
कञ्चनपुर, ५ मंसिर । एक नेपालीको भारतीय जङ्गलमा गाेली हानी हत्या गरिएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका- ५ उर्दीका अन्दाजी ३६ वर्षीय शिवलाल रानाको भारतीय दुदूवा नेशनल पार्कसँगै जाेडिएकाे मझेरी जङ्गलमा गाेली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
हत्याको खबर सुनेलगत्तै नेपालका तर्फबाट स्थानीयसहित इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्ट र भारतीय सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । घटनाको प्रकृति हेर्दा गाेली हानी हत्या नै गरिएको बताइएको छ ।
पारिवारिक स्रोतका अनुसार, राना बुधबार दिउँसो २ बजेतिर घरबाट निस्केका थिए । दिनभर डुल्न गए पनि बेलुकी घर आउने राना अबेरसम्म पनि नआएपछि भाेलिपल्ट बिहानै स-परिवार उनको खाेजीमा जुटेका थिए । खाेज्दैजाँदा पुनर्वास नगरपालिका- ७ स्थित १८३ नम्बर पिलरदेखि करिब ७ सय मिटर भित्र भारतीय क्षेत्र अन्तर्गत पर्ने मझेरी जङ्गलमा उनकाे शव भेटिएको थियो ।
छातीमा प्वाल
मृतक रानाकाे छातीमा वारपार प्वाल परेकाले गाेली हानी हत्या गरिएको आशंका दुवै तर्फका सुरक्षाकर्मीले गरेका छन् । तर पुष्टि भने गरेका छैनन् ।
घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले न्यूज२४ लाई जानकारी दिनुभयो ।
भारतीय वन रक्षकप्रति आशंका
भारतीय जङ्गलमा नेपालीको गाेली हानी हत्या गरिएको बारे यतिबेला स्थानीयले विभिन्न शंका-उपशंकाहरु गरिरहेका छन् । शंकामा भारतीय वन रक्षक हुन सक्ने अनुमान गरिएको छ ।
परिवार स्रोतलाई उद्घाटन गर्दै प्रहरी भन्छ- ‘मृतक रानाकाे मानसिक सन्तुलन त्यति ठिक थिएन । यद्यपि मानसिक अवस्था ठिक नभएको मान्छे जङ्गलतर्फ पस्दा कतै सिकारी साेचेर भारतीय वन रक्षकले गाेली चलाएको त हाेइन ! याे एउटा अनुसन्धानको पाटाे रहन्छ । हामी अनुसन्धान मै छाेैंं । तर घटना भारततर्फ घटेकाले यसमा भारतीय प्रहरी सक्रियता बढी रहन्छ ।’
मृतकका परिवारले घटनाकाे सत्यतथ्य अनुसन्धान गर्न माग अघि सारेका छन् । हत्यारा पत्ता नलगाए कडा संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन् । घटना भारतीय क्षेत्रमा घटेकाले भारतकाे एक अस्पतालमा शवकाे पाेष्टमार्टम भइरहेको प्रहरी निरीक्षक बिष्टले बताउनुभयो ।
यो खबर न्यूज २४ को आजको अनलाइन सष्करणमा छापिएको छ !

