
टुक्का साहित्य समाज काठमाडौ नेपालको आयोजनामा गाईजात्रा विशेष टुक्का लेखन अभ्यासको १७ औँ शृङ्खला सम्पन्न भएको छ । समाजले यस शृङ्खलालाई गाईजात्रा विशेष बनाएको थियो । जसमा नेपाल लगायत विश्वका ८० जना नेपाली भाषी टुक्काकारज्युहरूको सक्रिय सहभागीता रहेको थियोे ।
उक्त विशेष शृङ्खला टुक्का लेखनमा सक्रिय टुक्का साहित्य समाज का प्रवर्तक एवं संस्थापक अध्यक्ष श्री ताराप्रसाद चापागाईंज्यूको संयोजकत्वमा आव्हान गरिएको थियो ।
टुक्काकारहरूले गाईजात्रा विशेषमा समाजका विसङ्गति लगायत राजनीतिक उतारचढावमा समेत तिखो व्यङ्ग्य प्रहार गरेका छन् । संकलित टुक्काहरूको सम्पादन सक्रिय टुक्काकार एवं समाजकी सचिव विमुन्स पौडेलले गर्नुभएको थियो ।
शुभ संयोगवश आजैका दिन टुक्का साहित्य समाजकी बलियाे खम्बाकाे रुपमा रहनु भएकी समाजकी सचिव विमुन्स पौडेलज्युको जन्मदिन समेत परेकोले टुक्का साहित्य समाज एवं सहभागी सम्पूर्ण टुक्काकारहरूले शुभकामना व्यक्त गरेका थिए ।

सचिव पौडेलले नेपाली भाषा सहित्यका विविध विधाहरूमा सशक्त रुपमा कलम चलाउदै आउनु भएको छ ।
गाईजात्रा विशेष टुक्का अभ्यासमा संकलित उत्कृष्ट टुक्काहरू
१/
१.
आउँदै जाँदै गर्छ हरेक वर्ष गाईजात्रा,
बढ्दो रहेछ झन् देशमा गाईजात्राको मात्रा।
२.
दुई हरफ सयौं पल्ट लेख्दा पनि,
जानिनछु लेख्न गाइजात्रा नै छ नि।
✍️ रचना शर्मा प्रतीक्षा,
ललितपुर ।
२/
१.
झोले झ्याम्टे चुल्ठे मुन्द्रे युवाहरुको मात्रा,
बुढा खाडा देखाउँदैछन् कुर्सी माथि जात्रा!
२.
विकास गर्ने काम छाडी कुर्सी हाक्ने दाउ,
गाई जात्रे नेता यिनको सार्है सस्तो भाउ।
✍ नवशिला
बेलबारी -२, लालभित्ती, मोरङ हाल: गोदावारी, ललितपुर
३/
१.
हाम्रा देशका नेताहरू हुँदै गए कस्ता,
तलतिर बगाइदिई माथि खाेजाैँ जस्ता।
२.
गाइजात्रे पाराले बिग्रिसक्यो देश,
नेता बनी खानु भन्दा एसै छ बेस।
✍️ नानीबाबा अधिकारी,
कलंकी
४/
१.
मृत आत्मालाई सम्झिएर गर्दैछु म यात्रा,
परम्परा जोगाउन निकाल्दैछु गाईजात्रा।
२.
भुतप्रेत बनि दु:ख नदिऊन् भनि,
ऊनिहरुकै सिको गर्दैछु म पनि।
✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
५/
१.
जनता मरे राेग र भाेकले भयाे गाईजात्रा,
नेता सबै सुख सयलमा माेज मस्ती र यात्रा।
२.
पहुँच र पावरकाे दुरुपयाेग भयाे,
हत्याराले मुख लुकायाे साेझाे जेल गयाे।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेशी न.पा. ९ धादिङ
६/
१.
जताततै जात्रैजात्रा मात्रै केलाई गाइजात्रा कुर्नु,
नेताका कर्तुत देख्दा लाग्छ कहिले यिनलाई पुर्नु ।
२.
देश भयो वेहाल चारैतिर देखिन्छ गाइजात्रा,
युवा तिम्रो कॅाधमा जिम्मेवारी नरोके है त्यो यात्रा ।
✍️ राजेशराज गड्तौला
रतुवामाई-१०, मोरंग
हाल – प्रवास
७/
१.
देशले हाँसेर गाइजात्रा मनायो,
मरेकाहरूको सम्झनाले सतायो।
२.
गौमाताको जात्रा किन बनाए,
मृतलाई बिर्सिने चल्ती चलाए।
✍️ विमुन्स पाैडेल,
पाेखरा
८/
१.
