
दाङ, १७ कार्तिक
दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नीमा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन भएको छ । नगर प्रमुख नरुलाल चौधरीले सोमबार आयोजित एक कार्यक्रमका विच उक्त केन्द्रको उद्घाटन गरेका हुन ।
नगरको एक वडा एक स्वास्थ्य केन्द्र भन्ने नीति अनुरुप स्थापित उक्त शहरी स्वास्थ्य केन्द्रले स्थापना भएदेखि नै सेवा दिदै आइराखेको भए पनि केन्द्रको औपचारिक उद्घाटन सोमबार भएको हो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नगर प्रमुख चौधरीले आधारभूत स्वास्थ्य सेवा सहज पहुँचमा नागरिकले आफ्नै वडाबाट प्राप्त गर्न सकुन भन्ने उद्देश्यले नगरको नीति अनुरुप केन्द्रको स्थापना गरेको बताए। साथै नगर प्रमुख चौधरीले नगरका कुनै पनि नागरिक उपचारबाट बन्चित हुन नपरोस् र अधिकतम सेवा प्राप्त गरोस् भन्ने तर्फ आफुले ध्यान दिएको उल्लेख गरे । उनले जनप्रतिनिधी, स्वास्थ्यकर्मीहरु स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिदै नागरिकको सेवामा समर्पित रहन समेत आग्रह गरे ।
कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद घर्तीले जनस्वास्थ्य ठुलो सम्पत्ति भएको र त्यसको सबैले जगेर्ना गर्नुपर्ने बताए । साथै उनले जनमानसमा स्वास्थ्य चेतना जगाउन सबै मिलेर लाग्नुपर्ने बताए ।
कार्यक्रममा केन्द्रबाट हालसम्म ५ हजार ७ सय १६ जना सेवाग्राहीले विभिन्न उपचार सेवा प्राप्त गरिसकेको केन्द्रका अहेव शैलेन्द्र खनालले बताए ।
कार्यक्रम घोराही उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष माधबप्रसाद चौधरीको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सन्चालन केन्द्रका प्रमुख गोपिलाल वलीले गरेका थिए।

