
टुक्का साहित्य समाज काठमाडौँको आयोजनामा मिति २०७८ असार २९ गते २०८ औँ आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारी १३ औ अभ्यास शृङ्खला अन्तर्गतको टुक्का वाचन कार्यक्रम सम्पन्न गरिएको छ ।
टुक्का साहित्य समाजको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष लाइभ मार्फत संचालित उक्त कार्यक्रममा शृङ्खला संयोजक विमुन्स पौडेल लगायत दीपा मग्राती, जगत थापा, साधना पौडेल र ललिता गिरीले सहभागी टुक्काकारहरुको टुक्काहरु वाचन गर्नुभएको थियो । अपरान्ह ६ बजेबाट शुरु भएको उक्त कार्यक्रम दुई घण्टा बढी समयसम्म संचालन भएको थियो ।
आदिकवि आचार्यसँग सम्बन्धित टुक्का वाचन कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट ८१ जना नेपालीभाषी सर्जकहरूद्वारा रचित एवं प्रेषित टुक्काहरु वाचन गरिएको थियो ।
टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाई तथा शृङ्खला संयोजक विमुन्स पौडेल लगायत प्रस्तोताहरू दीपा मग्राती, जगत थापा, साधना पौडेल र ललिता गिरीले भानु जयन्तीको शुभकामना व्यक्त गर्नुका साथै टुक्का पठाएर र टुक्का लाइभ वाचन कार्यक्रममा सहभागिता जनाएर साथ दिनुहुने सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नु भएको थियो ।
टुक्का वाचन कार्यक्रममा वाचित उत्कृष्ट टुक्काहरू
# १
जन्म जन्मान्तर अमर रहनेछन् अाचार्य भानुभक्त,
उनकै प्रेरणाले साहित्य कहिल्यै हुने छैन अशक्त।
२
नेपाली भाषामा प्रश्नाेत्तर माला, रामगीता बधुशिक्षा,
भक्ति भाव फुटकर कविता सबैले दिनेछन है दिक्षा।
– शर्मिला श्रेष्ठ, ललितपुर
हाल अमेरिका ।
#२
१
नेपाली भाषाका प्रथम कवि भानुभक्त थिए,
रामायण र धेरै ग्रन्थ सरल बनाई दिए ।
२
घाँसीकाे प्रेरणा लिएर भानु बनी चम्के,
साहित्यकाे शिखर चुम्दै प्रगतिमा लम्के ।
– ताराप्रसाद चापागाईं
धुनिबेशी न.पा.९ धादिङ
हाल काठमाडाैं ।
#३
१.//
घाँसीले जरुवा खनाउन भनी गर्मीमा घाँस काटे,
समाजकै उत्कृष्ट मान्छे बन्न आफ्नो अनुभव साटे।
२.//
त्यो चुँदी रम्घा भानुको जन्म तनहुँ जिल्लामा,
ती आदिकवि चम्किला तारा भाषाको किल्लामा।
– पौडेल विमुन्स, पाेखरा
#४
१
एक दिन सत्य लोक पुगि गया भनि,
राख्छु कृति मैले आदिकवि भानु बनि।
२
गाउँछु श्लोक मैले रामायण गुन्गुनाएर
घाँसीको प्रेरणादायी कथा सबै सुनाएर।
-पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
# ५
१.
भानु तिमी अति प्रिय श्रद्धान्जली अर्पण,
नेपाली भाषा साहित्यको तिमी नै दर्पण ।
२.
फेरि आऊ भानु तिमी सबलाई नेपाली सिकाउन
जरुरत पर्यो यहॅा तिम्रो साहित्यलाई बिकाउन ।
-राजेशराज गड्तौला, रतुवामाई-१०, मोरंग
हाल- आबुधाबी, युएई
#६
१
बिहान उज्यालो हुन सदा उदाउँछ रवि,
नेपाली साहित्यका भानुभक्त हुन् आदिकवि।
२
उनी भानुभक्त बन्नुमा हात छ मोतीराम भट्टको,
पाण्डुलिपि सबै पुस्तकाकार बनाए हेर्दा चट्टको।
– म्यामराज राई
हतुवागढी-६,होम्ताङ्,भोजपुर
हाल:-जापान
#७
१
उपनाम पाए “आदिकवि ” भानुभक्त कविले,
मेहेनत गरेर भएको हो उनको छविले l
२
संघर्षका पाईलाहरू चालेर कति ,
उनले प्रगति गरे संसारमै अति l
– रिता खराल , रुपन्देही
#८
१.
