ट्राफिक प्रहरी शिर्षकमा लेखिएका १६ जना टुक्काकारका उत्कृष्ट टुक्काहरू

  • १६ श्रावण २०७८, शनिबार ०७:१७ मा प्रकाशित
  • नेपाली काव्य विधा अन्तर्गत लघुतम विधाहरु मध्ये टुक्का कविता पनि एक हो । जसको प्रवर्तकका रूपमा साहित्यकार ताराप्रसाद चापागाईं रहनुभएको छ ।

    उहाँका अनुसार टुक्का दुई हरफको कविता भएको, जसको पहिलोलाई आद्य पङ्क्ति र दाेस्रोलाई अन्त्य पङ्क्ति वा अन्त्य हरफ भनिन्छ । दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्ने र अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म राख्न सकिने हुन्छ ।

    टुक्का कविताको उन्नयन र प्रवर्धनका लागि टुक्का साहित्य समाज गठन गरिएको छ । जसको अध्यक्षमा स्वयं टुक्का प्रवर्तक चापागाईं रहनुभएको छ । साथै  टुक्का साहित्य समाजले विभिन्न अवसर पारेर टुक्का सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको छ । जसमध्ये नियमित टुक्का अभ्यास कार्यक्रम पनि एक हो ।

    टुक्का कविताकाे संरचनात्मक स्वरुप/ आधारभूत सिद्धान्त निम्न अनुसार रहेका छन्।
    (१) टुक्का नेपाली माटोमा हुर्किएको सरल एवं मौलिक कविता विधा हो । दुई हरफमध्ये पहिलोलाई आद्य पङ्क्ति र दाेस्रोलाई अन्त्य पङ्क्ति वा अन्त्य हरफ भनिन्छ । दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्छ । अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म (जसले परिपूर्णता देओस्) राख्न सकिन्छ। टुक्काकाे दुवै हरफकाे अन्तमा तुक (अन्त्यानुप्रास) मिलेकाे हुनु पर्ने छ । शब्दानुप्रास तथा एकाक्षरी तुकान्त मान्य हुने छैन साथै अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ ।
    (२) टुक्काको संरचना
          (क) बाहिरी संरचना अन्तर्गत टुक्कामा जम्मा दुई हरफ हुन्छन् । यसका दुई हरफमध्ये पहिलोलाई आद्य पङ्क्ति र दाेस्रोलाई अन्त्य पङ्क्ति वा अन्त्य हरफ भनिन्छ । दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्छ । अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म (जसले परिपूर्णता देओस्) राख्न सकिन्छ। टुक्काकाे दुवै हरफकाे अन्तमा तुक (अन्त्यानुप्रास) मिलेकाे हुनु पर्ने छ । शब्दानुप्रास तथा एकाक्षरी तुकान्त मान्य हुने छैन साथै अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ ।
    (ख) टुक्काकाे भित्री संरचना अन्तर्गत टुक्का आफैँमा अर्थपूर्ण हुनुपर्ने । कविताका गहना अलङ्कार, छन्द, विम्ब, प्रतीक, शब्द शक्तिका साथै विविध प्रयोगपूर्ण कलात्मक सिर्जना हुनुपर्ने ।
    (३) टुक्कालाई मुख्य स्वच्छन्द टुक्का र छन्द टुक्का गरी दुई भागमा वर्गिकरण गरिएकाे छ ।
    (४) शब्दको पूर्णताभन्दा पनि भावको सघनता, तीव्रता र प्रभावकारी एवम् कलात्मक रचना हुनुपर्छ । दुवै हरफमा परस्पर सम्बन्ध प्रगाढ हुनुपर्ने ।
    (५) पहिलो हरफमा विषयको उठान, विस्तार र दोस्रो हरफमा समर्थनसँगै समापन गरेको हुनुपर्ने । साथै दोस्रो हरफमा मूलभाव उत्कर्ष वा परिपाकमा पुगेको हुनुपर्ने ।
    (६) टुक्का सृजना गर्ने व्यक्तिलाई टुक्काकार भनिन्छ ।
    (७) सकेसम्म गहकिला, थोरै शब्दमा वजनदार, रसिलो, कसिलो र चोटिलो शब्दावलीको प्रयोग गरी लेख्न सकिने तर समान अर्थ दिने एउटै शब्दलाई पटक पटक दाेहाेर्याउनु उचित मानिदैन।
    (८) भाषिक शुद्धतालाई ध्यान दिनुपर्ने । नेपाली भाषामा लेखिएकाे टुक्कामा सकेसम्म ठेट नेपाली शब्दहरुकाे प्रयाेग गरिन्छ । टुक्का नेपाली माैलिक साहित्य विधा भएता पनि याे जुनसुकै भाषामा पनि लेख्न सकिन्छ ।
    (९) टुक्का जुनसुकै विषयमा पनि लेख्न सकिने तर धार्मिक, सांस्कृतिक, सामाजिक, व्यक्तिगत संस्कार तथा स्वतन्त्रतामा असर पर्ने गरी टुक्काहरू लेख्न पाइने छैन ।
    (१०) टुक्कामा अावश्यकता अनुसार अल्पविराम, पूर्ण विराम, प्रश्नवाचक, विस्मयादिबोधक आदि चिह्नहरूको प्रयोग गर्नु पर्दछ ।
    (११) टुक्काले अन्ततः वाचनबाटै पूर्णता पाउने हुँदा टुक्का कवितामा अक्षर गणना गर्दा लेखन तथा उच्चारण दुवैका आधारमा मान्य हुने तर समानता रहनुपर्ने।

