शुक्र मोक्तान/अनिल आचार्य

रियाद साउदी |
“न मुछे आमा दहिमा टिका, न छरे जमरा
दैबले गर्दा हे मेरी आमा आउँदिन फर्केर”
नारायण रायमाझी द्वारा संगीतबद्ध यो गीतले प्रवासमा आफ्नो उज्यालो भविश्यको खोजि गर्न हिडेका हाम्रा नेपालि दाजुभाई प्रतिको यथार्थ इंगित गरि रहेको छ । साँझ बिहानको दुइ छाक टार्न विदेशी भूमिमा आफ्नो श्रम बेच्न हिडेका ५२ नेपाली युवा हरुको लास अहिले साउदी अरबमा अलपत्र अवस्थामा रहेका छ्न। भने हामीले सजिलै अनुमान लगाउन सक्छौँ नेपालमा रहेका ति ५२ परिवार अहिले कुन स्थितिमा होलान?
यतिबेला साउदी अरबमा विभिन्न कारणले ज्यान गुमाएका श्रमिकहरू मध्ये १ जना महिला सहित ५२ जनाको शव नेपाल पठाउन बाँकी रहेको छ, जस मध्येका ७ जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना महामारीको कारण साउदी अरब र नेपाल सरकारले जारी गरेको लकडाउनले गर्दा ४ जनाको शवले (NOC) नेपाल पठाउन कुनै आपत्ति नरहेको प्रमाणपत्र प्राप्त भएर पनि नेपाल पठाउन नसकेको साउदीका लागी नेपाली दुताबास रियादका द्वितीय सचिव बिपिन दवाडीले बताउनु भयो। उहाँका अनुसार बाँकी ४८ जनाको शव बारे कागजी कामहरू भईरहे तापनि यहाँको सम्बन्धित सरकारी कार्यलयहरू बन्द रहेको हुनाले चाहे अनुरूपले सिघ्र काम हुन सकेको छैन भने कोरोना संक्रमण भेटिएको शवहरू भने स्वास्थ्य सम्बन्धी विभिन्न संवेदनशीलताका कारण परिवारको अनुमती लिएर उचित कदम चालिने छ।
साउदी अरबमा मृत्यु वरण गरेका मध्ये अवैध रूपमा काम गरिरहेकाहरूको सम्बन्धमा कागजी काम गर्न निकै कठिन हुने भएता पनि दुताबासले संवेदनशील भएर निरन्तर काम गरिरहेको दुताबास रियादको भनाई छ।
वैदेशिक रोजगारको शिलशिलामा साउदी अरब पुगेका नेपाली श्रमिकहरूको संख्या ३ लाख १५ हजार भन्दा बढी रहेको तथ्यांक रहेको छ।जसमा अधिकांश श्रमिकहरू अर्धदक्ष श्रमिकको रूपमा साउदी अरबको विभिन्न कम्पनीहरूमा कार्यरत छन्।विगत लामो समय देखी नै दक्ष नेपाली श्रमिकहरू अरबमा न्युन रहेको छ। यसो हुनुको कारण साउदी अरबको वातवरण र न्यून पारिश्रमिक हुनु नै हो भन्न सकिन्छ । त्यसको वाबजुद पनि नेपालमा बढ्दो बेरोजगार हुनु र कृषिगत क्षेत्रमा निर्भर न्यून आय भएको नवयुवाहरू बैदेशिक रोजगारमा होमिने गरेको देखिन्छ।
यसरी सुनौँलो सपना बोकेर साउदी अरब पसेका नेपाली श्रमिकहरूले विभिन्न कारणले ज्यान गुमाउँदै आएका छन्।नेपाली श्रमिकहरूले आप्रवासी कामदरको रूपमा ज्यान गुमाउने क्रममा “नेपाल लेबर माइग्रेशन रिपोर्ट २०२०” का अनुसार साउदी अरबमा १५ सय ९०, मलेशियामा १४ सय ५६, कतारमा १ हजार ९० र संयुक्त अरब ईमिरेट्समा ४ सय ७८ जनाले आफ्नो ज्यान गुमाएको तथ्यांक रहेको छ।