रामायण रची तिम्ले कर्तव्य काे पाठ सिकायाै
नेपाली नारीलाई सतित्वकाे सन्देश झिकायाै ।
२.
विश्वभरि नै तिम्राे कृति फैलियाे
रावण जस्ताकाे प्रवृत्ति वैलियाे ।
– लक्ष्मी घिमिरे दाहाल – दमक ७, झापा ।
# ९
१
तनहुँ को रम्घा गाउमा जन्मे भानुभक्त ,
साहित्य लाई दुनियामा बनाए शसक्त ।
२
साहित्यको फाटमा एक हस्ती भानु हुन ,
लाएका छन उनले तिरी नसक्ने गुन।
✍नवशिला
बेलबारी -२,लालभित्ती, मोरङ।
#१०
१
न भानुले झैं कुवा खनाउन सकियो,
न त किर्ति फिजाउॅने कोशिश गरीयो।
२
न गजाधरको घरमा गईयो,
न कुनै पाहुना पीडन सहियो।
– गृष्मा पौड्याल, टोकियो जापान
#११
१
राष्ट्र कवि भानुभक्तले ज्ञान शब्द चाखेछन्
इँतिहासमा घाँसीको बडो कृति नै राखेछन्।
२
नेपालीमा रामायण कविता र श्लोक कैयौँ लेखे,
मीठो उपदेश दिने घाँसी पहिलो मानिस देखे।
– कमला हरिमाया पाण्डे पराजुली
झापा, चारआली
# १२
१
रम्घामा नै उदाएका हुन् भानु,
सम्पूर्ण नेपाली भाषीका छानु।
२
नाम सरि भानुले सर्वत्र उज्यालो छरे
रामायण दिई नेपालीको कल्याण गरे।
– अरुण कुमार भुजेल
गोरूबथान , कालेबुङ्ग,पश्चिम बंगाल।
# १३
१
त्यो जिन्दगीको रथ गुडाइदिए पासामा
आध्यात्मिक रामायण लेखि दिए भाषामा ।
२
अठार सय एकहत्तरमा छोरो जन्मियो मनै शान्त
भानुभक्तको उन्नाइस सय पच्चीसमा भयो देहान्त ।
– रिजाल विनोद
बेलबारी २ लालभित्ती मोरङ
#१४
१
नेपाली भएर जन्मेसि गर्नुपर्छ अनुसरण,
भानुभक्त बन्न साहित्यमा गर्ने हो मृत्यु वरण।
२
आजबाट भोलिबाट केही सिक्नु नै पर्छ,
सम्झियौ भने भानुभक्त हाम्रो वाधा टर्छ।
– सरिता श्रेष्ठ सरु
ओखलढुंगा खिजिदेम्बा
#१५
१
भानुभक्त आचार्य एक महान कवि थिए,
उनैले देशमा रामायणको संदेश दिए।
२
कहलाउँछन् सधैँ आदि कवि भानुभक्त,
चलाए रचनामा कलम पनि सशक्त।
– सुरेशकुमार पान्डे।
दाङ घोराही उपमाहानगर पालिका १८
#१६
१
तनहुँको चुँदीमा जन्मी जगत नै झलमल्ल पारिदियौ ,
अँध्यारोमा बाँचेका जनलाई तिमीले संसार तारिदियौ
२
भानु झैँ चम्की संसारमा तिमी लौ सबैको मनमा छायौ ,
महाकाव्य लेखी नेपालीहरूलाई नभुल्ने गुण लायौ ।
– राजेन्द्र प्रधान पासा, दार्जिलिङ ।
#१७
१
भानु तिम्रो सम्मानमा नेपालीको शिर उठेकोछ ,
तिम्रो त्यागले एक आपसमा नेपाली जुटेकोछ!
२
उदायौ भानु नेपाली आकाशमा तारा बनेर,
एउटी घाँसीबाट ज्ञान लिई साहित्य छरेर!
