हो स्वास्थ्यकर्मीलाई हदैसम्मको कार्वाही गर्नुपर्छ

  • २३ चैत्र २०७६, आईतवार १२:३३ मा प्रकाशित
  • वसन्त अनुभव-
    यतिबेला सारा विश्व नै गंभिर परिस्थितिबाट गुज्रिरहेको छ। कोरोना भाइरस (कोभिड १९) ले मानिसहरुलाई कुप्लुक्क कुप्लुक्क निलिरहेको छ । विश्वका अधिकांस राष्ट्रमा कोरोनाको महामारीले गाजिरहेको छ ।

    सर्जिकल मास्क पनि प्रयोग पछि गोजीमा राखेर पुनः प्रयोग गर्नुपर्ने अवस्था छ । सरकारले स्वास्थ्यकर्मीलाई आबश्यक पिपिई सेट लगायत सम्पुर्ण सामग्री पुर्याइसकेको दावा गरिरहदा कतिपय स्वास्थ्यकर्मीहरु रेनकोट लगाएर, बोराको पिपिइ बनाएर उपचारमा खटेको देखिन्छ ।

    यस महामारीबाट उन्मुक्ति पाउन राष्ट्रहरुले विविध प्रयास गरिरहेका छ्न । केही राष्ट्रले यसको कहरलाई हल्का नियन्त्रण गर्न सके पनि बाकी राष्ट्रहरुमा आगो झै दन्किरहेको छ । कतिपय राष्ट्र नराम्रोसँग जलिरहेका छन ।

    नेपाल पनि यस जटिल परिस्थितिबाट गुज्रिरहेको छ । हालसम्म यश रोगको कारणले कसैको मृत्यु भएको पुष्टि नभए पनि दिनप्रतिदिन संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ जना पुगिसकेको छ ।

    यसको संक्रमण रोकथाम गर्नका लागि, अझ भनौ संक्रमणको चेन ब्रेक गर्नका खातिर नेपालले यहि चैत ११ गतेदेखि लगातार लकडाउन गरिरहेको छ । विभिन्न जनचेतनामूलक सूचना प्रवाह गरिरहेको छ । जुन ज्यादै सह्रानिय कार्य हो ।

    खुला सिमाका कारण लकडाउनको प्रभावकारी कार्यान्वयन चुनौती बन्न पुगेको देखिन्छ । लकडाउनको अवधिमा पनि सिमा क्षेत्रबाट अनाधिकृत प्रवेश हुने गरेका समाचार देख्न र सुन्न पाईन्छ । सरकारले भारत लगायत अन्य मुलुकबाट नेपाल छिर्ने गैह्रनेपाली नागरिकलाई प्रवेश प्रतिबन्ध र नेपाली नागरिकलाई सहज रुपमा आउने बाताबरण बनाइदिनुपर्थ्यो र तिनिहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्ने वातावरण मिलाउनुपर्थ्यो । तर सरकारले सुरुमा अत्यन्त लुज बनायो, राम्रोसँग चेकजाँच पनि गर्न सकेन ।

    जब नेपालमा संक्रमित फेला पर्यो तब नेपाल सरकार आत्तिएर लकडाउन गर्यो । सिमानाकाबाट नेपालीलाई समेत छिर्न दिएन जसको कारण लुकिछिपी अनाधिकृत नेपाल प्रवेशका घटना हुन पुगे । हालसम्मको संक्रमितहरुको अबस्था हेर्दा भारत लगायत बाह्यमुलुकबाट छिरेकाहरुमा (एकजना बाहेकमा) मात्र कोरोना संक्रमण देखिएको छ ।

    उक्त एकजना पनि बाहिरबाट आएका संक्रमित व्यक्ति (आफन्त) बाट संक्रमित हुन पुगेको जानकारी प्राप्त भएको छ । यदि समयमै पैदल मार्ग वा वायुमार्गबाट नेपाल छिरेका ब्यक्तिहरुलाई क्वारेन्टाइन वा आइसोलेसनमा राख्ने व्यवस्था गर्न सकेको भए कोरोना रोकथाममा धेरै सहज हुनेथियो ।