कहिले सङ्लो कहिले धमिलो जिन्दगीको यात्रा ,
शब्दको झटाराे हान्नलाई आयो है गाईजात्रा ।
२
जसरी नि चाहिएको छ नेतालाई भोट ,
पर्न सम्म परेको छ जनतालाई चाेट ।
✍️ अम्बिका गिरी,
विराटनगर
९/
१
नेपालमा पाईन छाड्यो शुद्ध तोरीतेल,
उद्योगधन्दा राम्रै चल्छ राजनीति खेल।
२
भाँडो सानु भुँडी ठूलो लुकिलुकि खाने,
गिलो दिशा लाग्यो भने विदेशमा जाने।
✍️ होम प्र, नेउपाने
धरान,सुनसरी
१०/
१.
हुनत सधैं भईरहेकै निरन्तर मेरो देशमा गाईजात्रा,
अब मनाउँन सक्नुपर्छ तिथि मिति संस्कार मिलाएर मात्रा।
२.
तन्त्रको नाममा अध्यादेश चलखेल भाँडभैलोको जात्रा शहरमा,
त्यसैमा कोरोना पाजीको बिगबिगी गाईजात्रा चाड महा कहरमा ।
✍️ शर्मिला श्रेष्ठ
भैंसेपाटी,ललितपुर
११/
१.
म सधैं सत्तामा रहे चुला चुलामा लाइन,
पुरुषलाई ह्विस्की र महिलालाई वाइन ।
२.
मापसे नगर्नेलाई सधैँभरि दिनुपर्छ जुस,
विश्वास गरेकाे भए भदौ पछिकाे महिना पुस ।
३.
बादलमाथि नै च्याउ खेती गर,
टुँडीखेलमा तेल र पानी भर ।
✍️ लक्ष्मी घिमिरे दाहाल,
झापा
१२/
१.
बुख्याँचाकाे सास पनि पलाएछ अाज,
बाँदरको बथानले चलाएछ राज ।
२.
दवाई किन्न नपाएर गुनासो भाे ठूलो,
बजेट सके चपाएर निलिदिए धुलाे ।
३.
यस्ता नेता मन्त्रीलाई अाैसर खत्रा अाउँने,
देखाएर गाईजात्रा लुँड्याई घिच्न पाउँने ।
✍️ रामकृष्ण दुवाडी,
पाेखरा ।
१३/
१.
अाउ हामी सबै मिली गाईजात्रा मनाऊँ,
धर्म र संस्कृति जाेगाउँदै पुण्य कमाऊँ।
२.
देशकाे शासन गाईजात्रा जस्तै मलाई लाग्छ,
करकाे रुपमा जनताकाे पसिना चुस्न माग्छ।
३.
शुभकामना छ तिमिलाई गाईजात्राकाे,
राम्राे चाहन्छु सधै भरी म तिम्राे यात्राकाे।
✍️ अरुण नदी खत्री,
काठमाडाैं
१४/
१.
गाई मारेर गधा पोसे फुस्केपछि मात्रा
कलाकारले दर्शाउछन् व्यंग्यात्मक जात्रा ।
२.
गाइजात्रामा हाम्रो संस्कृति झल्किन्छ है मनाउनु पर्छ
मूल्यवान छ परम्परा मृत आत्माले वैतरणी तर्छ।
✍️ इश्वरी अधिकारी,
लमजुङ्ग
१५/
१.
पहिले देखि चलि आएको हाे नि गाइजात्रा,
नेताहरू जान्छन् कहिले काहीँ विदेश यात्रा।
२.
परिवारमा मृत्यु भएकाकाे आत्मा शान्तिकाे लागि मनाउँ छन् याे जात्रा,
दिन दु:खी गरिब बाढी पिडितकाे लागि नेता जान्छन् त्यहीँ यात्रा।
✍️ शाेभा अर्याल,
बुटवल
१६/
१
बलिको बोको कानुनको झोलीमा,
मन्त्रमुग्ध छन् नेताज्यूको बोलीमा ।
२
कुकुर हुन् जुठो हड्डी पचाउने,
आमा बेचेर खुकुरी नचाउने ।
✍️ विनोद रिजाल
बेलबारी २ मोरङ
१७/
१,
छ सय भन्दा धेेरै राजाले घुसै मात्र खाने,
मरे पछि सबैलाई पक्कापक्की नर्क लाने।
२,
कोही राजा थिए पहिले स्वास्नी फकाउने,
गाई जात्रा निकाल्नु भनी काम लगाउने।
✍️ लक्ष्मी श्रेष्ठ,
बिर्तामोड झापा
१८/
१.