– शरद प्रधानाङ्ग,विराटनगर-७
#१८
१,
खै कसरी भनौ हार्दिक श्रद्धाञ्जली,साथमै देखिन्छौ,
हरेक दिन कविता बनी, तिमी पाना भरी लेखिन्छौ।
२.
ए!भानु घाँसीले खनाएको,कुवा देखेर,
ग्लानी बोध गरी पोखियौ,कविता लेखेर।
– चिरञ्जीवी ढकाल
ने ग उ म न पा-२०, राँझा एयरपोर्ट बाँके
#१९
१
यो नेपाली मन यो नेपाली बोली छ मिठो
सबैसित मिलेर बस्नु जानेको छ छिटो ।
२
भानु आए हाम्रो नेपाली जगतमा
नाम राखेको छ सबैको मगजमा ।
– नीमा छिरिङ्ग भोटिया
जलढक्का /कालेबुङ
#२०
१
नेपाली भाषाका रवि
भानुभक्त आदिकवि ।
२
नेपालकाे एकीकरण गर्ने पृथ्वी
भाषा एकीकरण गर्ने आदिकवि।
– प्रद्युम्न चालिसे
कटुञ्जे सु न पा ५, भक्तपुर
#२१
१
घाँसीले भानुलाई प्रेरणा दिलाए,
ज्ञानछर्न कविताका भोटो सिलाए ।
२
नेपाली भाषा शब्दमान चित्र दिए,
पदभार आदि कवि यिनैले लिए ।
– ऋषिराम खनाल ।
मध्यबिन्दु ६ नवलपुर ।
#२२
१
साहित्यकाे साधनामा लागि परे कवि
जब लेखे रामायण उचालियाे छवि ।
२
प्रेरणाले घाँसीजनकाे थुप्रै कृति लेखे
साहित्यकाे अाकाशमा नयाँ किरण देखे ।
– रामकृष्ण दुवाडी, पाेखरा
#२३
१
भानु ज्योति हुन् समाजमा अनेक चेतनाको
ओखती बनेर बाँचेका जातित्व वेदनाको
२
साहित्यको क्षितिजमा उनी एक परिभाषा
भाषाका संरक्षक औ उज्जवलताको आशा
– निरूविन्दु परियार
जल्ढक्का कालेबुङ्ग, भारत !
#२४
१.
हाम्रा भानु नेपाली भाषाका अमूल्य मोती।
नेपाली साहित्य जगतका उज्याला ज्योति।
२
संस्कार जोगाए काव्य रचेर नेपाली संस्कृतिलाई,
कालो नराम्रो साहित्य निकालेर फाल्दै बिकृतिलाई।
– तारा कुमार थापा
ईलाम
#२५
१
भानु भक्तले दरिद्र त्यो घाँसीबाट पाए ज्ञान,
सेवा गर्नु पर्दोरैछ भन्ने कुरा सबैले जान।
२
भानु भक्त आचार्य बने आदि कवि,
साहित्यकारहरूका सुन्दर रवि ।
– सरस्वती श्रेष्ठ इटहरी सुनसरी
#२६
१
भानुभक्त भए देश कै अादिकवि,
विश्व भरि चिनिएकाे उनकाे छवि।
२
विश्वमा चिनिएका अादिकवि भानुभक्त,
बिभिन्न बिधामा कलम चलाए ससक्त।
– शाेभा अर्याल, बुटवल
#२७
१.
भानुकाे जन्म, त्याे चुँदी रम्घा , तनहुँ वन्दना
ती अादिकवि, छाेडेर गए , मनैमा सम्झना।
२.