    कोरोना संक्रमणको उपचार, रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष रुपमा खटेर काम गर्ने भनेको स्वास्थ्यकर्मीहरु नै हुन । उनिहरुले आफ्नो ज्यानको बाजि लगाई टाउकोमा कफन बाधी उक्त कार्यमा खटिरहेका छन । जुन स्वास्थ्यकर्मीहरुको कर्तव्य र दायित्व पनि हो । यतिबेला दिनरात नभनी खट्नुपर्ने हुन्छ ।

    तर यो भन्दैमा मुलुकमा यस्तो महामारीको सन्त्रास फैलिएको बेला स्वास्थ्यकर्मीहरुले असुरक्षित रहेर भएपनि काम गर्नै पर्छ भन्नू कति न्यायोचित होला ? स्वास्थ्यकर्मीहरुको पनि बाच्न पाउने नैसर्गिक अधिकार हुन्छ । आफू सुरक्षीत रहेमा स्वास्थ्यकर्मीले विना हिच्किचाहट राम्रोसँग उपचार गर्नसक्छ ।

    धेरैजसो स्वास्थ्यकर्मीहरुले N95 मास्क, PPE set लगाउन पाउनु त परैजावस देख्नसमेत पाएका छैनन । हेर्नलाई समेत नेट सर्च गर्नुपर्ने परिस्थिति छ । सर्जिकल मास्क समेत नपाएर बजारमा पाइने पातलो कपडाको मास्क लगाएर बिना ग्लोब्स विरामीको उपचारमा खट्नु पर्ने अवस्था छ । सर्जिकल मास्क पनि प्रयोग पछि गोजीमा राखेर पुनः प्रयोग गर्नुपर्ने अवस्था छ । सरकारले स्वास्थ्यकर्मीलाई आबश्यक पिपिई सेट लगायत सम्पुर्ण सामग्री पुर्याइसकेको दावा गरिरहदा कतिपय स्वास्थ्यकर्मीहरु रेनकोट लगाएर, बोराको पिपिई बनाएर उपचारमा खटेको देखिन्छ ।

    तिनै स्वास्थ्यकर्मीहरु जो हामी रिस्कमा काम गर्दैछौ भन्ने थाहा हुदाहुदै पनि काममा होमिएका छन उनिहरुको मनोबल गिर्ने गरि कार्वाही गर्ने धम्किपुर्ण निर्देशन सरोकारवाला निकायबाट जुन आउने गरेको छ, ज्यादै दु:खद छ । हतियार बिना कुनै फौजी लडाइको मैदानमा लड्न जान हिक्किचाउनु, जान्न भन्नू स्वाभाविक भए जस्तै बिना पिपिई स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न सक्दैन भन्नू स्वाभाविक हो । यस्तो जटिल परिस्थितिमा सरकारले स्वास्थ्यकर्मीलाई पर्याप्त गुणस्तरीय पिपिई सेट दिन सक्नु पर्छ तब मात्र कार्बाहीको धम्की सुहाउछ ।

    विडम्बना स्वास्थ्यकर्मीले उपचार गर्दा लगाउनु पर्ने N95 मास्क, PPE सेट जनप्रतिनिधि लगायत उच्चपदस्थहरुले लगाएर सामाजिक सन्जालमा भाइरल भएको समाचार पढिरहदा त्यही देशका कतिपय स्वास्थ्यकर्मी विना मास्क, ग्लोब्स उपचारमा खटेका, कतिपयले गुणस्तरहिन सामग्री पहिरिएर ज्यान जोखिममा राखी काम गरिरहेका छन ।

    पिपिई सेटमा सजित जनप्रतिनिधिहरुको तस्बिर

    प्रत्यक्ष उपचारमा खट्ने स्वास्थ्यकर्मी सर्जिकल मास्क, लुज ग्लोब्स कपडाको एप्रोन लगाई काम गरेको तर अनुगमन गर्ने जनप्रतिनिधि, उच्चपदस्थ ब्यक्ति/ कर्मचारीले PPE सेट लगाएको अनौठो तस्बिर र समाचार सामाजिक सन्जाल देख्न र सुन्न पाइन्छ ।

