
काठमाण्डौ
स्पेनदेखि अलबानियासम्म, बेलजियमदेखि ब्राजिलसम्म, जर्मनीदेखि चीनसम्म, इटालीदेखि भारतसम्म, अर्जेन्टिनादेखि फ्रान्स सम्म, घरेलु र महिलाविरुद्ध हुने हिंसाका घटनामा अभूतपूर्व वृद्धि भएको छ ।
नेपालमा पनि बन्दाबन्दीको समयमा ओरेकले ३३ वटा जिल्लामा ३३६ वटा महिला तथा बालिकामाथि हुने हिंसाको तथ्यांक संकलन गरेको छ । ति मध्ये १९८ घरेलु हिंसाको केस रहेको छ यी हिंसाको घटना त बाहिर आएका र उजुरी परेका मात्र हुन् । भित्रभित्रै गुम्सिएका यस्ता घटना त कति होलान् कति। तसर्थ, लकडाउनको समयमा महिलाका लागि कोरोना भाइरस भन्दा त्रासपूर्ण महामारी घरेलु हिंसा बनेको छ।
अझ भन्नु पर्दा अहिले यस लकडाउनको समयमा काम काजी महिलाहरुलाई घरको काम, बच्चा र अफिसको कामले भ्याई नभ्याई छ । यो समाजले चाहे ति महिला ले आफ्नो इच्छा, चाहना को बिपरित काम गर्न किन नपरोस बुहारी भए पछि घरको काम त उनले मात्र गर्नै पर्छ भनि मानसिक दबाब दिइन्छ। त्यसको लागि उनलाई घर को काम गर्न समय भएन भने जागिर छोड्नु सम्म पनि भनिन्छ र सो गर्ने सम्मको स्थिति खडा घरकै सदस्यहरुले गर्दछन।
ति महिलाको पनि अफिसको काम हुन्छ, करियरको कुरा छ भनि बोलिदिने कोइ पनि हुदैनन्, घरको काम उनले नभ्याएको खण्डमा घरका अन्य सदस्यले पनि उनलाई सहज बनाई कामको बोझ हलुका गर्नु पर्ने हुन्छ, तर हाम्रो पितृसतात्मक समाजले महिलालाई व्यवसाहिक र काम काजी महिला भइ करियरलाई प्राथमिकता दिएको रुचाउदैन।
महिला र पुरुष समान हुन् भन्ने नारा लोकप्रिय छ । तर यो नारा बोलिमा मात्र सिमित रहेको छ, यसलाई हामीले आफ्नो व्यवहारमा उतार्न सकिरहेको अवस्था छैन। महिला र पुरुष एक अर्काको परिपुरक हुन। एक अर्काको सहयात्री हुन्। यसलाई धार्मिक रुपमा पनि शिवको अर्धनारीश्वर स्वरुपले वर्णन गरेको छ कि हरेक मानिस चाहे पुरुष होस् या महिला होस्, समाजमा दुवैको आवश्यकता बराबर रुपमा हुन्छ भन्ने कुरा प्रतिबिम्बित गरेको छ।
हामी महिला र पुरुष दुबैले एकले अर्कालाई परिपुरकको भूमिका निर्वाह गरेर हरेक रुपमा मानवीय प्रेम र सम्मान गर्न सक्नु पर्दछ। तर अहिले विकासको नाममा महिलालाई पुरुष जस्तो मात्रै बनाउने होइन कि पुरुषलाई महिला सरह बनाउने पनि अभियान चलाउन आवश्येक रहेको छ। जस्तो पुरुषले पनि घरायेसी कामहरु गर्ने, बालबालिका हुर्काउने, खाना पकाउने आदि ईत्यादि । यस्तो सोच र व्यवहारले गर्दा पुरुषहरुले घरका जुनै पनि काम महिलाको मात्र नभई त्यसमा आफ्नो पनि उत्त्तिकै जिम्मेवारीको बोध गराउन अवाश्येक छ।