नेपाली भाषा, एकता खासा, गरेका कविले,
झल र मल्ल , बनाए देशै , भाषाकै रविले।
– शर्मिला कार्की “शरू”
पैयुँ गाउँपालिका-२,पर्वत
#२८
१
नभए भानु नेपाली भाषा कसरी रम्दथ्यो।
साहित्य कला संगित सबै ओझेल पर्दथ्यो।
२
नेपाली स्रष्टा विश्वका द्रष्टा दिलमा साँचेर।
युगौं है युग बाच्नेछौं हामी प्रेमले हाँसेर।
– त्रिलोचन भण्डारी
मेचीनगर १० झापा
#२९
१
भानु नै नेपाली भाषाको प्रथम कवि थिए,
नेपाली भाषाको विकास अघि बढाइ दिए।
२
घाँसीले कुवा खनि समाज सेवा गर्छु भने,
त्यहीँ ज्ञानबाट भानु प्रेरणाको स्रोत बने।
– विशाल सुवेदी, मकवानपुर मनहरी- ९
#३०
१
रचेर रामायण नाम कमायौ,
सम्पूर्ण जनको मनमै रमायौ ।
२
बधुशिक्षा , भक्तमाला रचेर प्रश्नोत्तरी पनि,
तनहुँका मोती तिमी धनञ्जयका छोरा भनि ।
– इन्दिरा देवकोटा
कपिलवस्तु न .पा. ३, कपिलवस्तु
#३१
१
नेपाली भाषा बनाउँन सशक्त,
जन्माउछु यौटा फेरि भानुभक्त।
२
नेपाली श्लोक मा रामायण लेखेर,
आदि कवि बन्यौ प्रतिभा देखेर
– पदमा शर्मा आँचल,
कालचिनी, प. बंगाल
#३२
१.
मानिएकै छ उनलाई आदिकवि
भानुभक्त उनी नै हुन् बनाए छवि ।
२.
गरे उल्था भानुभक्तले रामायण नेपाली भाषामा
सहज भयो जनलाई गाउन थाले लोक भाकामा ।
– रचना शर्मा प्रतीक्षा, ललितपुर
#३३
१
गरिब घाँसीको उत्साह,इच्छा भानुभक्तले सुनेर,
गरे संकल्प म पनि कुनै कृति राख्छु भन्ने गुनेर।
२
तनहुँ चुदी रम्घा घर, भानुभक्त नाम,
विश्व भरि नै चिनाउने गरि छाड्यौ काम।
– नानीबाबा अधिकारी, कलंकी काठमाडाैं।
#३४
१
आदिकवि भानुभक्त,
देशकै थिए सशक्त।
२
देशकै महान व्यक्ति थिए,
हामी सबैलाई ज्ञान दिए।
– जगत थापा, बझाङ्ग
#३५
१.
साहित्य भाषा विकास गर्न गरेर प्रयत्न,
नभका भानु नेपाली तारा अमूल्य ती रत्न ।
२.
धेरै नै अघि हिँडेर गए उज्यालो बाटोमा,
अमूल्य कीर्ति छाडेर गए नेपाली माटोमा ।
– डम्बर थामी ‘अनुपम’
कालिन्चोक गाउँपालिका-६, दोलखा ।
#३६
१.
आदिकवि भानुभक्त विलक्षण प्रतिभाका खानी,
देशकै महान व्यक्तित्व सरल स्वभावका ज्ञानी ।
२.
सरल भाषा साहित्यका प्रखर व्यक्ति थिए,
साना ठुला सबैलाई सहज रुपमा ज्ञान दिए।
– दुर्गा भट्टराई, बिराटनगर
#३७
१
अादिकवि बनेर संसार भरी छायाै,
भाषा र साहित्यमा ठुलाे गुन लायाै।
२
हाँस्दै खेलेको त्याे रम्घा गाउँ,
सधै अमर छ भानुकाे नाउँ।
– निर्मला शाही ठकुरी,
ठाँटिकाध – ६ छडाथान, दैलेख
#३८
१.
भानुभक्त आचार्य एक असल कवि थिए
बाचुन्जेल सबैलाई मीठामीठा ज्ञान दिए ।
२.
कवि साहित्यका असल पात्र हुन् उनी
उनका रचनाले सबैको मन छुनि।
– सि.पि.आचार्य
दैलेख भैरवी ७ पानिपोखरा
हाल काठमाडौं
#३९
१
भानुको भक्तिरसको रामायणले मोहित नतुल्याएको भए!
जनताछोडी राजारानी कै हुने थियो अधिकार सयमा सय!
२
भानुभक्त आचार्य तनहूँमा जन्मनु नेपालीको अहोभाग्य!
