
कविता
एउटा विरामी
पैसाको अभावमा/धरौटीको अभावमा
उपचार त के
अस्पताल छिर्न समेत
नपाई
गेट बाहिर
पिडाले तड्पिरहँदा
उसका विवश आँखा
नियाल्न खोज्दैछ
सरकार कहाँ छ ?
एउटा किसान
कठोर परिश्रमका
वावजुद
समयमा मल,बीउ
केही नपाउँदा
खुईय्य सुस्केरा हाल्दै
सोच्दैछ
सरकार कहाँ छ ?
एउटा ब्यापारी
ब्यापार/ ब्यवसायमा
भोटे ताल्चा मारी
कर तिर्न
किस्ता तिर्न
अनि घरभाडा तिर्न
पैसाको जुगाडमा
चारैदिशा
भौतारिइरहँंदा
उसका पाइलाहरु
खोज्दैछ
सरकार कहाँ छ ?
एउटा गरिब/ मजदुर
साँझ बिहानको
दुई छाक टार्न नसकी
कामको खोजीमा
लखर लखर
सडक गल्ली छिचोल्दै
फुटपाथमा
टुक्रुक्क बसी
पुर्पुरोमा हात राख्दै
सोच्दैछ
सरकार कहाँ छ ?
एउटा डेरावाल
कोठाभाडा तिर्न नसकी
कोठाबाट निकालिइ
फुटपाथ, पार्कमा
आश्रय लिदै
केवल एक छाक
खानाको लागि
रित्तो प्लेट बोकी
ढुकिरहनु पर्दा
उसको अन्तस्करण
भनिरहेछ
सरकार कहाँ छ ?
एउटी नारी
आफ्नो अस्मिता
जोगाउन
नसकी
खेतबारी, बनपाखा
पानी पँधेरोमा
बलात्कृत हुन्छे
अनि मारिन्छे
उनको आत्मा
भनिरहेछ
सरकार कहाँ छ ?
एक आम नागरिक
लामो लकडाउनले
आर्थिक रुपमा
टुटेको
गलेको, खोक्रो भएको बेला
बजारको
मनोमानी र अप्रत्याशित
चरम मुल्यवृद्वीको
सगरमाथा
आरोहण गर्न नसकेर
थचक्क बसी
सोच्दैछ
महंगी नियन्त्रण
गर्छु भन्दै
आँफुले खाईनखाई
तिरेको करमा
रजाइँ गर्ने
सरकार कहाँ छ ?

