
बसन्त अनुभव
काठमाडौं, २१ बैशाख । नेपालगन्जमा आज ९ जना र विरगन्जमा १ जना गरि १० नयाँ कोरोना संक्रमित थपिएका छन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेेेको छ ।
नयाँ संक्रमित हुनेमा नेपालगन्जका ५ जना पुरुष एवं ४ जना महिला र वीरगञ्जका १ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनु भएको हो । डा. देवकोटाले उक्त जानकारी मन्त्रालयको नियमित ब्रीफिङ कार्यक्रममा पत्रकारहरुलाई दिनु भएको हो ।
नेपालगन्जमा भेटिएका नयाँ संक्रमितहरु ७ वर्ष देखि ५८ वर्ष उमेर समुहको भएको प्रवक्ता देवकोटाले बताउनु भयो । यस अघि नेपालगन्जमा एकजना संक्रमित भएको पुष्टि भएको थियो । योसँगै नेपालगन्जमा मात्र संक्रमितको संख्या १० पुगिसकेको छ । प्राप्त जानकारी अनुसार नेपालगन्जमा भेटिएका सबै संक्रमितहरु एउटै टोल डिएसपी रोड टोलको भएको बुझिएको छ । उनिहरु सबैको स्वाव परिक्षण नेपालगन्जमा गरिएको थियो । ९० जना ब्यक्तिको स्वाव नमुना संकलन गरिएकोमा ३० जनाको मात्र परिक्षण भएको जसमध्ये ९ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो । बाकी ६० जनाको स्वाव नमुना परिक्षण गर्न बाकी छ ।
त्यस्तै विरगन्जमा भेटिएका संक्रमित विरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका एक ३६ वर्षीय पुरुष रहेका छ्न ।
विरगन्जका ति ब्यक्तिको शुक्रबार स्वाव संकलन गरि जाँच गरिएको थियो भने आइतबार नारायणी अस्पतालले निजमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
हालसम्म नेपालमा कुल ६९ जना कोरोना संक्रमित भएका मध्ये १६ जना कोरोना सक्रमितहरु निको भइ घर फर्किसकेका छन्,भने बाँकी विभिन्न स्थानमा उपचाररत रहेका छन ।