सोंच्नुहोस उनी नभएको भए भोग्नुपर्थ्यो अझ दूरभाग्य।
-रतन पाण्डे’पारतन’, दार्जीलिङ।
#४०
१
लेख्ने गर्थे संस्कृत रामायण, नेपाली भानु ,
अब हामी पनि नेपाली कविता लेख्न जानु।
२
शुद्ध सरल भाषा नेपाली एकीकरण गरे ,
यो संसारमा नरहे पनि सम्झना छोडी मरे ।
– कान्छी बिनिता विश्वकर्मा, बाजुरा
#४१
१.
चुँदीका भानु , मावली जाँदा, ती घाँसी देखेका,
प्रेरणा पाई ती घाँसीबाटै, साहित्य लेखेका।
२.
ती अादिकवि, उज्याला रवि, घामझैं चम्केका,
नेपाली भाषा, एकता खासा, गरेरै लम्केका।
– अार. बि. थापा
हाल: बन्दीपुर, तनहुँ
#४२
१
आएछ फेरि असार महिना भानुलाई सम्झन
घाँस काटदै होला बिचरा घाँसी घुमेर रन्वन।
२
बिचरा घाँसी भानुको प्यारो शिक्षाको मुहान
बिचार ठूलो सेवाको भाव कुवाको बखान ।
– माधव पोखरेल गोज्याङ्ग्रे
उदयपुर गाईघाट हाल ताप्लेजुङ
#४३
१.
एकताबद्ध भएर फुल्ने भाषाको फूलबारी
भानुकाे नासाे, उमार्नु हुन्न विभेदी काँसघारी ।
२.
सिर्जनामय सुकर्म गर्दै उदाए ती भानु
शीतलताकाे छहारी दिने विशाल त्यो छानु ।
– दुर्गा वनवासी, बुद्धशान्ति, झापा
#४४
१
स्रष्टाहरूका मनमा तिमी अमर भई बस्यौ भानु,
नेपाली साहित्यलाई ओत दिने बन्यौ सुन्दर छानु।
२
पुण्य आर्जन गर्नलाई मान्छे धाउँछ गया र काशी,
भानुभक्तलाई पुण्य कर्मको ज्ञान दिने थिए घाँसी।
-प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर
#४५
१
भानु तिम्रो जन्म रम्घा चुँदी सुरम्य छहरा,
तिम्रा काव्य सिर्जना खुल्ला हृदयका पहरा।
२
तिम्रो रामायण काव्य बने सरस रसिलो,
नेपाली जन जिब्रोले मीठो गाउने कसिलो।
– भगवती दवाडी ,झापा
#४६
१
प्रसिद्ध नरमा छ नाउँ उनको भानुभक्त भनि,
नेपाली साहित्य जगतमा उदाए थे ज्योति बनी ।
२
जन्म भयो असार उनन्तिस जिल्ला तनहूँ थियो,
आउँछ याद कविता पढ्दा भानुले बालेकाे दियाे ।
– बसन्ता घिमिरे पोख्रेल, गुल्मी
हाल बुटवल ,रुपन्देही
#४७
१
भानु जन्मे याे देशकाे ठाउँमा,
तनहूँ जिल्ला त्याे रम्घा गाउँमा ।
२
भानुकाे ग्रन्थहरूमा अमरपन भरिएकाे,
भानु तिम्राे रामायणले ठुलाे काम गरिएकाे ।
-अरूण नदी खत्री, सामाखुसी काठमाडाैं ।
#४८
१.
साहित्य यात्रामा गर्नु सजिलै समस्याको सामना,
आदिकवि भानुभक्त झै बन्नु यही शुभकामना।
२.
बित्नु भएको नै गरियो दुई सय आठौँ गन्ती,
मनाइँदै छ आज खुसी भएर भानु जयन्ती।
– रविन भण्डारी, मोरङ
#४९
१
बर्षा याम सुरु भई पानी पर्याथ्यो रम्घामा,
जन्म्यौ भानु परिवारमा हर्षित भइन् आमा |
२
देखिकन घाँसी त व्यस्त जब कुवा बनाउनमा,
मिल्यो प्रेरणा उहीँ बाट व्यस्त कृति रचाउनमा |
– दिपक राज थपलिया
भानु न. पा.-९ तनहूँ ।
#५०
१/
भाषा र जाति अनि साहित्यको सुगन्ध छर्दछु,
सबैमा भानुजयन्तीको शुभकामना गर्दछु।
२/
नेपाली भाषा साहित्यको कालिगर मानियौ,
सधैँ अजर अनि अमर बनी पृथ्वीमा जानियौ।
– प्रकाश बुढाथोकी।
असम भारत।
#५१
१
भानुभक्त कवि मन मुटुका साझा ,
साहित्यिक संसारको पहिलो राजा ।
२
भानुले साहित्यमा खाता खोले ,
असङ्ख्य कविका कविता बोले ।
– बिके माकजू , भक्तपुर
#५२
१.