पानी जहाज र रेल भयो घरघरै,
भन्ने मान्छे नै गयो बाहिर कठैबरै।
२.
गाई जात्रा झैँ छ हाम्रो देशको राजनीति,
नेताले पनि भ्रष्टचार गरे जाति बिती।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही१८
१९/
१.
नैतिकता-सदाचारका नक्कली गीतहरू मन्चमा पो गाउने,
राजनीति अनि प्रशासनभित्र खुट्टा घुमाएपछि कमाउने!
२.
कहीँ नबिकेपछि राजनीतिमा कुनै गुटको नेता समाइयो,
गुण्डाको टेन्डर खोलेर राज्यको ढुकुटीमा हैकम जमाइयो!
✍️ भूषण जंग
ललितपुर, हाल अस्ट्रेलिया
२०/
१.
अरे!खरदार, सुब्बा, मास्टर बन्ने हाे र म याेग्यता खोज्छौ,
देश हाँक्ने योद्धा हुँ म फलाम चपाउने आँट छ के सोँच्छौ !
२.
ए!भुसुना छोड बाटो सप्पै उतै छ खनाउनु,
प्राणभन्दा प्यारो देश अमेरिका छ बनाउनु ।
✍️ धनु शर्मा,
पाेखरा
२१/
१
सानो जात थाहा पायो ब्राह्मणको शिर ढल्यो,
हातको पानी चलेन, ओठको चुम्बन चल्यो।
२
हाम्रो देशका ठुलो मुसा महल भित्र लुक्छन्,
निस्कन्छ कि बाहिर भनी त्यही बिरालो ढुक्छन्।
✍️ मुस्कान मिलु राई
सोलुखुम्बु, तिङ्ला
२२/
१.
देशको शासन र गाई जात्रा मलाई उस्तैउस्तै लाग्छ,
जनता गरिब बनाउँदै दरिद्र झैँ खान मात्र माग्छ।
२.
कोरोनाको बहानामा देशमा गाइजात्रा हुँदैछ,
भोको आत्मा जति टाउको ठोक्दै सडकमा रुँदैछ।
✍️ उषा के.सी.
ललितपुर
२३/
१
बाँदरको हातमा रहँदा देशकाे ताला चाबी,
भ्रष्टाचार र घुसखोरी चाहिँ हदै भए हाबी।
२
कोही नेता टुक्का हान्ने त काेही सिधै मुक्का,
आफू चुसे मीठाे रस जनता सँधै भुक्का ।
✍️ त्रिलोचन भण्डारी
मेचीनगर,झापा
२४/
१.
काग जस्तै कराउँछौ बोली भन्छौ ढुकुरको,
खसीको टाउको राखी मासु बेच्छौ कुकुरको ।
२.
सत्ता जति नयाँ देख्यो उति लाग्छ धमिरा,
अब बलियो भयो भन्यो परिहाल्छ चिरा ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा
२५/
१
गाई सिँगारेर चौपट्टै अनि रामायण भन्दै,
घर घरमा खेलाईन्छ जात्रा आना पैसा गन्दै।
२
पितृको उद्दारको लागि खेलाईन्छ जात्रा,
मान्छे मरेका घरबाट शुरू हुन्छ यात्रा।
✍️ सरस्वती श्रेष्ठ,
इटहरी
२६/
१.
प्रताप मल्लले चलाएको गाई जात्राको कामना,
पितृलाई सम्झना गर्दै शुद्ध र शान्तिको चाहना।
२.
देशमा चल्दै छ हेर दु: खदायी यात्रा
घरमा चुल्हो बल्दैन कतै दुनो जात्रा!
✍️ कमला देवकोटा,
पाल्पा
२७/
१.
पार्टी फुट्यो भाग्य पो खुल्यो मन्त्री खान हिडेको,
चट्टपारी दौरा सुर्वाल कोट पनि भिरेको।
२
स्विट्ज़रलैंड बन्छ भन्थे चुनावको बेला
लुटेर खाने भॉडो रैछ बल्ल बुझ्यौँ खेला ।
✍️ इन्दिरा देवकोटा
कपिलवस्तु न .पा .३ कपिलवस्तु
२८/
१.
समृद्धिको कुरा धेरै गर्छन् उल्टो यात्रा,
हाम्रो देशमा वर्षेनी हुन्छ गाईजात्रा ।
२.
