
काठमाडौं । नेकपाभित्र आन्तरिक शक्ति संघर्ष चुलिँदै गएको बेला भारतको एक उच्चस्तरीय टोली नेपाल आएको छ । उच्च राजनीतिक स्रोत अनुसार भारतको नेसनल सेक्युरिटी एजेन्सीका प्रतिनिधिहरु नेपाल आएका हुन् ।
‘सरकारको जानकारीमै यो टोली आएको हुनसक्छ’– एक सुरक्षा स्रोतले सनराइज खबरलाई बतायो । उनका अनुसार सशस्त्र प्रहरी बलको जानकारीमा यो टोली छ ।
सो टोलीमा रहेकाहरुको नाम प्राप्त हुन सकेको छैन । तीन दिन अघि आएको सो टोली काठमाडौंको एक होटलमा बसेको बताइएको छ । स्रोत अनुसार सो टोलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसँग सोल्टी होटलमा सामूहिक छलफल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसका नेताद्धय विमलेन्द्र निधी र कृष्णप्रसाद सिटौलासँग पनि सो टोलीले बेग्लाबेग्लै भेट गरेको बुझिएको छ । सो सामूहिक भेटमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी हुनुभएको बुझिएको छ ।
तर, यो टोलीले सरकारमा रहेकाहरुसँग भने अहिलेसम्म भेट नगरेको बुझिएको छ ।
भारतीय नेशनल सेक्युरिटी एजेन्सी त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलको मातहतमा रहेको छ ।
नेशनल सेक्युरिटी एजेन्सीले नेपालमा केही समय पहिलेदेखि भारतीय गुप्तचर संस्था रअ भन्दा बेग्लै ढंगले काम गर्दै आइरहेको छ । त्यसैगरी सत्तारुढ नेकपाका विभिन्न नेतासँग भेटघाट गर्ने भारतीय टोली ललितपुरको भिभान्ता होटल र काठमाडौंको मेरियट होटलमा पनि बसेको बुझिएको छ ।
नेपालमा राजनीतिक अस्थिरता बढ्नु अघि र बढेपछि भारतीय सुरक्षा निकायहरु सक्रिय हुने गरेका छन् । केही समय यता भारतीयहरुले आफ्ना सरकार विरोधी मोर्चा काठमाडौंमा सिर्जना गर्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफ्नो सरकार गिराउन चलखेल गरेको भनेर खुलेरै बताउनुभएको थियो ।
Source:- sunrisekhabar.com