ब्राह्मण कुल तनहुँमा जन्मिएका धनी अगम्य साहसी थिए ती भानुभक्त,
घाँसीको ज्ञानबाट विश्व कृति राख्ने भई रामायण काव्य लेख्न लागे सशक्त।
२.
भानुतिमी धर्तीका गहना बनिकन बस्यौ बाल्यौ अँधेराे गयो,
तिम्रा ती काव्यहरु अमर हुनगई ज्ञानबुद्धि सबैमा भयो।
– वेदु न्याैपाने, काठमाडाैं
#५३
१
तनहुँ जिल्ला रम्घाको चुँदीमा जन्म लिएथे
धनन्जय र कृष्ण मायाको पुत्र भै जन्मेथे।
२
घासीको कुरा सुनेर भानु झसङ्ग भएथे
तुरुन्तै त्यहाँ ढुङ्गामा बसि कविता लेखेथे।
– कमला देवकोटा, तानसेन पाल्पा
#५४
१
टुक्का ताज हो,तनमन हो निरन्तर रहोस् मेरो चाहना,
आदिकवि भानुभक्त जयन्तीको सबैलाई शुभकामना।
२
नेपाली साहित्यका एक निष्ठावान सशक्त,
हुनुहुन्थ्यो रामभक्त आदिकवि भानुभक्त।
– हिउँकला हाँसी खतिवडा, कैलाली
#५५
१
राम भक्ति गाथा राम्रै फिजायौ,
सबैमा भाष्य एकता बढायौ।
२
ठूलो छ भानुकाे गुन देशलाई,
बिर्सन्नौ कहिल्यै हामी यसलाई।
– मन्दिरा सेढाई
बेनिघाट रोराङ-३, मलेखु,धादिङ
#५६
(१)
तनहुँ को त्यो पावन धरती धन्य भै गयो
जन जीवनको मन मनमा वाणी झैं भयो।।
(२)
सिमानाले कहाँ छेक्न सक्छर प्रतिभालाई
भानु शशि रहेसम्म रहन्छ ज्योति फिँजाई।
– अर्जुन उप्रेती (अप्रतिम)
उपरखुट्टी भोलाझार, बाक्सा,असम, भारत।
#५७
१
साहित्यको जगतमा भानुभक्तको छ ठुलो योगदान ,
गरिब घासीले गरेको कृतिले नै पाए उनले ज्ञान।
२
सुगन्धित फूल झै साहित्यमा फूले भानुभक्त ,
मरेर गए पनि कृतिबाट बने देशभक्त।
– उषा के.सी., ललितपुर
#५८
१
घाँसीको अर्ति पाएर भानु अगाडि बढेका ,
सबैका सामु चर्चामा रही शिखर चढेका ।
२
साहित्यलाई नै बढाउन भानु अघि सरे,
रामायणलाई नेपालीमा अनुवाद गरे ।
– ललिता अभागी
सुनकोशी ५ -सिन्धुली
#५९
१
भाषा साहित्यलाई जगेर्ना गर्न ठुलो छ योगदान,
घासीबाट प्रेरणा पाइ छरे जीवन दर्शन ज्ञान ।
२
चुदी रम्घा तनहूँ जिल्ला जन्मिएछन् हाम्रा भानुभक्त,
भाषा अनि साहित्यलाई जगेर्ना गर्न भए सशक्त।
– इश्वरी अधिकारी, लमजुङ्ग
#६०
१.
जीवन्त घाँस काटेर नै चिनाे कुवा खने,
उसैबाट प्रेरित भई अादि कवि बने।
२.
