दाङ, २५ असार

वर्षायाम शुरु हुने बित्तिकै दाङ जिल्लाको लमही तुलसीपुर सडकखण्डका अधिकांश खोलाहरुमा आउने बाढीले यातायात अवरुद्ध गर्ने गर्दछन । बाढीले बगाउँदा कतिपय मानिसहरूले अकालमा ज्यान गुमाउनु परेको छ ।
विगत केही वर्ष यता केही खोलाहरुमा पुल निर्माण गरिएको छ भने केही निर्माणाधीन अवस्थामा छ । निर्माण सप्पन्न भइसकेका केही पुलहरुमा खाल्डाखुल्डी हुँदा र पुलको दायाँ र बायाँ त्यसै खाली छोडिदिदा मोटरसाइकल, स्कुटी लगायत साना सवारीसाधनमा सवार यात्रुले निकै सास्ती भोग्नु परेको छ । तिनले दुर्घटना समेत निम्त्याउने गरेका छन ।

घोराही तुलसीपुर सडकखण्डमा पर्ने तिनवटा खोलाहरु पत्रेखोला, हापुर खोला र सेवार खोलामा अझै पुल बन्न बाकी रहेको छ । पत्रेखोलामा बर्षौ पहिलेदेखि पुल निर्माण कार्य शुरु गरेपनि निर्माण हुन सकिरहेको छैन । निर्माणका क्रममा खोलाको कचवेमा क्षति पुगि खाल्डाखुल्डी बन्दा आवतजावत कठिन हुनपुगेको छ । खोलामा बाढी आएको बेला कचवेको खाल्डाखुल्डी र पुलका लागि निर्मित पिलरले पानीको बहाव एकत्रित गरिदिदा कठिनाइ अझै बढाउने गरेको छ ।
पुल बनाउने ठेक्का पाएको ठेकदार कम्पनीले विगत ३/४ वर्षमा खाली दुईवटा पिलर बनाउने बाहेक केही गर्न सकेको छैन । वर्षेनी यी खोलामा बाढी आई यातायात आवागमन अवरुद्ध हुनुका साथै मानवीय क्षति हुँदा पनि सरोकारवाला निकाय कानमा तेल हालेर सुतेको छ । छिट्टै सरोकारवाला निकायको निद्रा खुलोस शुभकामना ।