    👮‍♀️👮‍♀️शीर्षक : ट्राफिक प्रहरी 👮‍♂️👮‍♂️

    @ १
    १.
    सधै खटिन्छन जनताकै लागि धुवा र घुलाे नभनी,
    कर्तव्यपरायण ट्राफिक बस्छन देशका खम्बा बनी।
    २.
    ट्राफिक नियम पालना गरे दुर्घटना धेरै टर्छन्,
    सडकमा देखिने ती जनसेवक कत्ति दुख गर्छन्।
    ३.
    पैदल यात्रु, सवारी चालक, सवारी साधनहरू,
    सुरक्षित भई चलाउन सबैले साथ थपाै अरू।
    ताराप्रसाद चापागाईं
    धुनिबेशी न.पा.-९, धादिङ

    @ २
    १.
    धुँवा, सडकको गन्ध, धुलोसँग खेल्छन्,
    त्यहीँ कठै ठगलाई दिनदिनै झेल्छन् ।
    २.
    कति गाह्रो बनाएको नियम पालना गर्न,
    बसेका होइनन् ट्राफिक यतिकै घाँस चर्न।
    ३.
    जोखिम घटोस् भन्ने चाहना हुन्छ,
    ट्राफिकको कुरा खै कसले सुन्छ।
    ४.
    न बस्ने ठाउँ हुन्छ र दिनभर उभिएरै जान्छ,
    ट्राफिकलाई सलाम छ तिम्रो धैर्य आत्मले मान्छ।
    पौडेल विमुन्स, पोखरा

    @ ३
    १.
    ट्राफिक प्रहरी सधैं बन्नुपर्छ कानुनकाे रक्षक,
    बन्नुहुन्न कसैले नी यहाँ नीती नियमकाे भक्षक ।
    २.
    ट्राफिक प्रहरीले निस्वार्थी भई  काम गर्नुपर्छ,
    सेवाभावले ती जनताको मन सधैं भर्नुपर्छ ।
    ३.
    कतिले त निस्वार्थी भावले सेवा दिन्छन्
    धेरैले मनभित्र लाेभ र पाप लिन्छन् ।
    ४.
    ट्राफिक प्रहरीहरू रातदिन खट्छन्,
    जनताकाे हितमा नै  देशैभरि डट्छन् ।
    लक्ष्मी घिमिरे, दहाल,( दमक -७,झापा )

    @ ४
    १.
    सवारी साधनको नियामक,
    बाटोघाटो चौबाटोको पालक।
    २.
    धुलो धुँवा बेपर्वाह कर्तव्यमा निष्ठा,
    रातदिन जोगाउँछन् देशको प्रतिष्ठा।
    ३.
    दत्तचित्त  भएर   सम्मान  गरौँ   जहिले,
    आवश्यक कुरा सोधेमा सघाऔँ पहिले।
    ४.
    एउटा राम्रो नारा छ क्यारे ‘प्रहरी मेरो साथी’,
    सडक र यात्रु सुरक्षानीति बोक्छन् शिरमाथि।
    म्यामराज राई, भाेजपुर,
    हाल जापान