राष्ट्रिय विभूति हुन् छ लाखौं लाख सम्मान,
वाङ्मयका ज्याेति प्रति सदा श्रद्धा प्रदान ।
– काजी तामाङ ग्याबा
चैनपुर -४,संखुवासभा
#६१
१
परिचित भएथे ती भानुभक्त आचार्य नेपालका आदिकवि भनी तब,
प्रकाशित गरिदिएथे खोजीकन सब कृति मोतिराम भट्टले नै जब।
२
एक सामान्य घाँसीबाट भानुले प्रेरणा ठूलो पाए,
नेपाली भाषाको विकासमा उनले निकै गुन लाए।
– शम्भु लाल श्रेष्ठ
नागार्जुन -१ रानीवन, पानीट्यांकी, काठमाडौं।
#६२
१
आदिकवी नै मान्छौ हामी हाम्रा भानुभक्त।
नसा भरी दौडिएको छ साहित्यको रक्त।
२
संस्कृतको रामायणलाई नेपालीमा लेखे।
भगवान् प्रतिको भक्तिभाव यसैमा नै देखे।
– राजेश भट्टराई
सैनामैना ११,रुपन्देही हाल सुर्खेत
#६३
१:
गुञ्जिएका शिलोक मधुर कण्ठै थिए तहाँ,
घाँसी तिम्रै पाएर प्रेरणा जागे भानु जहाँ ।
२:
भाषा रसिलाे बनाइ नेपाली सिङ्गै रामायणकन
प्रश्नोत्तर,भक्तमाला,बधूशिक्षा रचिए आफ्नै पन।
– धनु शर्मा, पाेखरा
#६४
१
हिन्दू धर्म सनातन राम अनुरक्त,
झुल्के घाम तनहुँमा बनी रामभक्त।
२
बने ठुला भाषाभाषी एकीकरणकर्ता
आदिकवि पदवीले न्वारन गरी दर्ता।
– महेन्द्र मान बलामी
दक्षिणकाली नगर पालिका-९
फर्पिङ,काठमाडौ ।
#६५
१
रातमा भए जून सरि दिनमा बने रवि,
गरे उत्थान साहित्यकाे बनेर आदिकवि।
२
धर्म गरी यश कमाए गाउँमा कुवा खनी,
राखे कृति जगतमा पहिलो प्रकाश बनी।
– अम्बिका गिरी, दमक, बिराटनगर ।
#६६
१
रामायण अनुवाद, प्रश्नोत्तर, भक्तमाला र वधुशिक्षाका मालिक,
नेपाली भाषाका संरक्षकको आजकाल मात्र देख्न पाइन्छ सालिक।
२
पश्चिम नेपाल तनहूँको चुँदी-रम्घा भन्ने ठाउँ,
प्रख्यात भयो भानुभक्तले त्यहाँ उचालेर नाउँ।
– अबजस चन्द्र, झापा
#६७
१
‘भानु’ हौ, हे भानु आदि कविवर भाषा र साहित्यका,
थियौ र बन्नेछौ अझै जुगजुग प्रेरणा सुकृत्यका ।
२
भाषा दिव्य बन्यो, जन रम्य बने मिठा कृतिले गरी,
रामायणका श्लोक पुगे जनमा मधुका थोपा सरि।
– सोम नाथ सुवेदी ( एस. एन. इलामेली)
देउमाई नगरपालिका २, इलाम ।
#६८
१•
घाॅसीले बाटो देखाए पछि तिमी क्या लम्कियौ,
नेपाली आदि कवि हौ भनी विश्वमा चम्कियौ।
२
लिएथ्यौ ज्ञान घरैमा बसी अनेकौँ थरिका,
महान कवि भयौ नि पछि जगतै भरिका ।
– घनश्याम पौडेल, सृजना चोक
पोखरा
#६९
१
माता रधना देविका नाै घारा दूध पिएका,
पितासंग तनहुँमा रमाउदै हुर्किएका।
२
अमर बन्ने सबैका मनमा काव्य रचना गरी,
उनकाे लागि इज्जत र सम्मान छ याे मुटु भरी।
– द्राेण, अछाम
#७०
१
नेपाली काब्यका चम्किला नक्षत्र भानु
उनका सिर्जनामा ज्ञान पाईन्छ नानु।
२
मौलिक काव्य सिर्जनामा पो लागे
