
बेंसीसहर : लमजुङका क्वारेन्टाइनमा बस्दै आएकाले कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षण पीसीआर रिपोर्ट आउन ढिलाइ भएको भन्दै आन्दोलन गरेका छन् । क्वारेन्टाइनमा लामो समयसम्म बस्नुपरेको र स्वाब लिएको दुई हप्ता पुग्न लाग्दा पनि रिपोर्ट नआएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
थ्रोट स्वाब लिएको लामो समयसम्म पनि रिर्पोट नआउँदा आफूहरु समस्यामा परेको उनीहरुले बताएका छन् । भारतबाट आएका राइनास नगरपालिका ६ का नबराज तामाङले २० दिनसम्म क्वारेन्टाइनमा बस्दा पनि रिर्पोट नआएको बताए ।
आफूहरुको रिपोर्ट आउन ढिलाइ भएको विषयमा स्थानीय सरकार, प्रशासनले ध्यान नदिएको उनीहरुको आरोप छ । क्वारेन्टाइनमा बसेका मनबहादुर गुरुङले लामो समयसम्म रिपोर्ट नआउँदा मानसिक चिन्ता बढेको बताए । ‘दैनिक मान्छे थपिएका छन् । २० दिन बस्दा पनि रिपोट आउँदैन । नयाँ आउनेबाट संक्रमित भइने हो कि भन्ने चिन्ताले सताएको छ’, गुरुङले भने ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा जिल्लाजिल्लाबाट परीक्षणका लागि पठाइएकाले रिर्पोट आउन केही ढिला भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । उनका अनुसार लमजुङभन्दा अन्य जिल्ला जोखिममा रहेको र धेरै संख्यामा पीसीआर परीक्षण गनुपर्ने भएकाले लमजुङबाट पठाइएको रिपोर्ट ढिला भएको हो ।
स्वाब पठाइएका ५९ जनाको अझै रिपोर्ट आएको छैन । जिल्लाबाट हालसम्म २ सय ५२ जनाको थ्रोट स्वाब पोखरा पठाइएको छ । १ सय ८७ जनाको रिर्पोट नेगेटिभ आएको छ । अन्यको आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अन्नपूर्ण पोस्ट