नेताहरू त्यो घुम्ने मेचमा गर्छन् आसन,
काम कुरो एकातिर दिन्छन् मात्र भाषन ।
✍️ रचना माेक्तान यात्री,
काभ्रे
२९/
१
बुवा भन्ने गर्नुहुन्थ्यो हेर छोरा नेता बन्नुपर्छ,
ठुलो पद हात पारेर ढुकुटी चट्ट गन्नुपर्छ ।
२
सुधो गाई किन मुछियो, भनियो गाईजात्रा,
सधैं देखिन्छ, मान्छेजात्रा निकै अधिक मात्रा ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
३०/
१.
के लेखौँ सिर्जना साच्चै जात्रा शीर्षकमा अब,
गाईजात्रा सधैँ नै छ लाखे झै नाच्दछन् सब ।
२.
पाटी नेता र जनता सबका भ्रष्ट छन् मति,
गाईजात्रा सरि नै छ राज्य वा देशको गति ।
✍️ रामजी लामिछाने,
पाेखरा – २७
३१/
१.
नेता ज्यू अब नगर्नू है भ्रष्टाचार
हामीले साथ सधैँ दिन्छौँ सरकार ।
२.
शुभकामना छ है गाईजात्राको,
राम्रो चाहन्छु सधैँ तिम्रो यात्राको।
✍️ प्रेम सुनार,
दैलेख
३२/
१
मृतकको मुक्तिका निमित्त हो गौयात्रा,
हिन्दुहरूको पर्व मनाऔँ गाईजात्रा।
२
मान र मर्यादामा आँच आउने खालको,
नगरौँ महोदय गाईजात्रा यो सालको।
✍️ हिउँ खतिवडा,
कैलाली
३३/
१.
नेताचाहिँ जनता भन्दा खास
जनता बिना ऊ मरेको लाश।
२.
नेताहरूले देश भन्दा पहिला आफ्नो घर बनाउँदैछन्
जनताको तिर्खा मेट्न साटाे आफ्नै इनार पाे खनाउँदैछन्।
✍️ रतन पाण्डे ‘पारतन”,
दार्जिलिङ्ग
३४/
१.
सोह्र शृङ्गार गरी सजाइएर निकालिन्छ गाई
नेवार जातीको संस्कृतिमा पित्रीको हुने भलाई ।
२
रीति रिवाज मान्न देखाउँछन् अनेक रूप रङ्ग
जात्राको प्रस्तुतिले दर्सक श्रोताहरू पर्छन् दङ्ग ।
✍️ तारा घिमिरे
संखुवासभा
३५/
१.
गाई अनि गोरुहरूको हुन्छ यहाँ जात्रा,
ताण्डव नृत्य नाच्ने हाम्रो नेता पात्र पात्रा ।
२.
भारत चीन अमेरिका सबै बनिसक्यो कैले,
सिङ्गापुरै बनाइदिन्छौ भन्थे नेताहरू पैले ।
✍️ मन्दिरा सेडाईं,
मलेखु धादिङ
३६/
१.
हास्य व्यङ्ग्य प्रहसन लिई गाईजात्रा अाउँछ,
बिछाेडकाे पीडा भुलेर मनमा शान्ति छाउँछ।
२.
गाई जात्राले मनाेरञ्जन र चेतना भर्याे,
नेपालीको महत्वपूर्ण एउटा पर्व पर्याे।
✍️ जगत थापा,
बझाङ्ग
३७/
१.
देशमा फैलिएको छ विकृति यात्रैयात्रा,
हाम्रो परम्परा हाम्रो संस्कृति गाईजात्रा।
२.
पहिले वर्षेनी पर्खाईमा आउँथ्यो संस्कृति गाईजात्रा,
हिजो आज संस्कृति हराएछ कस्तो नौटङ्की कालोयात्रा !
✍️ शरद प्रधानाङ्ग,
विराटनगर-७
३८/
१.
आमाबाबुलाई छोराछोरी प्यारो छोराछोरीलाई अरू हुने प्यारो ,
यो कलियुगका केटाकेटीको मनको कुरा बुझ्नलाई साह्रै गाह्रो ।
२.
नखाऊँ भने अनिकालको सिकार ,
खाऊँ भने सबैथोकमा नै विकार ।
✍️ गंगा खड्का
बूढानीलकण्ठ १ , काठमाडौँ
३९/
१.
नेतालाई रातो बत्ती बालिदिने जन,
उल्टै कानून थाेपर्दै दु:ख दिए झन।
२.
