साउदीमा ११ वर्ष बन्धक महिलाको उद्धार

  • २९ कार्तिक २०७७, शनिबार ११:२१ मा प्रकाशित
  • घर सपार्न निस्किएको थिएँ, सबैतिर भताभुंग भयो । – शर्मिला

    काठमाडौँ — मालिक घरबाट निस्किएपछि उनले बकला (किराना पसल) सम्म आउन सक्ने बताएकी थिइन् । श्रम सहचारी प्रेम उपाध्याय र दोभाषे सौकत अली गत बुधबार बिहान ७ बजे बकलाको छेउमा गएर शर्मिला किसान मगरको बाटो हेरिरहे ।

    आफू सधैं गइराख्ने त्यही बकलाको तस्बिर उनले खिचेर पठाएकी थिइन् । बोर्डमा लेखिएको ठेगानाका आधारमा स्थान पहिचान गर्न उपाध्याय र अली मंगलबार साँझ साउदी अरबको व्यापारिक सहर जेद्दास्थित महावाणिज्यदूतको कार्यालयबाट १२ सय किलोमिटर टाढा ताबुक पुगेका थिए । यो ठाउँ राति नै पत्ता लगाएर उनीहरू बिहान शर्मिलालाई उद्धार गर्न गएका थिए । तस्बिरमा रहेको बकला त भेटियो तर उनी घरबाट निस्कन पाउने हो कि होइन भन्ने निश्चित थिएन ।
    शर्मिलाले २००९ जनवरी १० देखि ताबुकमा घरेलु कामदार (हाउसमेड) को हैसियतमा काम गरेकी हुन् । उक्त घरमा पाइला राखेदेखि बाहिरी संसारसँग उनको सम्बन्धविच्छेद थियो । उनी दुई महिनाअघि मात्रै परिवारसँगको सञ्चार सम्पर्कमा पुगेकी थिइन् । जेद्दास्थित महावाणिज्यसँग भने उनको सम्पर्क गत आइतबार मात्रै भएको थियो ।
    ‘आज मालिक निस्केको छैन । अफिस जानासाथ म मिसकल मार्छु,’ शर्मिलाले फोनमा उपाध्यायलाई भनिन्, ‘तपाईंहरू नजिकै बस्नुहोला ।’ उनीहरू बसिरहे । घरीघरी फोन गर्दा शंका हुन्थ्यो । सिधै घरमा गएर लिएर जाने अवस्था थिएन । साउदी नागरिकको घरमा सिधै प्रवेश गर्न कसैलाई अनुमति छैन ।

