सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि बढाउँदै काठमाडौं महानगर

  • ५ मंसिर २०७७, शुक्रबार १७:४६ मा प्रकाशित
  • काठमाडौं महानगरपालिकाले सबै वडामा सुविधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि बढाएको छ। 

    यही योजना अनुरूप काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज विश्व शौचालय दिवस २०२० को अवसर चक्रपथ सडक खण्डको स्वयम्भू बुद्ध पार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालयको शुभारम्भ गरेका छन्।
    ४०० वर्ग फिट क्षेत्रफलमा निर्माण भएको सो सौचालयको शुभारम्भ गर्दै प्रमुख शाक्यले सार्वजनिक शौचालयलाई परम्परागत स्वरूपबाट आधुनिक तथा अत्याधुनिक ढाँचामा रूपान्तरण गर्ने र व्यवसायिकताबाट सेवामूलक बनाउँदै लैजाने महानगरको योजना रहेको बताए।
    ‘सार्वजनिक शौचालय भएका ठाउँहरू शौचालयभन्दा अन्य व्यापारिक गतिविधि गर्ने ठाउँ जस्ता देखिए,’ उनले भने, ‘त्यस्ता क्रियाकलापलाई निरूत्साहित गर्दै पहुँचयुक्त सार्वजनिक शौचालयलाई प्रोत्साहित गर्दै लैजाने योजना अनुसार आज यो शौचालयको शुभारम्भ गरेका छौं।’ 

    शाक्यले व्यक्तिको आधारभूत आवश्यकतासँग जोडिएकाले सार्वजनिक शौचालय निर्माणलाई प्राथमिक योजना राखेर काम गरिरहेको भन्दै आधुनिक सामग्रीको जडान गरेपछि त्यसलाई सञ्चालन गर्ने आचरण पनि प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए।
    काठमाडौं महानगरले सम्पदा र भीड हुने क्षेत्रलाई प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने नीति अनुरूप काम गरिरहेको पनि उनले जानकारी दिए।
    काठमाडौं महानगरपालिकाले पछिल्लो समय डिजाइन तयार पारेका पार्क र निर्माण भैरहेका पार्कमा पनि शौचालयलाई प्राथमिकतामा राखेको छ भने वडा–वडामा पनि यही नीति अघि बढाएको छ। 

    काठमाडौं महानगरपालिकाले सहरभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्ने, पहुँच बढाउने, पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुरेन्टलगायत निजी तथा व्यवसायिक स्थान सञ्चालन भइरहेका शौचालयलाई सार्वजनिक रूपमा सञ्चालन गर्नेजस्ता योजना अघि सारेको सहरी योजना आयोगका सदस्य मनराजा रञ्जितले जानकारी दिए।
    कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महिनावारी प्याड मेसिनमा सिक्का राखेर स्यानिटरी प्याड मेसिन सञ्चालन सुरू गरिन्।

    ‘काठमाडौं महानगरपालिकाले यो आर्थिक वर्ष भित्रमा ३० देखि ४० वटासम्म शौचालय निर्माण गर्ने योजनासहित अघि बढेको छ,’ रञ्जितले  भने, ‘एरोसानलाई हामीले स्वयम्भूसँगै त्रिपुरेश्वर, परोपकार र टंकेश्वरमा पनि अत्याधुनिक शौचालय निर्माणका लागि प्रक्रिया अघि बढाउन अनुमति दिएका छौं। गैरआवासीय नेपाली संघसँग कंलकी, कोटेश्वर, महाराजगञ्ज र सिफलमा शौचालय निर्माणको प्रक्रिया अघि बढिसकेको छ।’ 
    शौचालयमा पुरूषका लागि ४ वटा युरिनल र २ वटा शौचालय, २ वटा कोठा रहेको महिला शौचालयमा बच्चालाई प्याड फेराउने ठाउँ, महिनावारी भएका बेला प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रविधिबाट पानी र झोल साबुन आउने प्रविधि, हात सुकाउने मेसिन (ह्याण्ड ड्रायर) जडान गरिएका छन्। 
    त्यहाँ पर्यटक र अपाङ्गता भएका व्यक्तिका लागि १/१ वटा छुट्टाछुट्टै शौचालय कोठा छन्। स्वचालित भेन्टिलेसन, स्वचालित फ्लस प्यान, सुधारिएको दिसा गर्ने प्यान जडान गरिएका छन्। 
    नुहाउनका लागि तातो र चिसो पानी आउने सावर, फोहोरपानी प्रशोधन पुनः प्रयोग गर्ने प्रणाली, बायो ग्यास प्रविधिबाट दिशाजन्य लेदो व्यवस्थापन यसका विशेषता हुन्। 
    शौचालयबाट उत्पादन भएको कम्पोस्ट मल त्यहीँको बगैंचामा प्रयोग हुनेछ। बायोग्यासका लागि १० घन मिटरको प्लान्ट छ।
    यसबाट मासिक रूपमा १.५ सिलिण्डर बराबर ग्यास उत्पादन हुने एरोशासनका राष्ट्रिय प्रतिनिधि अमात्यले जानकारी दिए।
    यसलाई शौचालय पर्यटनको अवधारणाअनुरूप सञ्चालन, व्यवस्थापन र प्रवर्द्धन गर्न सकिन्छ। 
    अमात्यकाअनुसार यसमा विद्यालयका विद्यार्थी र पर्यटकहरूलाई सहभागी गराउने सकिनेछ। यस स्थानबाट दैनिक २ हजार बढी आन्तरिक पर्यटक स्वयम्भू जाने आउने गर्छन्।
    आजको सेतोपाटिले छपाएको छ ।।

    Leave a Reply