
मुग्लिन । चितवन इच्छाकाना गाउँपालिका वडा नं. ६ स्थित पाँचकिलोमा पहिरो जाँदा आठ घरमा क्षति पुगेको छ।
सोमबार राति परेको वर्षाले मुग्लिन नारायणगढ सडकको माथिबाट आएको लेदोले सडक छेवैमा रहेको घरहरूमा क्षति पुर्याएको हो। सडकभन्दा माथि रहेको राष्ट्रिय आधारभूत विद्यालय पैरेनीबाट बग्दै आएको लेदोले बस्तीमा क्षति पुगेको स्थानीय पत्रकार विनोद श्रेष्ठले जानकारी दिए । पहिरोले मानवीय क्षति भने भएको छैन। घर बगाएपछि विस्थापित परिवार सुरक्षित स्थानतर्फ गएका छन्।
पहिरोले म्याजिक भ्यान, बलेरोलगायत चारवटा सवारीसाधनसमेत बगाएको बुझिएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनले घटनाको यथार्थ विवरण संकलन गर्ने क्रममा रहेको जानकारी दिएको छ। चारकिलोमा सोमबार बिहानैदेखि पहिरो खसेर बाटो अवरूद्ध भएका कारण पाँचकिलोसम्म प्रहरी पुग्न नसकेको मुग्लिनका प्रहरी निरीक्षक कञ्चन खनालले जानकारी दिए।

‘हिजो बिहान गएको पहिरो साँझसम्ममा एकतर्फी खुलाएका थियौँ, राति फेरि पहिरो झरेपछि अवरूद्ध भएको छ,’ उनले भने, ‘बाटोकै कारण खबर आए पनि घटास्थलतर्फ पुग्न सकेका छैनौँ।’ समाचार आजको चितवन पोस्टमा छापिएको छ।

