प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच खटपटको संकेत,

  • २७ माघ २०७७, मंगलवार १०:२९ मा प्रकाशित
  • फाइल फोटो

    काठमाडौं । नेकपा विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका गृहमन्त्री रामबहादुर थापा र सो समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबीच खटपटको संकेत देखिएको छ । ओलीनिकट राष्ट्रिय युवा संघले आयोजना गरेको केन्द्रीय समिति भेलालाई बादल पक्षका युवाहरुले बहिष्कार गरेपछि यस्तो संकेत देखिएको हो ।

    आइतबार र सोमबार दुई दिन चलेको सो भेलामा पूर्वमाओवादीका कुनै पनि केन्द्रीय सदस्य सहभागी भएका छैनन् । ओली पक्षले एकता प्रक्रिया नै नटुंगिँदै एकलौटी रुपमा भेला राखेको बादल पक्षको दाबी छ ।

    गृहमन्त्री थापाले पार्टीभित्रका आफूनिकट केन्द्रीय सदस्यहरुलाई ओली समूहमा प्रवेश गराउन नसके पनि पूर्ववाइसिएलमार्फत आफ्नो प्रभाव जमाउन लागेको बुझिएको छ ।

    तत्कालीन एमालेनिकट युवा संघ र माओवादी केन्द्रनिकट वाइसिएलबीच मर्जर गरी बनेको युवा संघमा रहेका ३ सय ३५ सदस्यमध्ये पूर्वएमालेतर्फ १ सय ९२ जना र पूर्वमाओवादी केन्द्रतर्फ १ सय ४३ जना सदस्य थिए ।

    पूर्वमाओवादी केन्द्रतर्फका १ सय ४३ जना सदस्यमध्ये ३८ जना आफ्नो पक्षमा रहेको बादलपक्षको दाबी छ । बादलले उनीहरुलाई युवा संघमा सम्मानजनक रुपमा पुन एकता गराउन चाहेको बुझिएको छ । नेता बादलले पूर्वलडाकुहरुलाई पनि आफ्नो पक्षमा तान्न प्रयास गरिरहेका छन् ।

    युवा संघ र वाइसिएल एकतापछिको दोस्रो पूर्ण बैठक आयोजना गर्दा आफूहरुसँग ओली पक्षले छलफल नगरेपछि बहिष्कार गरेको बादल पक्षले बताएको छ ।

    आफूहरुले सम्मानजनक एकता चाहेको, तर ओली पक्षले पेलेर जाने नीति लिएको बादल पक्षको बुझाइ छ । अन्तिमसम्म सम्मानजनक एकताको प्रयास गर्ने, कुरा नमिले वाइसिएललाई युवासंघको समानान्तर संगठन बनाउने बादलको तयारी छ । श्रोत जनसवाल .कमबाट ।

    Leave a Reply