शब्दको सलाई बनाई दिन्छ नेता,
अन्धाधुन्ध आगो फुक्दै हिड्छ प्रणेता।
✍️ अजीत राई सक्तेन,
गोरुबथान, दार्जिलिङ, पश्चिम बंगाल,भारत।
४०/
१
जताततै छ यात्रा गाइजात्राले छाएको
सामान्य बिरामीमा नेता बिदेश धाएको।
२.
नेता सबकाे कार्टुन बन्ने अायाे गाइजात्रा,
जनताको कर असुली सधैँ विदेश यात्रा।
✍️ नवीन जाेशी,
कैलाली
४१/
१
एक पर्वको रुपमा आयो,
गाईजात्रा पो नजिकै छायो l
२
व्यङ्ग्य रूपमा नाच गान गरी गाईजात्रा मनाऔँ,
दुखी नभई आफ्नो परम्परालाई भव्य बनाऔँ l
✍️ रिता खराल,
रुपन्देही
४२/
१.
पुग्यो हजुर,निर्वाचनमा लोकतन्त्रको गफ हाक्छौ,
जिते पछि संसद र मन्त्रीको कुर्सी मात्रै किन ताक्छौ।
२.
हिस्सी रूप पुक्क गाला,मान्छे अल्लि मोटी,
मेरो माया लाग्छ भने, हाँस एकचोटी।
✍️ सङ्कल्प पुन सायर,
४३/
१
उत्सव बिनाको जात्रा हुन्छ यो देशमा सधैँ किन ?
वर्ष दिनको गाईजात्रा दिनहुँ हुन्छ जस लिन ।
✍️ माधव पोखरेल गोज्याङ्ग्रे
उदयपुर गाईघाट, हाल ताप्लेजुङ
४४/
१
फकाएर ठूला नेता दाैरा पट्याएछाै ,
देखाएर गाईजात्रा कुर्सी हत्याएछाै ।
२
चाहे पराेस् पार्टी फाेड्न कुर्सी छाेड्नु हुन्न ,
समाउँछु त्यहि कुर्सी अरु केही छुन्न ।
✍️ रामकृष्ण दुवाडी,
पाेखरा ।
४५/
१.
छिनमै बदल्छन् नेताले भेष,
गाई जात्रा मात्रै भएको देश।
२.
हुने केही होइन, केके दिवस मात्र आयो,
गाई जात्राको नाममा विकृतिले ठाउँ पायो।
✍️ हिमा आर.सी.
मेहेलकुना सुर्खेत
४६/
१.
नलड हे ढाडेहरु ब्वाँसो पल्किसकेछ,
हाम्रै देशको सीमातिर पो ढल्किसकेछ।
२.
लोभमा पर्यौ विदेशीको बिर्सिएर देश,
बिर्सिसक्यौ धर्म, संस्कार, परम्परा, भेष।
✍️ लक्ष्मण समिर,
भुरिगाउँ बर्दिया हाल: काठमाडौं
४७/
१
भ्रष्टाचारी नेताले खान्छन् घुस साला,
लगाई दिउँला तिम्रा भुँडीमा ताला ।
२
धेरै मुसाले धानको चुँडेर लगेछन् बाला
अत्याचारी नेता भए देशकै चोर बिराला।
✍️ भगवती दवाडी ,
दमक झापा
४८/
१.
गाई जात्रा झैँ बन्दै गयाे अब हाम्राे देश,
जाेगाउन गाह्रो पर्ने भाे अाफ्नाे भाषा भेष।
२.
नेपाली जनता खुसी हुँदा गर्छ्न् आहा,
भ्रष्टाचारीलाई सबै मिली पारौँ स्वाहा।
✍️ साधना पाैडेल,
अाेखलढुंगा
४९/
१.
कुकुर अनि बिराला भेट भएछन् एउटै वेशमा,
हाँडीगाउँमा पनि नभएको जात्रा सधैँ यो देशमा ।
२.
कैले कुर्सी तानातान कहिले भएको छ हानाहान,
हाम्रो देशको सदनमा सधैँ गाईजात्रा जानाजान ।
✍️ श्रीकृष्ण शर्मा,
पोखरा
५०/
१.
कहिले घोडे कहिले यहाँ गाई जात्रा,
मिली हेर्न आऊ सबैलाई शुभ यात्रा ।
२.
नहोस् हल्ला देशमा लुटेराको मात्रा,
लाग्दैछ मन्दिरमा पर्सी गाई जात्रा
✍️ कल्पना थामी,
सिन्धुपाल्चाेक
५१/
१.
एमालेको बहिर्गमन भयो, काँग्रेसको आगमन
नेकपा फुटिगो राज्यमा अब कसले गर्ने शासन
२.