    सरकार पहिले स्वास्थ्यकर्मीलाई सुरक्षीत रहन आवश्यक पर्ने सबै गुणस्तरीय सामान पर्याप्त रुपमा दिनुपर्यो । त्यसपछि पनि यदि बिरामीको उपचार गर्न आनाकानी गर्छ र मान्दैन भने त्यस्ता स्वास्थ्यकर्मीलाई हदै सम्मको कार्वाही गर्नुपर्छ । अझ जेल हाल्ने व्यवस्था गर्नुपर्छ ।

    तर विना हतियार सैनिकलाई युद्धको मैदानमा लड्न पठाए झै स्वास्थ्यकर्मीलाई कसरी गर र मर भनी बाध्य पार्न कति जायज होला । भोलि विरामीको उपचार गर्ने स्वास्थ्यकर्मी नै संक्रमित भएभने नेपालको स्थिती कस्तो होला । बेलैमा सोच्न जरुरी छ ।

    नेपालमा अहिले कोरोना संक्रमित थोरै छन भनेर ढुक्क हुने स्थिती छैन, परिस्थितिलाई कम आक्न मिल्दैन । हामिले जाँच नै कति जनाको गरेका छौ र । अहिलेसम्म १५०० वटा पनि पुगेको स्थिती छैन । त्यसैले गंभिर भएर सोच्न जरुरी छ । कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि निम्न कुराहरू गर्नुपर्ने देखिन्छ ।

    आमनागरिकले
    -लकडाउनको पुर्ण पालना गर्ने
    -साबुन पानीले पटकपटक हातखुट्टा धुने ।
    -अत्यावश्यक काम नपरि घरबाहिर ननिस्कने । निस्कनै परे सम्बन्धित निकायलाई जानकारी गराएर/ अनुमती लिएर निस्कने ।
    -पार्टी, भोज, जमघट नगर्ने ।
    -काम परि घरबाहिर निकदा मास्क लगाउने, ब्यक्ति-ब्यक्ति बिचको तोकिएको दुरि कायम गर्ने ।
    -सामान्य जिबनशैली अपनाउने ।
    -तनावबाट मुक्त भइ सृजनशिल कार्यमा लाग्ने ।
    -आफ्नो गाउँ, टोलमा भर्खर विदेशबाट कोहि ब्यक्ती आएको भए सम्बन्धित निकायलाई जानकारी गराई क्वारेन्टाइन बस्न लगाउने ।
    -शंकास्पद वा संक्रमितलाई अपराधीलाई जस्तो व्यवहार नगर्ने

    सरकारले
    -लकडाउन कडाइकासाथ पालना गराउने ।
    -जनतालाई आवश्यक पर्ने दैनिक उपभोग्य बस्तु सुपथ मुल्यमा उपलब्ध गराउने । कृतिम अभाव र महंगी नियन्त्रण गर्ने ।
    -विपन्न बर्गलाई न्यायोचित ढंगले राहत वितरण गर्ने ।
    -स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई पर्याप्त मात्रामा ब्यक्तिगत सुरक्षा सामग्री (N95 मास्क, PPE सेट, स्यानिटाइजर आदि) उपलब्ध गराउने ।
    -भारत तथा अन्य मुलुकबाट आउने गैह्र नेपालिलाई प्रवेश निषेध गर्ने, नेपाल प्रबेश गर्ने र गरेका नेपालीलाई अनिवार्य चेकजाँच र क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने ।
    -स्थानीय निकायलाई क्रियाशिल बनाई गाउँगाउँ, टोलटोलमा हालसालै विदेशबाट आएका ब्यक्तिहरुको खोजी गरि उसको परिवार सहित क्वारेन्टाइन राख्ने व्यवस्था मिलाउने ।
    -शंकास्पद वा संक्रमित व्यक्तिलाई अपराधिको जस्तो ब्यवहार नगर्ने ।

    Leave a Reply