साथ सहयोग किम्ती,
    उठ युवा सबै एकजुट भएर देशको निम्ती l
    रिता खराल , रुपन्देही

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ६१ ]
    १.
    युवा तिमी देशका खम्बा विकास गर्न अगाडी बढ,
    नाम राख्न आफ्नो मातृभूमिको सगरमाथा नै चढ ।
    २.
    बुढाले मात्रै चलाउने देश युवाले सम्हाल्ने कहिले,
    बागडोर तिम्रो हातमा नभए विकास हुन्न अहिले ।
    राजेशराज गड्तौला
    रतुवामाई-१०, मोरंग
    हाल- प्रवास

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ६२ ]
    १.
    हे युवा बन दक्ष सिपाही यो देशको नाममा
    लेऊ देश निर्माण कार्यको अभिभारा काँधमा।
    २.
    क्रान्ति अनि परिवर्तनका संवाहक युवा ठानी,
    बनौँ कर्मठ, लगनशील, इमानदार र ज्ञानी।
    लक्ष्मण समीर, बर्दिया, हाल काठमाडौ

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ६३ ]
    १,
    युवाहरू देशका भविष्यकाे कर्णधार हुन,
    मातृभूमि लाई जोगाउँन बगाउने छन् खुन।

    युवाहरू नजागे मातृभूमि संकटमा पर्दैछ,
    नेताहरू मिलिजुलि देश बेच्ने बिचार गर्दैछ।
    लक्ष्मी श्रेष्ठ
    बिर्तामोड झापा

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ६४ ]

    युवालाई साना देखि ठुला सम्म सम्मान गरौ,
    विकासमा सात समुन्द्र तर्नै परे पनि तरौ।

    लाखौं लाखमा अगाडि हुन्छन् युवाहरू,
    नराम्रो  भन्दा राम्रो काम गरौ है बरु।
    प्रेम सुनार, दैलेख

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ६५ ]
    १,
    देश  बनाउन  युवाको,  पाखुरी चाहिन्छ,
    युवाको जिम्मेवारी बाट तर्कन पाईन्छ?
    २,
    वैरीले   देशलाई  ताक्छ,  तिमी   परदेश  ताक्छौ,
    अाफ्नै माटोमा सुन फल्छ,पचास डिग्रीमा पाक्छौ?
    चिरञ्जीवी ढकाल
    नेपालगन्ज उपमहानगर पालिका-२० बाँके
    लुम्बिनी प्रदेश -नेपाल

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ६६ ]

    नभूल युवा नसामा तिमी बिलायो संसार
    युवाले एक नपारे विश्व कसरी बन्ला र ?

    अबेर भयो संसार हॉक्न जागेर हेरन
    तिमीले चाहे लाग्दैन बेर काँचुली फेरन ।
    इन्दिरा देवकाेटा, कपिलबस्तु

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ६७ ]
    १.
    युवा हुन् विकास गर्ने देशका बलिया खम्बा
    फर्की आऊ स्वदेशमा नै युवा हुनुपर्छ थम्बा
    २.
    बाध्यता नहोस् युवा बिदेशिन आमा रुवाएर,
    बस यतै देश आमा प्यारी आफन्त हँसाएर ।
    तारा घिमिरे, संखुवासभा

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ६८ ]
    १.
    विदेश कर्म भुलेर गाउँमै खुसी भरौं
    हामी युवा मिलेर देशको उन्नत गरौँ।
    २.
    तिमी देशको भविष्य नत आफूलाई चिन्छौ
    युवाशक्ति नष्ट गरेर किन मातेर हिन्छौ ।
    प्रकाश बुढाथोकी।
    असम भारत।

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ६९ ]

    फर्की आउन युवा हो आफ्नो देशमा केही  गर्नुछ,
    रगत पसिना बगाएर देशकै लागि मर्नुछ।

    घरको र देशको हालत सम्झेर परदेश जाँदैछौ ,
    नियतीले  अकालैमा जवानैमा सिलटिमुर  खाँदैछौ।
    कमला पाण्डे पराजुली, झापा

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ७० ]

    देश रित्तियो बेरोजगारले युवा सबै विदेश पठाएर,
    बाँकी सबै नेताले तान्छ आफ्नै पकेटमा जाँडमा डुबाएर।
    उषा के.सी., ललितपुर
    ~~~~~~~~~~~~~~~~~~~~~
    [  ७१ ]
    १.
    युवा हुन् देशका खम्बा, बलियो बन्छ त्यो घर,
    मिलाेस् राेजगारी भित्रै, नजाऊन् ती परपर ।
    २.
    शिक्षित, सभ्य, इमानदार, स्वस्थ युवाशक्ति,
    आवश्यक छ देशलाई सबल देशभक्ति ।
    दुर्गा बनवासी सिवाकाेटी , झापा

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ७२ ]

    आजका कोपिला भोलिको कर्णधार हुन,
    उज्यालोको घाम ती युवा अधेरीको जून ।

    अघि बढ युवा देशको नाम चलाऊ,
    शान्तिको दियो हाम्राे तेल थप्दै जलाऊ ।
    हिमा आर.सी
    मेहेलकुना सुर्खेत