    @ ५
    १.
    दिन र रात नभनी गरिरहन्छौ काम,
    राष्ट्र सेवक ट्राफिकहरूलाई सलाम ।
    २.
    तन, धनको क्षतिमा कसैले नपरौं,
    ट्राफिक नियम सबैले पालना गरौँ ।
    ३.
    नियम मिच्नेलाई जरिवाना भराउने,
    ट्राफिक ज्यूले चालक सजग गराउने ।
    ४.
    बिस्तारै हिडे बाटामा,
    छिटो  कुदाए घाटामा ।
    रिजाल विनोद, बेलबारी २ मोरङ

    @ ६
    १.
    लाइसेन्स नहुँदा भागी भागी गाडी चलाउने,
    ट्राफिक प्रहरीले जरिवाना सक्दो चढाउने।
    २.
    ट्राफिक नियन्त्रणलाई  उलङ्घन गर्छ जब,
    यस्तो हुँदा नै धेरै दुर्घटना बढ्दै जान्छ तब।
    ३.
    बेइमान लाइसेन्स नलिई चालक हुन्न जन,
    ट्राफिक नियमको पालना गर्न चाहिँ छैन मन
    ४.
    ट्राफिक  नियमको राम्रो पालना गर्छन् विदेशमा,
    त्यहीँ मान्छे लापरवाही गरेर हिँड्छन् स्वदेशमा ।
    भगवती साधिका, दमक -५ झापा

    @ ७
    १.
    सामान्य हेलचेक्र्याइँले ठूलो घटना घट्ने गर्छ,
    त्यही रोक्न ट्राफिक प्रहरी दिन-रात लागी पर्छ।
    २.
    ट्राफिक प्रहरीको कथन अनि नियमहरू घोकी,
    हिडौँ बाँचेर अरूलाई पनि बचाउँको मन्त्र बोकी।
    ३.
    कर्तव्य निष्ठ ट्राफिक प्रहरी दिन-रात काम गर्छन् ,
    यात्री अनि सवारी साधनको रक्षार्थ नै अघि सर्छन।
    ४.
    बिस्तारै दगुरे मात्र गन्तब्य पुगिन्छ नबिर्सौं कसैले,
    अहोरात्र खटने सेवकको सहयोग गरौँ सबैले।
    अरुण कुमार भुजेल , गोरूबथान,कालेबुङ्ग।

    @ ८
    १.
    घामपानी भन्नुछैन जोखिम मोल्दै काम,
    जिम्मेवार सेवक ट्राफिकलाई सलाम ।
    २.
    दुर्घटना न्यूनीकरण गर्नका खातिर,
    हरदम तयार हुन्छन् पार्दै ठाडो शिर ।
    ३.
    ट्राफिक नियम हुदैन उलंघन गर्न,
    अटेर गरे भन्छन् छिट्टै जरिवाना भर्न ।
    ४.
    चालकलाई नैतिकता पाठ सिकाउने,
    ट्राफिक हो यात्रुलाई सजग बनाउने ।
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका – १४, दाङ

    @ ९
    १.
    आफु सक्षम भएर जानेको काममा भर परौं,
    सडकको यात्रामा ट्राफिकलाई सहयोग गरौँ।
    २.
    बाटो काट्दा खेरि अथवा रोकिदा खेरि होओस,
    ट्राफिक नियम पालान गरी हिँड्नुस् सयौं कोस।
    ३.
    चालक भए लाईसेन्सलाई साथमा राख्नु पर्छ
    कहिलेकाहीँ दुर्घटनामा बढो सहयोग गर्छ।
    ४.
    कहिले पनि यात्रामा नगरौ है तल माथि,
    मद्दत चाहिँ लिनु पर्छ ट्राफिक हाम्रो साथी।
    पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    @ १०
    १•
    सेतो टोपी नीलो पाइन्ट नीलो कमिज,
    मिलाएर लगाएका छन् नि हर चीज।
    २•
    दोबाटोमा बसेर सिठ्ठी फुकेका,
    कर्तव्य पालनामा छैनन् चुकेका।
    ३•
    धूलो धुवाॅ घाम पानी केही नभनी,
    खटिएका देखिन्छन् ती रातमा पनि।
    ४•
    कहाॅ होला घर अनि बस्ने कुन ठाउॅ,
    जाम परे मिलाउने ट्राफिक हो नाउॅ।
    घनश्याम पौडेल, सृजना चोक
    पोखरा