टिक्नै नदिने सत्तामा कुनै पार्टीलाई नि पूरा दिन
गाईजात्रै भयो नेताको विचार बदल्ने छिन-छिन
जुन जोगी आए पनि देशमा कानै चिरिएका आए
हाम्रा त्यागी नेता भन्दै जिताए आखिरीमा के पो पाए
✍️ गोपाल कृष्ण डंगोल
महाराजगञ्ज, काठमाण्डौँ
हाल- इटहरी, प्रदेश नं. १
५२/
१.
पहिलेकोले हँसाउन उखान भन्ने,
अहिलेकोले आफू पायक दिन गन्ने।
२.
नेपालीको पुर्पुरोमा एउटै ड्याङका मुला,
घुमिफिरी ठोकिन आउँछन् सहुँला,बुझुँला।
✍️ म्यामराज राई
हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान
५३/
१
साँची भनुम भने खै के भनुम यो देशको हालत यस्तो भयो,
छोरी बुहारी र कुमारी बिधुवा नारीको इज्जत माटोमै गयो।
२
वाद विवादमा मिडिया घर जंगल बाटो दोबाटोमा ल्याएको देखिन्छ,
आज सांसद भवन बालुवाटार राज्य भवनमा गाई जात्रा भेटिन्छ।
३
राज्यमा यस्तो गति नहोस् भनी निकाले गाईजात्रा ठुला सहरमा,
एकल नारी देखेर इज्जत लुटी मारेर फाले खोल्सा नहरमा।
✍️ कमला पाण्डे पराजुली
झापा चारआली
५४/
१/
प्रगति गर है नेताज्यू ताली पड्काउछौं,
होइन भने तिम्रा फेरि गाला चड्काउछौं।
२/
जनताले खै कहाँ पाए रासन,
ढाडे नेताचैं हान्छन् ठुला भाषन।
✍️ प्रकाश बुढाथोकी
असम भारत।
५५/
१.
ए सरकार जनतालाई कोरोनाको खोइ खोप,
खुलेआम भ्रष्टाचार गरी किन गर्छौ ढाकछोप ।
२.
चलचित्र शैलीमा चलेको छ राजनीति,
बेचेर राष्ट्र बिर्से आफ्नो सबै रीतिथिति।
✍️ भुपेन्द्र राना मगर
धादिङ
५६/
१
भाषण कलामा निपुर्ण चटके काे सत्ता ,
मेलम्चीको पानी नखुवाई भए बेपत्ता ।
२
लहै साथी हो सिंहले फेरि जंगल छोड्यो ,
दुइ खुट्टो लुकाई भुँडी भर्न बाटाे माेड्यो।
✍️ राजेश्वरी राजाेपाध्याय
पाटन, ललितपुर
५७/
१
प्रताप मल्लले पुत्र बियोग रानीलाई निसृष्टार्थ कलाको,
मृतआत्माको शान्ति र पीडा हर्न यो गाईजात्रा पर्व चलाको।
२
कतिसम्म गर्छस् सरकार अब गाईजात्रे काम ,
जति भएनि तेरै भुँडी भरियो अरूले के खाम ।
✍️ बेदु न्याैपाने,
काठमाडाैं
५८/
१.
राजनीति गर्नेहरुको देखियो सबै भन्दा ठूलो धर्म!
पहिले आफ्नो हैसियत बनायो पछि गर्यो अरू कर्म!
२.
स्वार्थ्यको लागि राजनीतिमा पहिले घाँटी जोडिन्छ!
एउटा मुख अघायो अर्को भोकै भयो कि तोडिन्छ!
✍️ प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर
५९/
१.
हरेक क्षेत्रमा अधिक भइरहेछ यसको मात्रा,
सक्छौ सुधार्दै लैजाऊ दैनिक तिम्रो गाईजात्रे यात्रा।
२.
नेता सिंहदरबार र बालुवाटारमा होला धेरै मात्रा,
जनता पनि हुन् गाईजात्रा देखाउने प्रमुख पात्र-पात्रा।
✍️ अरुण कुमार भुजेल,
गोरूबथान,कालेबुङ्ग।
६०/
१
कसै कसैको मुहार यहाँ चमक्क चम्कन्छ ,
नेताको भाषण सुन्न अघि लमक्क लम्कन्छ।
२
छताछुल्ल भएको देश गाईजात्रा जस्तै ,
केही फरक भएको छैन कोरोना सस्तै ।
✍️ बिनिता विश्वकर्मा
बाजुरा
६१/
१
जस्तो छ हेर्ने दृष्टि
उस्तै देखिन्छ सृष्टि।
२
छाेराले आफ्नो जीवनमा पैसा रुपियाँ कमावाेस् कि नकमावाेस्,
कुलतमा लागेर रक्सी र ड्र्ग्स खाएर दादा हुन नखाेजाेस्।
३
कस्तो दिन आयो, आफ्नै मान्छे मर्दा पनि जान छाेडिसके मलामी,
फेसबुककाे भित्तामा श्रद्धाञ्जली, समवेदना, र दिन्छन् सलामी।
✍️रिना योल्मो,
दार्जिलिङ
६२/
१.