यिनै जिम्मेवारी सहित आफ्नो करियरलाइ पनि उचित तवरले व्यवास्था गर्न महिलालाइ निकै चुनौतीको सामना गर्नु पर्ने देखिएको छ।
आफ्नो इच्छा र सपनालाइ अलिकति मात्र प्राथमिकतामा राख्न खोज्दा लाखौँ महिलाहरु आफ्नो पति तथा परिवारका सदस्यहरुबाट शारीरिक, मानसिक र यौनिक हिंसा भोगेर पनि आफ्नो सन्तान र परिवारको अस्तित्वको र समग्रमा सारा मानवको अस्तित्वको लागि मृत्यूपर्यन्त सहिरहन्छे । बुहारी मान्छे सानो हुनु पर्छ र घर गृहस्ती मै सिमित हुनु पर्छ भनि घर परिवारले अनेक जाल र परिपंचहरु रच्न सुरु गर्छ। अहिलेको अवस्थामा घरको र अफिसको काम गर्दा गर्दै थकित भएकी महिलालाई निजको कार्य मूल्यांकन नगरी बिभिन्न लाल्छनाहरु लगाउन पनि परिवार पछि पर्दैन मानौ कि एउटी महिला केवल बिहे गरेर अर्काको घर घरायेसी काम गर्न र श्रीमानको दासी बनि तिनको हुकुम अनुसार आफ्नो जिन्दगि जिउन गएकी हुन्। यदि यहि कष्टकर प्रताडना पुरुषले भोग्न परेको भए सहेर बस्लान् त ?
समाजको एक खालको पुरुषहरुको जमात त घरेलु काम भनेको महिलाहरू कै मात्र काम हो भनेर बुझ्ने गर्दछन। यहाँ केहि पुरुषहरुले यदि आफ्नो श्रीमतीलाई काम सघाईहाले भने पनि आमा बुवालाई अशहिये हुन्छ र छोरालाई घरको काम गर्न दिदैनन्। छोरी र बुहारीको दायित्व र कर्तब्य के हुने भनि परिभाषित गरेको हाम्रो समाजले छोरा र जुवाईको घर प्रतिको दायित्व र कर्तब्य पनि उतीकै हुन्छ भनि परिभाषित गर्न चाहेको छैन।
हाम्रो धर्म तथा धार्मिक ग्रन्थमा महिलाहरुलाई धन कि देवी लक्ष्मी, बिद्या कि देवी सरस्वोती, र शक्ति कि देवी दुर्गा भनेर पुजा गरिन्छ तर वास्तविक जीवनमा महिलालाई यो रुपमा अगाडी आउन दिएको छैन बस उनलाई कसैले एउटी सहयोगी र कसैले एउटी दासीको रुपमा व्यवाहर गरेका छन्। नारी शालीन, सौम्य, कम बोल्ने, सहनशील हुनुपर्छ भन्ने भनाइअनुरूप प्राय महिला आफूलाई उक्त छविमा ढाल्न खोज्छन् जसको परिणाम उनीहरूको व्यक्तित्व विकास तथा करियरमा धक्का पुग्छ।
महिला भएकै कारण घरपरिवारभित्र भोग्नुपर्ने विविध खालका असमान व्यवहार तथा विभेदलाई घरेलु हिंसाको परिभाषाभित्र राखिन्छ। ठूला पारिवारिक निर्णयमा पुरुषको बाहुल्य हुनु, श्रीमान् वा परिवारका अन्य सदस्यद्वारा महिलालाई मानसिक तथा शारीरिक यातना दिइनु, इमोसनल ब्ल्याकमेलिङ गर्नु, परिवारका सदस्यद्वारा महिलालाई यौन तथा मानसिक हिंसाको सिकार बनाउनु आदि घरेलु हिंसाभित्र पर्छन्। वैवाहिक बलात्कार, खान, लाउन नदिनु वा कुटपिट गर्नु, परपुरुषसँग सम्बन्ध राखेको आशंका गरी मानसिक यातना दिनु, हेपेर, होच्याएर बोल्नु वा सोहीअनुरूपको व्यवहार गर्नु, क्षमता प्रदर्शन गर्ने अवसर नदिनु, पठनपाठनलगायत बौद्धिक एवं व्यक्तित्व विकासमा बाधा पुर्याउनु, अपशब्द प्रहार गरी गाली गर्नु आदि घरेलु हिंसाका रूप हुन्।
