अहिले हिसाबको होइन, कोरोनाको चिन्ता गरौं : प्रधानमन्त्री

  • २८ जेष्ठ २०७७, बुधबार १५:५१ मा प्रकाशित
  • बुधबार संसद्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनका क्रममा मल्टिपल एक्सपोजर विधिबाट खिचिएको तस्बिर । फोटो : दीपक केसी/कान्तिपुर

    कठिन अवस्थामा पनि अनियमितता भएको छ भने सहिन्न’

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भएको खर्चमा अनियमितता गरेको पाइएमा कारबाही गर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले सांसदहरूले कोरोना रोकथाम र नियन्त्रणमा अनियमितता भएको भनेर उठाएका प्रश्नको जवाफ दिँदै त्यसो गरेको पाइएमा कानुनको कठघरामा उभ्याइने बताएका हुन् । 

    केही सांसदहरूले जे कुरामा पनि अनियमितता भएको आरोप लगाउने गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि पनि जनाएका थिए । सांसदहरूले स्वास्थ्य सामग्री खरिदका क्रममा अनियमितता भएको र केही कर्मचारीलाई सरुवा गरेर त्यसबाट जोगिन खोजेको आरोप लगाएका थिए ।

    जवाफमा प्रधानमन्त्रीले भने, ‘कतिपयले यसमा अनियमितता भयो भन्ने सुनेका कुराहरूलाई उठाउनुभएको छ । कतिपयले यस्तो भन्ने रुचि पनि राख्नुहुन्छ, जेमा पनि अनियमितता भयो भन्ने र लान्छित गर्ने गर्नुहुन्छ । त्यसमा भर नपर्न आग्रह गर्दछु ।’

    प्रधानमन्त्रीले भने, ‘कुनै पनि अनियमितता, अपारदर्शिता, भ्रष्टाचारजस्ता कुराहरू सरकारले सहँदैन। छानबिन गर्छ, कारबाही गर्छ । कठघरामा उभ्याइन्छ । दोषी पाइएमा दण्डित गरिन्छ ।’

    ‘सरकारका हरहिसाबको प्रतिवेदन राष्ट्रपति र संसद्‍मा आउँछ । आन्तरिक लेखा परीक्षण हुन्छ । अहिले हिसाबको चिन्ता नगरौं, कोरोनाको चिन्ता गरौं । कहीँकतै अनियमितता भएकै हुँदैन भनेर दाबी गर्दैन तर भएकै छ भनेर पनि भन्दिनँ,’ उनले थपे, ‘यस्तो महामारीको बेला पनि कोही भ्रष्टाचारमा संलग्न भएको छ । यस्तो कठिन अवस्थामा पनि अनियमितता भएको छ भने सहिन्न ।’

    कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले गरेको १० अर्ब खर्चको हिसाब देखाउन प्रमुख प्रतिपक्षी कांग्रेसले मंगलबारको बैठकमा माग गरेको थियो । जवाफमा प्रधानमन्त्रीले हिसाब देखाउने आफ्नै प्रणाली रहेको बताए । उनले संघीय सरकारले स्थानीय तह र प्रदेश सरकारलाई बजेट पठाइएको र दिनदिनै लेखा परीक्षण नहुने धारणा राखेका थिए ।

    मुलुकमा दैनिक ५ हजारसम्म पीसीआर परीक्षण भइरहेको प्रधानमन्त्रीले जानकारी दिए । विदेशबाट दैनिक ८ हजारसम्म मानिस आइरहेकाले समस्या भएको उनको भनाइ थिय । उनले सरकारले कोरोनासँग लड्ने क्षमता विकास गरिरहेको बताए । कान्तिपुर संवाददाता

    Leave a Reply