एनआरएनएको दबाबमा सरकारद्वारा सबै विमान सेवालाई टिकट बेच्न खुल्ला

  • ३० जेष्ठ २०७७, शुक्रबार २२:३६ मा प्रकाशित
  • संवाददाता

    साउदी अरब। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आग्रहमा नेपाल सरकारले चार्टर्ड फ्लाइट भाडा दर रद्द गर्दै प्रतिस्पर्द्धाका आधारमा अन्य विमान सेवाहरुलाई समेत टिकट बेच्न खुल्ला गरिदिएको छ ।

    गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले चार्टर्ड फ्लाइटको टिकट दर महंगो भएको भन्दै आलोचना भए पछि सो निर्णय फिर्ता लिएको हो । अब अन्य एयरलाइन्सहरुले आआफ्नो हिसावले टिकट बिक्री गर्न पाउने छन् ।

    “विदेशमा अफ्ठेरोमा परेर स्वदेश फर्किनुपर्ने नेपालीलाई तोकेको भाडा महँगो भएकाले पुनरावलोकनका लागि हाम्रो निरन्तरको आग्रह पश्चात् सरकारले केही सकारात्मक निर्णय गरेको छ । सम्बन्धित देशका दूतावासको संयोजनमा विमान चार्टर गर्ने र प्रतिस्पर्धी मूल्यमा टिकट प्राप्त गर्न सक्ने गरी निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेज्यूले बताउनुभएको छ । यसका लागि हामी नेपाल सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छौं,” पन्तले भने।

    अध्यक्ष पन्तले नेपाल फिर्तिको लागि नेपाल सरकारले तोकेको भाडा दरको निर्णय नेपाल सरकारले पुनरावलोकन गरे पछि अब सस्तो भन्दा सस्तो जहाज भाडामा लिएर लैजान सकिने बताए ।

    उनले आवश्यक परे गैरआवासीय नेपाली संघ आफै हवाईजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धारको लागि तयार रहेको बताए । अध्यक्ष पन्तले कोरोना महामारीमा संघले महत्वपूर्ण भूमिका खेलेको कारणले हजारौंको संख्यामा नेपालीहरु लाभान्वित भएको जानकारी दिए ।

    उनले भारतबाट नेपाल आउने क्रममा नेपाल भारत सीमामा धेरै नेपालीले दुःख पाएको भन्दै त्यहांको भयावह स्थितीको बारेमा चिन्ता व्यक्त गरे ।

    पन्तले गैरआवासीय नेपाली संघले उनीहरुको लागि तत्काल राहत वितरणको तयारी गरेको जानकारी दिए । उनले मध्यपूर्व लगायतका देशमा रहेका श्रमिकहरुको उद्धारको काम शुरु गर्नु स्वागत योग्य कदम भएको बताए ।

    गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रवार आयोजित अनलाइन अन्तरक्रियालाई सम्वोधन गर्दै संघका महासचिव डा. हेम राज शर्माले विदेशबाट फर्किने नेपालीहरुको व्यवस्थापनमा नेपाल सरकारले पर्याप्त तयारी गर्नु पर्नेमा जोड दिए । उनले नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच सहकार्य गरेर विदेशबाट फर्किएका नेपालीहरुलाई नेपालमा पुनःस्थापना गर्न सकिने विचार व्यक्त गरे । यसअघि नेपाल सरकारले कोरोनो भाइरसका कारणले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न टिकट दर आफैले तोके पछि सो निर्णय विवादमा भएको थियो ।

    संघका उपाध्यक्ष डा. बद्री केसीले कोरोना भाइरसको महामारीमा संघले खेलेको भूमिकाका कारण विदेशमा नेपालहरु अलपत्र हुनबाट बचेको बताए । उनले विदेशमा नेपालीहरुको शव ठूलो संख्यामा अलपत्र रहेको र त्यसको व्यवस्थापन गर्न चुनौति रहेको बताए ।

    कार्यक्रममा गैरआवासीय नेपाली संघका सचिव आरके शर्माले मध्यपूर्वमा रहेका नेपालीहरुका समस्याका बारेमा आफ्ना भनाईहरु राखेका थिए ।

    कार्यक्रमको संयोजन संघका प्रवक्ता डिबी क्षेत्रीले गरेका थिए ।

    नेपालीहरु फ्लाइट चार्टर गरेर स्वदेश फर्कन सक्ने नेपाल सरकारको निर्णय

    गैर आवसिय नेपाली संघले आज १२ जुन २०२० शुक्रवारका दिन सामाजिक संजाल जूम भिडीयो कन्फरेन्स मार्फत प्रेस मिट कार्यक्रम सम्पन्न गरेको छ । उक्त प्रेस मिटमा संघका उपाध्यक्ष तथा बैदेशिक रोजगार तथा मानव कल्याणकारी कार्यदलका संयोजक डा बद्रि केसीले मिडिया टिम संग ब्रिफिंग गर्दै कोभिड १९ को विश्वब्यापी अवस्था, विदेशबाट स्वदेश फर्कने नेपालीहरुको लागि भएका प्रयास, गतिबिधि र पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो।

    सोही क्रममा संघका अध्यक्ष कुमार पन्तले नेपाल सरकारले अब फ्लाइट चार्टर गरेर पनि नेपाल आउन सकिने बाटो खोलिदिएको जानकारी गराउनु भएको हो ।

    अध्यक्ष पन्तका अनुसार शुक्रवार बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकले चार्टर्ड फ्लाइट गरेर स्वदेश फर्कन पाउने निर्णय गरेको हो। यसका लागि संबन्धित देशको राजदूताबासलाई अन्तरिक सर्कुलर भएको समेत नेपाल सरकारबाट भएको कुरा अध्यक्ष पन्तले जानकारी गराउनुभयो।

    गैरआवासीय नेपाली संघको पहलमा नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुले चार्टर्ड फ्लाइट लिएर स्वदेश फर्कन पाउने निर्णय गरेको छ। यस अधि नेपाल सरकारले विभिन्न देशका लागि महँगो र अन्य निशुल्क ल्याइदिने एयरलाइन्सलाई पनि उडान तथा अवतरणको अनुमति दिएको थिएन।

    एनआरएनए अध्यक्ष कुमार पन्त, उपाध्यक्ष तथा बैदेशिक रोजगार तथा मानव कल्याणकारी कार्यदलका संयोजक डा बद्रि केसी, महासचिव डा. हेमराज शर्मा, सचिव राजेन्द्र कुमार शर्मा र मिडिया टिमका सदस्यहरुको उपस्थिति रहेको उक्त प्रेस मिट प्रवक्ता डिबी क्षेत्रीको संयोजन तथा संचालन भएको थियो ।

    0 thoughts on “एनआरएनएको दबाबमा सरकारद्वारा सबै विमान सेवालाई टिकट बेच्न खुल्ला

    1. If Nepalese government open commercial flight that is good, till date lots of peoples are stock in Nepal. Commercial flight make easy who want to back there own country.

    Leave a Reply