
बेल्जियम युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार विहान सकिएको अन्तिम १६ को खेलमा साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो।
बेल्जियमको जितमा थोर्गन हजार्डले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ४२ मिनेटमा गोल गरेका थिए।
मेउनियरले हजार्डलाई पास उपलब्ध गराएका थिए। लुकाकु, केभिन डे बुएन र इडिन हजार्डले उत्कृष्ट पास खेलेपछि मुनियरले बल पाएका थिए। जसमा उनले थोर्गन हजार्डलाई पास दिन सफल भए।
५८ मिनेटमा पोर्चुगलका डिएगो जोटाले पाएको अवसरमा गोल गर्न सकेनन्। रोनाल्डोले दिएको पासमा जोटाले हानेको प्रहार क्रसबारबाट बाहिरिएको थियो।
६१मिनेटमा जोआओ फेलिक्सले पनि पाएको अवसर खेर फालेका थिए। लगत्तै बुनो फर्नान्डेजले पोर्चुगलका लागि अर्को अवसर सदुपयोग गर्न सकेनन्।
६३ मिनेटमा लुकाकुले बेल्जियमको अग्रता दोब्बर पार्ने अवसर गुमाए। पेनाल्टी बक्स बाहिर पाएको अवसरमा उनको प्रहार आउट भयो।
८३ मिनेटमा पोर्चुगलले बराबरी गर्न गरेको प्रयासमा पोस्ट बाधक बन्यो। गुइरेरोले पेनाल्टी एरियाबाट हानेको प्रहार पोस्टमा लाग्नु पोर्चुगलका लागि दुर्भाग्य साबित भयो।
खेलमा बेल्जियमका प्लेमेकर बुएन र इडिन हजार्ड घाइते भएका थिए।
अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ। सो खेलमा बेल्जियमका बुएन र हजार्ड फिट हुनेमा शंका छ। त्यसैले फिफा विश्व वरीयताको शीर्ष टिम बेल्जियमका लागि दुई खेलाडीको अभाव खड्कन सक्छ।

