
यही अक्टोबर १६ र १७ गते हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को सातौं मध्यपूर्व क्षेत्रीय भेलालाई परराष्ट्रमन्त्री ज्ञवालीले उदघाटन गर्ने भएका छन् ।
एनआरएनएको राष्ट्रिय समन्वय परिषद् कतार दोहाबाट आयोजना हुन लागेको भर्चुअल भेलामार्फत मध्यपूर्वमा रहेका नेपालीहरुको ज्ञानसीपलाई नेपालले भरपुर सदुपयोग गर्न सोही अनुरुपको खाका बनाएर सरकारलाई झकझक्याउनुपर्ने सुझाव दिएका हुन्।मध्यपूर्वका देशमा रहेका नेपालीहरुको समस्या पहिचान गर्नेमात्र नभइ संभावनाहरु पनि खोजिनुपर्ने एनआरएन अभियन्ताहरुले सुझाव दिएका छन्।
एनआरएनए प्रवक्ता डिबी क्षेत्रीले एनआरएको आगामी कार्यदिशा र स्मार्ट एनआरएनए कस्तो बनाउने भन्ने विषयमा भेलामा ब्यापक छलफल हुनुपर्ने बताए। ‘मध्यपूर्वका देशमा रोजगारीका पुगेका नेपालीहरुलाई विचरा र मध्यम बर्गीय भन्नुभन्दा पनि स्वावलम्वी नेपाली भनेर सम्बोधन गर्नु जरुरी छ’, उनले भने, ‘हाम्रो सीप, पूँजी र वर्गलाई नीति निर्माण तहमा पु-याउन भेलाले घनीभूत छलफल हुनु जरुरी छ।
बुधबार ग्लोबल नेप्लिज न्युज नेटवर्क (जिएनएनएन)ले आयोजना गरेको पत्रकार सम्मेलनमा एनआरएनए आइसीसी सचिव आरके शर्माले मध्यपूर्वका नेपालीहरुमा समस्या होइन संभावना र ज्ञान, सीप पनि रहेकाले सोही अनुरुपको खाका तयार गरिनुपर्ने औंल्याए। उनले भने, ‘हामीले पठाएको रेमिट्यान्स राष्ट्र निर्माणमा लगाउन इच्छुक छौं। भौतिक निर्माणका लागि लगानी गर्न हामी तयार छौं। त्यसैले हामी संभावना पहिचना गरौं।
एनआरएनए कतारका अध्यक्ष मोहम्मद मोक्तदा मुसलमानले मध्यपूर्वमा सपना बोकेर आउने नेपालीहरुको सीपलाई कसरी ब्यवस्थापन गर्नेभन्ने बारेमा ब्यापक बहस हुनुपर्ने बताए। भेलाबाट निस्केको निष्कर्षलाई नेपाल सरकारसँग पुराउनु पर्ने र सीप सिकेर नेपाल पुगेकालाई स्वरोजगारको ब्यवस्था गर्न सरकारलाई दबाब दिनुपर्ने बताए।
पत्रकार सम्मेलनमार्फत एनआरएनए मध्यपूर्व संयोजक प्रविण गुरुङका साथै उप संयोजकद्वय मनोज गोर्खाली तथा राजेन्द्र अर्याल (जोन)ले मध्यपूर्वका नेपालीहरुका समस्या र संभावना, स्वदेश फर्किएका नेपालीहरुले सिकेको सीपलाई सदुपयोग गर्न सोही अनुरुपको खाका भेलाले तयार पार्ने जानकारी दिए।
एनआरएनए बहराइनकी अध्यक्ष लक्ष्मी गिरिले चोरबाटो भएर खाडी मुलुकमा नेपाली चेलीहरुलाई ल्याउने र घरेलु हिंसा गर्नेक्रमलाई रोक्नेगरी खाका तयार गर्नुपर्ने सुझाव दिइन्। कोभिडका कारण रोजगारी गुमाएर स्वदेश पुगेका नेपालीहरुलाई स्वरोजगारको ब्यवस्था गर्न दबाब सिर्जना गर्नुपर्ने बताइन्।
कोभिडका कारण मध्यपूर्वबाट झण्डै एक लाखको हाराहारीमा नेपालीहरु फर्किएकाले उनीहरुको व्यवस्थापन गर्न सरकारलाई दबाब दिनेगरी खाका तयार गर्नुपर्ने सुझाव दिइएको थियो।
कार्यक्रममा धारणा राख्ने अधिकांश वक्ताहरुले कोभिडको महामारीमा नेपाल सरकारको भूमिका जिम्मेवार नभएको, नेपालीहरुको समयमा उद्धार गर्न सरकार चुकेको र उदासीन बनेको बताएका थिए। यस्ता विषयमा आगामी भेलाले गम्भीर छलफल गर्नुपर्ने सुझाव दिए। हिमाली संचार बाट।

