बसन्त अनुभव

कमिरेचौर,१३ असार ।
मुलुकमा ब्याप्त कोरोना महामारीको कहर विचमा पनि बंगलाचुली गाउँपालिकाले विभिन्न ब्यक्ति तथा संघसंस्थाहरूबाट सहयोग प्राप्त गर्ने क्रम जारी रहेको छ । संघिय संसदका पुर्व सभामुख तथा दाङ क्षेत्र नं.-२ का सभासद् कृष्ण बहादुर महराले पुनः विभिन्न मेडिकलजन्य सामग्रीहरु सहयोग गर्नु भएको छ ।
उहाँले सहयोग गर्नु भएको सामग्रीमा सर्जिकल माक्स २०० थान,पिपिई सेट ५० थान आदि रहेको छ । साथै उहाँले थप सामग्रीहरु पनि सहयोग गर्ने प्रतिवद्दता जनाउनु भएको छ । पुर्व सभामुख महराले शनिबार उक्त सामग्री बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब वहादुर वलीलाई हस्तान्तरण गर्नु भएको थियो ।
यसैगरी स्वास्थ्य कार्यालय दाङले पनि बंगलाचुली गाउँपालिकालाइ २०० थान पिपिई सेट, ६१५ चस्मा, ६१५ मिरर सहयोग गरेको छ भने सम्राट सिमेन्ट लमहीले ५०० थान माक्स, १ ईन्फारेड थर्मोमिटर सहयोग गरेको छ । साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाङ जिल्ला सचिव तुलसीराम पुन (शुवास)को पहलमा व्यवसायी आर.के.पाण्डेय र यमराज मल्लले च्यावनप्रयास ३५ थान, स्यानिटाईजर ३० थान र २४० थान झुल सहयोग गर्नु भएको छ ।
साथै बंगलाचुली गाउँपालिका वडा नं. २ का वडा सदस्य चुके सुनारको पहलमा जिमिन नेपाल संस्था बोद्ध काठमाडौंले बंगलाचुली गाउँपालिकालाई चामल १०० बोरा, दाल २०० केजि, नुन १०० केजि र तेल १०० पोका खाद्य सामग्री सहयोग गरेको छ । वडा सदस्य चुके सुनारले बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४ का अध्यक्ष शोभाराज विश्वकर्मा र नारायण डाँगीलाई दामासायी हिसावले राहात वितरण गर्ने गरी सो सामग्री हस्तान्तरण गर्नु भएको हो ।