कुकुर अनि बिराला एउटै पार्टी भित्र,
राेक्नुपर्छ गाईजात्रा अब त उठाैँ मित्र।
२.
सधैँभरि नेपालमा गाईजात्रा हुन्छ,
स्वाभिमानी नेपालीको अाैधी मन रुन्छ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
६३/
१.
संस्कार, संस्कृति र सम्पदा हाम्राे गाैरवमय सम्पति ,
गाईजात्राकाे नाममा नबढून् वैमनष्यतिर दम्पति ।
२.
उहिले गाईजात्रमा मात्र हान्थ्ये व्यङ्गवाणकाे भाँचाे ,
अहिले दिन दिन हानिन्छ छैन गाईजात्रकाे खाँचाे ।
✍️ प्रद्युम्न चालिसे,
भक्तपुर
६४/
१
राजनीतिले देशमा हुन्न कहिले भलो,
जोत्दा जोत्दै अड्काएर भाँचिदिएछन् हलो।
२
गरेकै देख्छु सबैका चाहना कुर्सी घुमाउने,
कठै!कहिले सांसद कहिले मन्त्री गुमाउने।
✍️ महेश तामाङ
बेल्कोटगढी-६,नुवाकोट
६५/
१.
सरकार हो! रे सरकार ! जानीनजानी,
कसले छेक्न सक्छ हरे! गर्न मनोमानी।
२.
तखता पलट हुनसक्छ भन्ने कस्तो नजानेको,
जनताको ईच्छा, चाहनालाई किन तुच्छ ठानेको ?
✍️ परिक्रमा श्रेष्ठ,
धरान
६६/
१.
खाएर पेट नभरिने कस्तो खन्चुवा,
देशको नेता विदेशीको हुन्छ भतुवा।
२.
भीडभाडमा कति ठुलो जात्रा देखाउछन्,
भ्रष्टाचारमा लोकप्रिय नाम लेखाउछन् ।
✍️ दस्ता कौशिक
पाँचथर,हिलिहाङ-२,सिंहपुर।
६७/
१.
पछि आज म परे किन लेख्न इनीहरूका विधाता,
उपमा सबै सकिएछ को सँग जोडु इनको नाता।
२.
प्रयत्न सबैले धेरै गरे सुध्रिएनन् यी नेता,
गाइजात्रा अझै देखाउदैछन् को उता- को एता।
✍️ विशनु सिंह बस्नेत
ल. पु. १३, कुसुन्ती।
६८/
१.
प्रसस्त धन-सम्पत्ति राखे आफन्तले मेरो शिरानमा,
चितामा खरानी पनि छोडेनन् जलाउनेले चिहानमा।
२.
भन्दिनुस् तँजा भन्दा सुँगुर स्वर्ग जाला?
सबै कुकुर काशी गए गु केले खाला?
३.
आर्यघाट नियालेर हेर जल्नेहरू रुदैनन् रुन्छन् जलाउनेहरू
घमण्ड किन गर्छौ समाजमा मैहुँ भनी टुप्पोबाट पलाउनेहरू।
✍️ अबजस चन्द्र,
झापा
६९/
१.
ठूलाबडा नै आएर हुन्छन् सबै भेला,
बहाना छ गाईजात्रा हुने ठूलो खेला।
२.
सोच छ ठूलो गर्ने कठिन बन्यो यात्रा,
पुरा नभएर यहाँ भयो जात्रै जात्रा।
✍️ रविन भण्डारी
कानेपोखरी-२,दलेली मोरङ
७०/
१
राजनीति नाउँको ठाँडो,
नेताको मागी खाने भाँडो ।
२
नपुगेर हो कि राजनीतिमा मात्रा,
मेरो देशमा हुन्छ सधैँ गाईजात्रा।
✍️ बिके माकजू ,
भक्तपुर ।
७१/
१.