    शर्मिलाको मालिक बिहान ८:२५ बजे निस्किए । उनले आफू ५ मिनेटभित्र बकला आइपुग्ने खबर दिइन् । बकला र घरबीचको दूरी झन्डै ५० मिटर थियो । अलीले बकलाकै अगाडि गाडी लगेर राखे । ५ मिनेटभित्रै दुईवटा झोला बोकेर शर्मिला आइन् । दूतावासलाई पहिलै पठाएको फोटोसँग उनको अनुहार पनि मिल्यो । ‘मान्छे पक्का भएपछि गाडीभित्र राखिहाल्यौं । ढिला नगरी सिधै लेबर कोर्टतिर गयौं,’ उपाध्यायले कान्तिपुरलाई फोनमा भने ।
    ताबुकमा श्रम तथा सामाजिक विकास मन्त्रालयको क्षेत्रीय कार्यालय थियो । बीचमा अलमल गर्ने समय पनि थिएन । नत्र घरमालिकले अर्को चोरीको अभियोग लगाइदिन सक्ने जोखिम थियो । ११ वर्षदेखि बन्धक बनाएर काममा लगाएको भन्दै दूतावासले शर्मिलाका घरमालिकविरुद्ध बिहीबार नै मुद्दा दायर गरेको छ । ‘शारीरिक, मानसिक र आर्थिक शोषणा गरेर घर जान नदिई घरेलु कामदारलाई राख्ने काम भयो,’ उजुरी दर्ता गर्नुअघि उपाध्यायले श्रम कार्यालयका निर्देशकसमक्ष भने, ‘यो त दासत्वको पराकाष्ठा भयो । पीडकमाथि कारबाही हुनुपर्छ । पीडितलाई क्षतिपूर्ति दिइनुपर्छ ।’
    घरमालिकले शर्मिलालाई घरेलु कामदारको हैसियतमा राख्नका लागि आवासीय अनुमतिपत्रसमेत नवीकरण गरिदिएको छैन । यति धेरै वर्षदेखि उनलाई कानुनी हैसियतमा राखेको छैन । उनी उपस्थित हुनासाथ श्रम कार्यालयले घरमालिकलाई बोलायो । दूतावासका अधिकारीहरू देख्नेबित्तिकै उनी नर्भस जस्तै देखिए । घरमा ठूल्ठूलो स्वरले शर्मिलालाई थर्काउने मालिक दूतावासका पदाधिकारीका अगाडि बोल्न असजिलो मानिरहेका थिए ।
    ‘११ वर्षको अवधिमा जम्मा १३ हजार ५ सय ७० रियाल मात्रै तलब दिएको देखिन्छ । त्यो नेपालको खातामा पठाएको हिसाबले देखाउँछ,’ उपाध्यायले भने, ‘९४ महिनाको तलब भने दिइएको छैन ।’ शर्मिलालाई मासिक ५ सय रियाल तलब दिने गरी घरेलु कामदारका रूपमा राखेको मालिकले श्रम कार्यालयमा दाबी गरेका छन् । ‘हामीले सधैं ५ सय रियालको दरले होइन । कम्तीमा पनि अहिलेको हिसाबले बक्यौता तलब, सञ्चित बिदा र हवाई टिकट दिनुपर्छ भनेर दाबी गरेका छौं,’ उपाध्यायले भने, ‘५ सयको दरले दिँदा पनि ४७ हजार रियाल (१५ लाख रुपैयाँ) पाउनुपर्छ ।’
    अहिले साउदीमा घरेलु कामदारको तलब कम्तीमा एक हजार रियाल छ । झापाको मेचीनगर–१ तिरिङकी ५० वर्षीया शर्मिलालाई भारतीय बाटो हुँदै दलालले झापाकै लखनपुर–४ की लीलामाया धिमालको राहदानीमा फोटो परिवर्तन गरी साउदी उडाएको थियो । ‘श्रीमान्, दुई छोरी र छोरालाई छोडेर आएको थिएँ । आएदेखि कहिले पनि परिवारसँग सम्पर्क गर्न दिइएन । नेपाल जान्छु भन्दा सधैं पिट्थ्यो,’ उनले बिहीबार कान्तिपुरसँग फोनमा भनिन्, ‘मैले त आफ्नो ज्यानको माया नै मारिसकेको थिएँ । दूतावासले त्यो नर्कबाट निकालेपछि आफ्नै माइती पुगे जस्तो लागेको छ ।’ उनले पति बन्दाको तीन वर्षअघि मृत्यु भएको खबर भर्खरै पाएकी थिइन् । ‘एक छोरीको पनि विवाह भइसकेको सुनेको छु । छोराको अवस्था ठीक छैन भन्छ,’ उनले भनिन्, ‘परिवारलाई सपार्ने भनेर आएको थिएँ । के भयो के भयो ।’
    कार्यवाहक महावाणिज्यदूत शत्रुघ्न पोखरेलले शर्मिलालाई क्षतिपूर्ति दिलाएर मात्रै नेपाल पठाइने बताए । ‘अहिले उद्धार मात्रै भएको हो । अब क्षतिपूर्तिका लागि कानुनी लडाइँ लडिदिन्छौं । त्यसपछि साउदीबाट निस्कन एक्जिट परमिट चाहिन्छ । त्यो लिन पनि सहज छैन । कति वर्षदेखि कानुनी हैसियत गुमेको छ त्यसको जरिवाना मिनाहा गर्नुपर्छ । श्रमिक भिसा हो कि भिजिट भिसामा आएको हो, यसले पनि जरिवाना निर्धारण गर्छ,’ उनले भने, ‘जरिवाना तिर्ने कुरा भएन । मिनाहा नै गराउनुपर्छ ।’
    साउदीमा घरेलु कामदारका रूपमा कार्यरत नेपाली महिलाको विवरण नेपाल सरकारसँग छैन । भारतीय बाटो हुँदै साउदी जाने भएकाले विवरण नभएको हो । ‘जबसम्म पीडित वा परिवारका सदस्यको तर्फबाट सूचना प्राप्त हुँदैन, तबसम्म हामीलाई केही थाहा हुँदैन । जानकारी भएपछि पनि साउदीको ठूलो भूगोलमा ठेगाना पत्ता लगाउन निकै चुनौती छ,’ उनले भने ।
    भाग्छे भनेर शर्मिलालाई घरमालिकले मोबाइल दिएको थिएन । काममा लगाउनका लागि भनेर केही महिनायता मोबाइल दिए पनि उनीसँग आफन्तका नम्बर थिएनन् । शर्मिलाको सम्पर्क सामाजिक सञ्जालबाट दुबईमा कार्यरत एक नेपालीसँग भयो । उनीमार्फत परिवारसँग सञ्चार सम्पर्क गरेकी थिइन् ।
    आफन्तले उनको उद्धार गरिदिन वैदेशिक रोजगार विभागमा निवेदन दिए । उक्त निवेदन साउदीस्थित नेपाली दूतावासमा पुगेपछि जेद्दास्थित महावाणिज्यदूतको कार्यालयले उद्धारको पहल गरेको हो । ‘दिदीसँग सम्पर्क नभएको वर्षौं भएको थियो । दिदी अझै जिउँदो छे भन्ने लागेकै थिएन । माया मारेका थियौं,’ झापामा रहेका शर्मिलाका भाइ हेमराज मगरले भने, ‘एक्कासि सम्पर्कमा आउनुभयो । हामी निकै खुसी छौं ।’

    साभार :- कान्तिपुर समाचार

    Leave a Reply