हिन्दुहरुको महान पर्व बडादशै शुरु, आज नवरात्रको पहिलो दिन अर्थात घटस्थापना

  • १ कार्तिक २०७७, शनिबार १५:१० मा प्रकाशित
  • १ कार्तिक
    हिन्दुहरुको महान पर्व बडादशै नेपाली घराआगनमा भित्रिएको छ । आज बडादशैको पहिलो दिन अर्थात नवरात्रको प्रथम दिन जसलाई घटस्थापना भनिन्छ ।

    आज वरिपरि नौ वटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि रोप्ने गरिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा-आजा गरिन्छ।

    ब्रह्मवैवर्त पुराण अनुसार वर्णन गरिएका नव दिग्दुर्गाहरू यी हुन् : प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश। पहिलो दिन शैलपुत्री दोस्रो दिन ब्रह्चारिणी, यसैगरी चन्द्रघन्टा, कुस्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ ।

    षष्ठी तिथिमा विशेष कार्य-: बेलको हाँगामा तेल, हर्दी लेपन गरी देवीबोधन गरिन्छ । सप्तमीका दिन विशेष कार्य-: दसैं घरमा नवपत्रिका प्रवेश गराई भद्रकाली, सरस्वतीको पूजा गरिन्छ । अष्टमीमा विशेष कार्य-:कालरात्रिको विधिवत् पूजा गरी भगवतीको वाहन बाघको पनि पूजा गरिन्छ ।

    खस मष्टपूजकले बाज उडाउने चलन छ । शस्त्रास्त्र -हातहतियार) हरूको पनि पूजा गर्नुपर्छ । महानवमीमा विशेष कार्य-:नवदुर्गा स्वरूप नौ जना कन्याको र दशमीका दिन विहान अपराजिता देवीको पूजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवी-देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालीका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ।

    यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ। आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवी देवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो। गहुँ तथा जौको नवअंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ ।

    नौ रात्रिसम्म पूजा गरेर दशौँ दिन विहान टीका-प्रसाद ग्रहण गरे पछि बचेका अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुने कुरा वनौषधिविज्ञहरूको छ । जौका जमरालाई महौषधि भनिएको छ ।

    निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन् । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ ।

    यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा,आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती -चण्डी), स्त्रोत्र रत्नावली, कालीका स्तोत्र, दुर्गा कवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ।

    पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ। पूजक अनुसार वलि दुई प्रकारको हुन्छ | श्रौतयज्ञानुसारको पशु वलि र साकाहारीहरूले प्रदान गर्ने नरिवल ऊखु कुभिण्डो आदि स्मार्तवलि | वलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ।

    Leave a Reply