सरकार कहाँ छ ?

  • ६ कार्तिक २०७७, बिहीबार १२:२९ मा प्रकाशित
  • बसन्त अनुभव

    कविता
    एउटा विरामी
    पैसाको अभावमा/धरौटीको अभावमा
    उपचार त के
    अस्पताल छिर्न समेत
    नपाई
    गेट बाहिर
    पिडाले तड्पिरहँदा
    उसका विवश आँखा
    नियाल्न खोज्दैछ
    सरकार कहाँ छ ?

    एउटा किसान
    कठोर परिश्रमका
    वावजुद
    समयमा मल,बीउ
    केही नपाउँदा
    खुईय्य सुस्केरा हाल्दै
    सोच्दैछ
    सरकार कहाँ छ ?

    एउटा ब्यापारी
    ब्यापार/ ब्यवसायमा
    भोटे ताल्चा मारी
    कर तिर्न
    किस्ता तिर्न
    अनि घरभाडा तिर्न
    पैसाको जुगाडमा
    चारैदिशा
    भौतारिइरहँंदा
    उसका पाइलाहरु
    खोज्दैछ
    सरकार कहाँ छ ?

    एउटा गरिब/ मजदुर
    साँझ बिहानको
    दुई छाक टार्न नसकी
    कामको खोजीमा
    लखर लखर
    सडक गल्ली छिचोल्दै
    फुटपाथमा
    टुक्रुक्क बसी
    पुर्पुरोमा हात राख्दै
    सोच्दैछ
    सरकार कहाँ छ ?

    एउटा डेरावाल
    कोठाभाडा तिर्न नसकी
    कोठाबाट निकालिइ
    फुटपाथ, पार्कमा
    आश्रय लिदै
    केवल एक छाक
    खानाको लागि
    रित्तो प्लेट बोकी
    ढुकिरहनु पर्दा
    उसको अन्तस्करण
    भनिरहेछ
    सरकार कहाँ छ ?

    एउटी नारी
    आफ्नो अस्मिता
    जोगाउन
    नसकी
    खेतबारी, बनपाखा
    पानी पँधेरोमा
    बलात्कृत हुन्छे
    अनि मारिन्छे
    उनको आत्मा
    भनिरहेछ
    सरकार कहाँ छ ?

    एक आम नागरिक
    लामो लकडाउनले
    आर्थिक रुपमा
    टुटेको
    गलेको, खोक्रो भएको बेला
    बजारको
    मनोमानी र अप्रत्याशित
    चरम मुल्यवृद्वीको
    सगरमाथा
    आरोहण गर्न नसकेर
    थचक्क बसी
    सोच्दैछ
    महंगी नियन्त्रण
    गर्छु भन्दै
    आँफुले खाईनखाई
    तिरेको करमा
    रजाइँ गर्ने
    सरकार कहाँ छ ?

    Leave a Reply