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ७३ ]

    कु-संस्कारलाई फाल्दै सुसंस्कारलाई मान्नु,
    युवाबाटै स्वच्छ समाज बनाउनु छ जान्नु ।

    अनुजलाई माया अग्रजलाई सम्मान दिनु,
    राष्ट्रियता मनमा राखी विश्वबाटै ज्ञान लिनु ।
    धनु शर्मा, पाेखरा

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ७४ ]
    १.
    तिमी हौ नवयुवा युग-वाहक
    नफाल समय खेर अनाहक।
    २.
    विकृतिमा हैन विकृतिको बिरुद्धमा लाग,
    कति अचेत बन्छौ सधैँ युवा, अब त जाग ।
    रचना शर्मा प्रतीक्षा, ललितपुर ।

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ७५ ]
    १.
    देश को भार आफैले बोकौँ
    युवालाई स्वदेश मै रोकौँ
    २.
    युवा आफै अगाडि बढ
    देशको रक्षा गर्न लड !
    लव खड्का,
    बुढानिलकण्ठ काठमाडाैं।

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ७६ ]

    युवा शक्तिको पौरखले  मोती फलाउँछ माटोमा,
    पोख्नू स्वदेशमै पसिना विदेशी भूमिको साटोमा।

    सुन्दर राष्ट्र निर्माणमा अब युवा अघि सरौँ,
    देशको स्वर्णिम भविष्य कोर्नलाई लागि परौँ।
    पाैडेल रुपा, कुपण्डाेल ललितपुर

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ७७ ]

    पस्केर पसिना बालुवा माथि,
    हतास नहोस् परदेशी साथी ।

    बनाऊ भनेर घर छोडेको थियो,
    ननिभोस् त्यो झुपडिको आसाको दियो ।
    बिष्णु पादुका

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ७८ ]
    १.
    देशमा मन्त्री कुदाउँछन् चिल्ला कार,
    युवा जति सबै यहाँ  वेरोजगार ।
    २.
    युवा जति किन खाडी पसेका ,
    नेता भुँडी पल्टाएर बसेका।
    अभागी ललिता, सिन्धुली

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ७९ ]
    १.
    युवा शक्ति बिदेशिए किन?
    देश ब्यूँझाउने आँखा चिन।
    २.
    हातेमालो गरी युवा-युवती अघि बढ्नु,
    विदेशीको चोर हात भाँचिने गरी चढ्नु।
    रतन पाण्डे ‘पारतन’, दार्जिलिङ्ग

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ८० ]

    मिलेर सबै युवा बनाऊ हाम्रो  देश,
    बगाइ पसिनाकाे खेती फुलाऊ केश।

    नेपाली युवा हाे  युद्ध गर्न अगाडि सर्छन्,
    भुलेर अाफन्त अरबकाे खाडीमा मर्छन्।
    दिपा मग्राती, चतरा सुनसरी

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ८१ ]

    समाजका युवाहरू गाँजा र भाङमा हराए,
    अामा बाबू नखा छाेरा भन्दै दिन रात कराए।

    अाजका युवा तिमी भाेलि देशकाे कर्णधार बनिने,
    असल काम गरी बन हरेककाे अौलामा गनिने।
    रिना यल्माे, दार्जीलिङ्ग

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ८२ ]

    रास्ट्रका अमूल्य गहना,जोसिला युवा उठ अब,
    तिम्रो उपस्थितिको  महशुस देशले गर्छ तब।

    कर्तव्य तिम्रो माटोको सुरक्षा अनि अपनत्वको आभाष,
    घर चलाउन निस्कनु पर्ने अवस्था देश छोडी प्रवास ।
    प्रदीप के रिमाल
    इटहरी -८ सुनसरी

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ८३ ]

    रमाईलो छ खुशिलाग्यो कविता लेखेर
    साहित्यिक युवा पिढीकोजमात देखर।

    देशको ऊर्जा युवा शक्ति बिदेशिँदै गएको
    नेताहरुले यै खोजेको भनेको झैं भएको।
    ईशहाक हुसैन,
    सिमरा उ.म.न.पा. १४  बारा

    ~~~~~~~~~~~~~~~~~~~~~
    [ ८४ ]

    जुटौं सबै युवा हामी काँधमा काँध मिलाएर
    देशको बिकास गरौं आँट भरोसा दिलाएर।

    जोगाएर राखौं युवाहरू आफ्नो संस्कृति
    भित्रनबाट रोकौं आजै पश्चिमी बिकृती।
    कोकिला चौधरी
    बैजनाथ १, बाँके
    🌹 जय टुक्का! जय साहित्य!! 🌹

    One thought on “टुक्का साहित्य समाज, काठमाडाैंको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसर पारेर ‘१५ औं वृहत् टुक्का लेखन अभ्यास शृङ्खला’ सम्पन्न

    1. सदा आभारी छौँ हिमालय दृष्टि अनलाइन पत्रिका प्रति। तथा विशेष धन्यवाद को पात्र हुनुहुन्छ वसन्त अनुभव सर। टुक्का लेखनको इतिहास निरन्तर गहकिलो मार्गमा दौडेको महसुस हुन्छ।

    Leave a Reply