यूरोपका नेपाली राजदूतहरुद्वारा एक महिनाको पारिश्रमिक कोरोना कोषमा जम्मा गर्ने घोषणा

  • २९ चैत्र २०७६, शनिबार १०:२६ मा प्रकाशित
  • 1140x725

    काठमाडौं– विभिन्न ९ वटा युरोपेली मुलुकमा रहेका नेपाली राजदूतहरुले १ महिनाको पारिश्रमिक नेपाल सरकारको कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन्। 

    डेनमार्क, जर्मनी, बेल्जियम, अस्ट्रिया, फ्रान्स, स्वीट्जरल्याण्ड, बेलायत, रुस र स्पेनका राजदूतहरुले कोरोना कोषमा आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेका हुन्  

    शुक्रबार ९ वटा देशमा रहेका राजदूतहरुले भिडियो वार्तामार्फत् कोषमा १ महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गरेका हुन्। 

    कोरोनासँग जुध्न सरकारले गरेको प्रयासमाथि सहयोग गर्न आफूहरुले १ महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको डेनमार्कस्थित नेपाली दूतावासका युवनाथ लम्सालले बताए। 

    जर्मनीका राजदूत रमेश खनाल, डेनमार्कका युवनाथ लम्साल, बेल्जियमका लोकबहादुर थापा, अस्ट्रियाका प्रकाश सुवेदी, फ्रान्सका दीपक अधिकारी, स्वीट्जरल्याण्डका मणि भट्टराई, बेलायतका दुर्गाबहादुर सुवेदी, रुसका ऋषि घिमिरे र स्पेनका दावा शेर्पाले एक महिनाको पारिश्रमिक सरकारले स्थापना गरेको कोषमा जम्मा गर्ने सामूहिक निर्णय गरेका हुन्। 

    नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि कोरोना रोकथाम र जोखिमका सम्बन्धमा यूरोपमा रहेका नेपाली राजदूतहरुबीच छलफल हुँदै आएको थियो। 

    पटक–पटक छलफलकाबीच एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने निष्कर्षमा उनीहरु पुगेका हुन्। 

    युरोपमा रहेका नेपालीहरुको सुरक्षा तथा स्वास्थ्यप्रति आफूहरु चिन्तित र सजग रहेको राजदूत लम्सालको भनाइ छ। 

    हामीले आफ्नो दायित्व सम्झेर सहयोग गरेका हौँ’ राजदूत लम्सालले भने। युरोपमा रहेका नेपालीहरुलाई समस्या परे सम्बन्धित देशका दूतावासमा सम्पर्क गर्न राजदूत लम्सालले आग्रह गरे।

    नेपाललाइभ.कम बाट ।

    Leave a Reply