कति हो खै कुन्नि खानुपर्ने भ्रष्टाचारको मात्रा,
देख्नुपर्यो कहीँ नभएको हाँडीगाउँको जात्रा।
२.
थुइक्क म कस्तो!पढ्न छोडेर नेता हुन किन सकिन,
लाउडा जहाज वाइड बडी कुन खाऊँ गर्थे यकिन।
✍️ मुक्तिनाथ अधिकारी
भरतपुर,चितवन।
७२/
१.
नेताहरूलाई व्यङ्ग्य गर्दै गीत गाउने थाले ,
आज त गाईजात्रा रे,अब हेर्न जाउन काले ।
२.
नक्कल गर्दै रमाउँछन् कलाकार हरू ,
आनन्दमा हेर्ने त हुन् बाँकी सबै अरू ।
✍️ ललिता अभागी,
सिन्धुली
७३/
१
कति गर्छन् भ्रष्टाचारी विदेशको यात्रा,
भ्रस्टचारी हरू मरे गाउँथे गाईजात्रा ।
२
मेरो देश बिगारे हाम्रा पापी नेताले,
दुई बोत्तल रक्सी खान्छु अब यता ले।
✍️सि.पि.आचार्य
७४/
१,
खुसी हुन्छन् यहाँ अर्काकाे लुटेर पेट भर्न पाए,
कस्तो जमना अायाे पैसाकै निम्ति उनीहरू धाए।
२,
सायद म दलित भएर नै हाेला पँधेराेकाे पानी नछुने आदेश थियाे,
अस्पतालकाे वेडमा मृत्युको भीख माँगिरहदा मेरो छाेराेले ब्लड दियाे।
✍️ दीपा मग्राती,
चतरा सुनसरी
७५/
१.
ढुक्क हुन्छु टन्न खान्छु जेसुकै गर,
जति सक्छौ तिमीले पनि भुँडी भर।
२.
नगर तिमी भयो लुकि लुकिको यात्रा,
जात्रै जात्राको देशमा के को गाईजात्रा ??
✍️ दुर्गा आचार्य,
खाेटाङ्ग
७६/
१.
छिन छिनमा सरकार फेरिने देश हाम्रो,
बाहिर बस्दा लाग्ने कुर्सी पाइयो भने राम्रो।
२.
लौ न ज्योतिषज्यू मेरो पनि हात हेर्नुपर्यो,
प्रधानमन्त्री बन्नैपर्यो कि रैखा फेर्नुपर्यो।
३.
जाबो सांसद पद मात्रै केको खाई बस्नु,
क्या रमाइलो झण्डावाला गाडीभित्र पस्नु।
✍️ घनश्याम पौडेल,
सृजना चोक
पोखरा
७७/
१-
जनमत बेच्न कुर्सीको निम्ति थियो सभासद भएर
एक नाङ्गिँदा अर्को बुङ्गिन सुहायो मन्त्रालय गएर।
२-
मिलेपछि स्वार्थ सबै तराई र लेक एकै बन्छन्
गाई हुँडार वंश एकै उद्धेश्य झन् एउटै भन्छन्।
✍️ नारायण खनाल
,मालारानी,अर्घाखाँची
७८/
१.
गर्छु भन्छ सब तर सिन्को सार्दैन,
रक्सी मासु बाड्ने चुनावमा हार्दैन।
२.
नेता धेरै सिपालु ठान्ने जनता बाँदर
यिनले ए हजुर आँ गर भन्दा आँ गर।
✍️ ईशहाक हुसैन
प्रदेश नं.२, सिमरा उ.म.न.पा.१४ बारा नेपाल
७९/
१.
जहाँ थियो त्यहीँ मेरो रोकियो यात्रा,
जे भए नि आऊ मनाऊँ गाई जात्रा।
२.
रमाइलो गरौँ न अब फुकाएर बन्धन,
एक अर्काको बारे गरेर गन्थन मन्थन।
✍️ लालीमाया थापा मगर
प्यूठान
८०/
१.
मान्छे बाँदर भए बाँदर कहिले मान्छे होला?
अरूको घर भत्काउँदैमा बित्यो मानव चोला ।
२.
कति हाँस्यजात्रा कति त करुण जात्रा चारैतिर,
कहिले हाँस्नुपर्ने कहिले रुनुपर्ने लाग्दा पिर ।
✍️ पवित्रा महरा
दाङ
🌹जय टुक्का ! जय साहित्य !! 🌹


हार्दिक आभार व्यक्त गर्दछु आदरणीय सर वसन्त अनुभव तथा हिमालय दृष्टि अनलाइन पत्रिका परिवार प्रति।