भानु भक्त रामायणबाट जागे ।
– पुष्पा सायरा, बिराटनगर ।
#७१
१
भानु तिम्रो सम्झनामा नाचिरहेको डाँफे अनि हाँसिरहेको नेपाल,
प्रेरणार्थक जीवनशैली घत लाग्दा कृति आज गर्छन अंकमाल l
२
थोपा खाई सागर उक्लने प्रेरणा पाई लक्ष लिने कति ठूलो छवि,
लेख्दै केर्दै दृढ अठोट लिई प्रतिकूल समयमा बन्यौं आदिकवि l
– धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
#७२
१
नेपाली भाषाको अनुवाद बन्दै गयौ सर्जक,
मनमा बस्न सक्यौं कवि भानुभक्त दिग्दर्शक।
२
दियौ मिठो भानुभक्त लोककल्याणकारी बानी,
गरौँ काम कृति राख्ने त्यो दीव्य उपदेश मानी।
– तारा घिमिरे, संखुवासभा
#७३
१
राखेका हुन् नाम ठूलो जगत्मा कृति रचेर सारा,
भानुभक्त नेपाली साहित्यका चम्किला एक तारा।
२
त्यहाँ पुग्छन् राम्रा कवि जहाँ पुग्दैनन् रवि,
नेपाली साहित्यका भानुभक्त आदिकवि।
– रुपा पाैडेल, कुपण्डाेल, ललितपुर
#७४
१
रव़ि भनेपनि भानु भनेपनि वाह! कवि ,
लोक बोली मिठो सबले चिनेका राम्रो छवि ।
२
धनका धनी भन्दा, धनी मनका,
कसरी भूल्लान् र मनले जनका।
– हाेम प्रसाद न्याैपाने
धरान,सुनसरी
#७५
१
जताततै बढेको छ रहर
भानु भक्त कविताको लहर।
२
कविता लयमा मिलाएर गाउने बानी
आफू रोइ अरूलाई हसाउँने कहानी।
– नवीन जाेशी
७ नम्बर प्रदेश, कैलाली
#७६
१
नेपाली साहित्यका पहिला कवि,
हर ठाउँमा पुगे बनेर रवि।
२
घाँसीको सोच थियो कुवा खनाउने,
मूलको पानी सबैलाई खुवाउने।
– अनिल खग्रास
#७७
भानुभक्तकि आमा प्रति श्रध्दा !
१
आमा सदा हुनु भो धन्य ,
बयान के गरूँ म अन्य।
२
गदगद भइन् नेपाल आमा ,
भानुभक्तको उज्यालो धरामा।
– राजेश्वरी राजोपाध्याय
पाटन , ललितपुर ।
# ७८
१
शाहसी अनि चलाख र चतुर भएको छवि,
रङ्गायौ इतिहासको पाना बनेर आदिकवि।
२
मेटायौ प्यास बटुवाको, पानीको कुवा खनी,
छायौ सबैको माझ साहित्यको प्रकाश बनी।
– भुवन लिम्बु
कमल गा.पा.६, झापा
# ७९
१
त्यो चुँदी रम्घा उज्यालो भा’ छ भानुको तापले,
संसारै भरि सुगन्ध छा’ छ साहित्य छापले ।
२
लौ गरौं सेवा बन्नुपर्छ दानी,
उनैले लेखे घाँसीको कहानी ।
– रचना मोक्तान “यात्री” काभ्रे
#८०
१
चुँदी रम्घा जन्मस्थल नाम तिम्रो भानुभक्त,
आर्यवंशी ब्राह्मण धनन्जयका थियौ रक्त ।
२
संस्कृतको रामायण नेपालीमा अनुवाद,
कर्णप्रिय सुन्दै आहा! नमेटिने मधुस्वाद ।
– बसन्त अनुभव, घोराही १४, दाङ
# ८१
१
भानुले एकीकरण गरेर नेपाली भाषा बचाए,
रामायण महाकाव्य लेख्दा उन्ले धेरै पीडा पचाए!
२
हाम्रो भाषा र साहित्यका भानु तिमी नेपालीका तारा,
तिम्रो गहन योगदानमा झुक्छन् नेपाली शीर सारा!
– भूषण जंग, अस्ट्रेलिया

