संवाददाता

काठमाडौँ |गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडाले १४ जुन २०२० का दिन एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारले प्रतिनिधि सभामा टेबल गरेको लिम्पियाधुरा सहितका भूभाग समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन विधेयक प्रस्ताव संसदले शनिबार सर्वसम्मत रुपमा पास गरिएको निर्णयलाई स्वागत गरेको छ ।
गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडाले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण पाठ:
प्रेस विज्ञप्ति ।
नेपालको प्रतिनिधिसभाबाट २०७७ जेष्ठ ३१ गते सर्वसम्मतीले पारित राष्ट्रीय निशाना छापलाई महाकाली नदी पूर्वको लिम्पियाधुरा, कालापानी, लिपुलेक लगाएत भूभाग समेटेर जारी गरिएको नयाँ नक्सा अनुकूल बनाउने संबन्धी संविधान संशोधन विधेयकलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडा हार्दिक स्वागत गर्दछ।
संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित हुँदा नेपालको राष्ट्रीयता र संप्रभुताको पक्षमा सबै राजनितिक दलहरु एकताबद्ध छन भन्ने युगान्तकारी सन्देश प्रवाह भएको छ । यसले देश भित्र र प्रवाशमा रहेका समस्त नेपालीहरु गौरवान्वित भएका छन।
संविधान संशोधनसम्बन्धी उक्त विधेयक सर्वसम्मतीले पारित गराउन सम्पूर्ण राजनीतिक दलहरुकाबीच अभूतपूर्व राष्ट्रीय एकता कायम गराउन सम्मनानीय प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले कुशल नेतृत्व प्रदर्शन गरेको छ ।
यस अभियानमा भूमिका खेल्नुहुने संपूर्ण राजनीतिक दल हरुका साथै स्वदेश तथा विदेशमा रहेर आवज बुलन्द गर्ने नेपालीहरुलाई हामी धन्यवाद दिन चाहन्छौं ।
राजनीतिक तथा कूटनीतिक कौशलता पुर्ण सम्वाद मार्फत् भारतद्वारा अतिक्रमित नेपाली भूमि भोगचलनमा ल्याउन यो एकताबद्ध पहलकदमी निरन्तर अघि बढ्ने विश्वास एनआरएनए क्यानाडाले लिएको छ । साथै अतिक्रमित भुमी समेटेर नयाँ नक्सा जारी गर्ने र राष्ट्रको निसाना छापलाई नयाँ नक्सामा समेट्ने कार्यमा देशभित्र र संसारभरी छरिएर रहेका नेपालीहरुबीच देखिएको अभूतपूर्व एकता समृद्ध नेपाल निर्माणको अभियानमा अक्षुण्ण रहोस भनि शुभकामना व्यक्त गर्न चाहन्छौं ।