    @ ११
    १.
    हामी मानव भएर दानव  भन्छन् कसरी,
    दुर्घटनामा कति पर्छन् खुलेआम यसरी।
    २.
    ट्राफिक प्रहरीहरूको नियम कानुन  मानिराखौँ,
    बिना लाईसेन्स हुन्न सवारी चलाउन जानिराखौँ।
    ३.
    बिचबाटोमा हेर्नू जाम छ वरिपरी,
    ट्राफिक आउँछ सवधान घरी-घरी।
    ४.
    देश र जनताकै लागि ज्यान जोखिम राखेर,
    गर्छन् संघर्ष देशमा बगेको पसिना चाखेर।
    कमला पाण्डे पराजुली, झापा

    @ १२
    १.
    ट्राफिक भन्ने जागिर कति गाह्रो होला,
    न पानी भन्न पाइयो न त बाढी खोला ।
    २.
    नमस्कार गर्दै बाटो कुर्नुपर्ने ट्राफिक बिचरा,
    लाइसेन्स छैन सवारी चलाउने कस्ता छिचरा ।
    ३.
    जागिर खान साह्रै गाह्रो ट्राफिक पदको,
    सबै मिली सम्मान गरौँ कठिन कदको ।
    ४.
    हामीलाई हल्का लाग्ने जागिर तर काम गर्न गाह्रो,
    ट्राफिक भई काम गरे थाहा हुन्छ यो छ कति साह्रो।
    राजेशराज गड्तौला, रतुवामाई-१०, मोरंग
    हाल- प्रवास

    @ १३
    १.
    आँधी-हुरी के हो उसले जान्दैन,
    भोक-तिर्खा के हो  त्यो पनि मान्दैन।
    २.
    जनताको ज्यान बचाउन धेरै जोखिम उठाउने,
    दिनभरि नै सीटी फुकी आफ्नो गन्तव्यमा जुटाउने।
    ३.
    परिवारसँग बस्न पाउँदैन ऊ कहिले,
    बाटोमा बसी यात्रीको सुरक्षा गर्छ जहिले।
    ४.
    ट्राफिक लाइटको नियम पालन गरौं,
    समयमा नै सुरक्षालाई झोलीमा भरौ।
    प्रशान्ति राई, सामसिङ्ग खासमहल कालेबुङ

    @ १४
    १.
    सडकको नियम कानून जान्ने कसरी ,
    सिठ्ठी बजाई अाैंल्याउँछन् ट्राफिक प्रहरी ।
    २.
    सवारीकाे अावागमनलाई चुस्त गराउँछन् ,
    देखेपछि ट्राफिक पुलिस चालक डराउँछन् ।
    ३.
    सडकको कामकाज सडकमै बास
    ट्राफिककाे राेजगारी यहि भयाे खास ।
    ४.
    भवितब्य कर्तव्यमा घटना घट्यो भने
    सत्य र तथ्य निर्क्याैलमा सहभागी बने ।
    रामकृष्ण दुवाडी, पाेखरा

    @ १५
    १.
    कसैले देशको लागि लडेर मरे,
    आपत बिपतमा नि अगाडि सरे।
    २.
    जीवन सबैको सङ्घर्षमय भयो,
    सङ्घर्ष गरेरै हाम्रो जिन्दगी गयो।
    ३.
    देशको बनावट पनि उस्तै हुँदा,
    कतै पहिरो त कतै बाढीले छुँदा।
    ४.
    बचाउन हाम्फाल्छन् ती वीर,
    असाहायको लागि आखिर।
    सुरेशकुमार पान्डे , दाङ घोराही १८,

    @१६
    १.
    नेताहरूले गर्दा नै  हाम्रो देश बिग्रेर गयो,
    यिनैका आसेपासे भन्दा अरू नबसे नि भयो ।
    २.
    अहिले यिनीहरूको मुख हेर्न मन लाग्दैन,
    राजनीति शब्द सुन्ने जाँगर पनि त जाग्दैन ।
    दुर्गा भट्टराई, बिराटनगर

    🌹 जय टुक्का ! जय साहित्य !! 🌹

    0 thoughts on “ट्राफिक प्रहरी शिर्षकमा लेखिएका १६ जना टुक्काकारका उत्कृष्ट टुक्काहरू

    Leave a Reply