जुलाई १९, २०२०, भर्जिनिया, अमेरिका
प्रेस नोट
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कारण अन्य क्षेत्रहरु जस्तै नेपाली संचार जगत पनि प्रत्यक्ष रुपमा प्रभावित भएको छ । प्रारम्भिक प्रतिवेदनहरुले नेपालवाट प्रकाशित तथा प्रसारित हुने ७ सय भन्दा बढी संचार माध्यमहरु कोभिड १९ को कारण पूर्णत संचालनमा नरहेका देखाएको छ । सञ्चार माध्यमहरु वन्द हुने तथा सञ्चालनमा रहेका सञ्चार माध्यमहरुले वजार तथा विज्ञापनमा ह्रास आएको कारण देखाउंदै पत्रकारहरुलाई निस्कासन गर्ने, वेतलवी विदामा वस्न दवाव दिने तथा कार्यरत पत्रकारहरुलाई यसअघि पाइरहेको तलवमा ५० प्रतिशत भन्दा वढी कटौति गर्ने गर्दा देशभरमा २ हजारको हाराहारीमा पत्रकारहरुको दैनिक जीवन यापनमा समस्या भएको छ।
कतिपय सानो लगानीका सञ्चार माध्यमहरु वजार तथा विज्ञापनमा आएको ह्रासको कारण प्रत्यक्ष रुपमा संकटमा परेको कुरालाई नजर अन्दाज गर्न सकिदैन तर वैकल्पिक उपायहरु नखोजी संकटमा पत्रकारहरुलाई आवद्धताबाटै हटाउनु पक्कै पनि उचित कदम भने हुन सक्दैन ।
कतिपय लामो समयसम्म फाइदामा सञ्चालित ठूला ब्यवसायिक घरानाका सञ्चार माध्यमहरुले यो महामारीलाई आधार मानी पत्रकारहरुलाई निकाल्ने र आफ्ना शाखा प्रकाशन बन्द गर्ने अवसरको रुपमा उपयोग गरेको पनि महसुस भएको छ । प्रारम्भिक तथ्यांक अनुसार नेपालभरीमा करीव २ हजार र काठमाडौ उपत्यकामा मात्रै करिव ५ सय बढी पत्रकारहरु आर्थिक संकटमा परेको अनुमानित तथ्यांक पत्रकारिता सम्वद्ध संस्थाहरुको रिपोर्टले देखाएको छ ।
महामारीका कारण सञ्चार माध्यमहरु वन्द हुनु वा पत्रकारहरुको दैनिक जीवनयापन हुन नसक्ने अवस्था सिर्जना हुनु दुखदायी क्षण हो ।आवाजविहीनहरुका आवाज वनिरहेका पत्रकारहरु अहिले भने आफैं आवाजविहीन वनेको अवस्था छ । नेपाल सरकारले अहिलेसम्म संकटमा परेका पत्रकार लगायत अन्य पेशाकर्मीहरुका लागि कुनै पनि अल्पकालीन र दीर्घकालीन राहत योजना सार्वजनिक गरेको छैन । नेपालजस्ता विकासोन्मुख देशमा संकटको समयमा सञ्चार माध्यमको भूमिका अझ प्रभावकारी हुन जरुरी छ र यदि प्रेस सवल हुन सकेन भने एकातिर देशमा शक्ति सन्तुलन कायम हुन सक्दैन र सरकार अराजक वन्ने संभावना वढ्दै जान्छ भने अर्कोतिर संचार जगत कमजोर हुंदा प्रजातन्त्र पनि अति कमजोर हुंदै जाने सम्भावना प्रवल रहन्छ ।
नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले यस गम्भीर संकटको अवस्थामा पत्रकारहरुको रोजीरोटीको समस्यालाई हल गर्न अल्पकालिन र दीर्घकालिन विशेष अभियान सुरु गर्न गइरहेको जानकारी गराउन चाहन्छौं । यो अल्पकालिन अभियान अन्तर्गत इञ्जाले एक लाख अमेरिकी डलरको लक्ष्य राखी एक गोफन्डमि खाता (https://gf.me/u/yg424k) समेत खोलेर सहयोग जुटाउने काम सुरु गरेको छ। संकटको समयमा संचार र संचारकर्मीहरुको पेशागत सुरक्षा हुन नसकेको अवस्थामा यो गोफन्ड खातामा सहयोग गरी नेपालको संचार, वाक स्वतन्त्रता र प्रजातन्त्रलाई टेवा पुर्याइदिनुहुन हार्दिक आग्रह गर्दछौं ।
यो खातामा संकलित रकम सोझै समस्यामा रहेका संचार माध्यम र संचारकर्मीहरुलाई एउटा पारदर्शी माध्यमबाट प्रदान गरिनेछ । यसकालागी बरिष्ठ पत्रकारद्वय तिर्थ कोइराला, तारानाथ दाहाल तथा टंक पन्त सहितको एक उच्च स्तरिय कमिटिले ईञ्जाबाट स्थापित बिधि/प्रकृया अनुरुप सिफारिस गरी सङ्कलित सहयोग रकमलाइ प्राथमिकताका आधारमा तिन चरणमा उपलब्ध गराउने छ। इञ्जाले यस उदेश्यकालागि गोफन्डमिको अलावा व्यक्तिगत वा संस्थागत सहयोगलाई पनि स्वीकार गरेको छ । इञ्जाले दीर्घकालीन अभियान अन्तर्गत आयोजना निर्माण गर्दै रहेको र विभिन्न दातृ निकायहरुसंग पनि सहकार्यको पहल गरिरहेको जानकारी गराउदछौ। नेपाली पत्रकारहरुलाई संकटमुक्त गर्ने यो अभियानमा सरिक भइदिनुहुन र अन्य महानुभावहरुलाई पनि सहयोगका लागि प्रेरित गरिदिनु हुन हार्दिक अपिल गरिन्छ ।
अन्तमा , पिडा /समस्यामा परेका पत्रकार मित्रहरुले ईञ्जाले निर्माण गरेको अनलाइन फर्म (https://injaglobal.org/coronavirus-english) भरेर आफ्नो अवस्था अवगत गराउन अनुरोध गर्दछ। यसका लागि तलको लिङ्कमा गएर आफ्नो बिबरण भर्न सकिने छ। धन्यवाद।