यथार्थमा भन्नु पर्दा यदि हाम्रो समाजमा श्रीमतीलाई माया, सम्मान र समर्थन गर्ने सति पार्वतीका जस्तो पति श्री महादेव र बुहारीलाई सम्मान र माया दिने गोमाजस्ता मानव पात्रहरू हुने हो भने महिला हिंसाका कथाहरू समाजमा ओझिलिंदै जानेछन् । अर्को महत्वपूर्ण कुरा, पुरुषहरुले महिलाहरुको सुरक्षा गर्नु पर्दछ भन्ने सोचलाई परिमार्जित गरी महिलालाई आफ्नो सुरक्षा आफै गर्न आर्थिक, भौतिक, बौद्धिक, अध्यात्मिक र नैतिक रुपमा सबल बनाउन जरुरि छ।
अहिलेको यस कोरोना भाइरसको महामारीको बेला हुने गरेको महिला हिंसाको रोकथाम तत्काल गर्ने सम्बन्धमा, हामीले आफ्नो समाज वारी परि महिला हिंसा भएमा वा हुन लागको थाहा भएमा १०० मा सम्पर्क गरि वा राष्ट्रिय महिला आयोगबाट संचालित ११४५ हेल्पलाइन सेवामा सम्पर्क गरि वा नेपाल पुलिस को Mobile App आफ्नो मोबाइलमा download गरि विभिन्न घटनाहरुको मोबाइलबाटै रिपोर्ट गर्न सकिन्छ। विषेश गरि महिला हिंसाका घटनाको रिपोर्ट गरे प्रहरीको टोलि घरमै पुग्छ। र मनोसामाजिक विमर्शको लागि प्रहरीमा तालिम प्राप्त मनोसामाजिक विमर्शकर्ताहरु पनि छन्।
पिडक लाई फेरि त्यस्ता घटना नदोहोर्याउने प्रतिब्धता गराई र त्यसमा पिडितको सहमति भए पश्चात मात्र मेलमिलाप गरि छोडिन्छ। साथै, घटनाको निश्चित समयको अन्तरालमा पिडितको सुरक्षाको लागि निजको बस्तुस्थितीको पुर्नावालोकन पनि नेपाल पुलिसले गर्दछ। यस लकडाउनको अवधिमा घरेलु हिंसाको रोख्थामको लागि प्रत्येक वार्ड कार्यालयले नेपाल सरकारको हेल्पलाइन सेवाकोबारे जानकारी गराउनु पर्दछ। र आपतकालीन सहयोगको लागि विशेष गरि घरका सदस्यहरुले र छिमेकिले हिंसाको घटना भएको वा हुन सक्ने सम्भावना भएको महसुस गरेमा तत्काल घटना भएको ठाउँमा गई २ पक्ष हरु को कुरा सुन्ने वा कानुनी उपचार को अवाशेकता भएमा हेल्पलाइन सेवाको बारे जानकारी दिनु पर्दछ ।
सबभन्दा ठूलो कुरा यस महामारीबाट दीर्घकालीन आर्थिक प्रभाव र त्यसको कारणले बढ्ने लैंगिक असमानतालाई मध्य नजर गरि अहिलेकै अवस्थादेखि पछिसम्म आत्मनिर्भर हुन सक्ने सिपमुलक कार्यक्रम, खाद्य सुरक्षा तथा संवर्द्धनकोबारे तालिम गर्न जरुरि छ। महिलामाथि हुने कुनै पनि किसिमको हिंसाको अन्त्य आज र अहिल्यैबाट हुनुपर्दछ।

