काठमाडौ, २६ असार

काठमाडौ उपत्यकामा रहेका ३ अस्पताल- त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालले हालसम्म २३ सय जना भन्दा बढीको सशुल्क पिसिआर परिक्षण गरेका छन ।
जसमध्ये त्रिवि शिक्षण अस्पतालले ९ सय जना, वीर अस्पतालले ७ सय जना र पाटन अस्पतालले ७ सय जनाभन्दा बढिको पिसिआर परिक्षण गरेको जनाएको छ । हाल त्रिवि शिक्षण अस्पतालमा दैनिक २ देखि ३ जना र वीर अस्पतालमा दैनिक ४/५ जना सशुल्क पिसिआर परिक्षणका लागि आउने गरेको अस्पतालले जनाएको छ । पिसिआर परीक्षणका लागि सरकारले तोके बमोजिम ५ हजार ५ सय रुपैया लिने गरेका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठ २० गते ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ सम्बन्धि मापदण्ड निर्धारण गरे सँगै पिसिआर परीक्षणको दायरा खुम्चिन पुगेको छ । मापदण्ड बमोजिम अब केबल लक्षण भएका (ज्वरो, खोकी आदि), संक्रमित व्यक्तिको सम्पर्कमा आएका र अस्पतालमा भर्ना गर्नुपर्ने प्रकृतिका व्यक्तिको मात्र सरकारले पिसिआर परीक्षण गर्ने भनेको छ र गर्दै आएको छ।
तर सरकारको निश्चित मापदण्ड र दायराभित्र नपर्ने व्यक्तिले पनि परीक्षण गर्न चाहेमा निश्चित रकम तिरेर (सशुल्क) पिसिआर परीक्षण सकिने भन्दै काठमाडौ उपत्यकाका उक्त अस्पताललाई सशुल्क पिसिआर परीक्षण गर्न अनुमती दिएको थियो । जहाँ कुनै ट्राभल हिस्ट्री नभएको, जोखिममा नपर्ने तर आफूलाई शंका लागेका व्यक्तिले सशुल्क पिसिआर परीक्षण गर्न पाउँछन्।
काठमाडौं उपत्यकाका अस्पतालमा मात्र सशुल्क पिसिआर परीक्षण हुँदै आएकोमा अब प्रत्येक प्रदेशमा पनि हुने भएको छ। यही असार २४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकको निर्णय बमोजिम प्रत्येक प्रदेशका एक एकवटा प्रयोगशालाले सशुल्क परीक्षणको अनुमति पाउने भएका छन ।
मन्त्रीस्तरीय निर्णय अनुसार प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, प्रदेश ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णालीमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिमा प्रादेशिक प्रयोगशाला धनगढीले सशुल्क परीक्षणका लागि स्वीकृति पाएका छन ।
बागमती प्रदेशमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालले पहिल्यै अनुमती प्राप्त गरि सशुल्क परीक्षण गर्दै आएका थिए । अब नेपालमा सशुल्क पिसिआर परिक्षण गर्न पाउने अनुमती प्राप्त संस्था ९ पुगेको छ ।

