तुलसीपुरले गर्‍यो अलपत्र परेका यात्रुहरुलाई खानपिन सहित गन्तव्यसम्म यातायातको व्यवस्था

  • ७ बैशाख २०७७, आईतवार ०६:४९ मा प्रकाशित
  • वसन्त अनुभव-
    लकडाउनको अवधि लम्विएसँगै बाहिरी जिल्लाहरुबाट दाङ भित्रने यात्रुहरूको संख्या बढ्दै गएको छ । सरकारले लकडाउनको अवधी थपेर यहि बैशाख १५ गते सम्म पुर्‍याएको छ । लकडाउनमा यातायातका साधन नचले पछि मानिसहरू लकडाउनको बेवास्ता गरि हिडेरै भएपनि आफ्नो घर जान आउन थालेका छन ।

    छिमेकी मुलुक भारत लगायत नेपालमा पनि कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ । प्राप्त जानकारी अनुसार नेपालमा संक्रमितको संख्या ३१ जना पुगिसकेको छ । यस परिस्थितिमा बैशाख १५ पछि लकडाउन खुल्छ नै भन्ने कुनै ग्यारेन्टी छैन ।

    सुरु सुरुमा मानिसहरू लकडाउन छिट्टै खुल्ने आसमा जसोतसो जीवन गुजारा गरे पनि लकडाउन खुल्ने छाट नदेखिएपछि पैदल हिडेर भएपनि आफ्नो घर जाने सोचले हिड्ने गरेको देखिन्छ ।

    घरबाहिर भोक र त्रासले मर्नु भन्दा मर्नै परे घर पुगेर परिवार सँग मर्नु वेस भन्दै हिडेको एक यात्रुले बताए । उनले १२ / १३ दिनसम्म भोकभोकै चाउचाउ पानीको भरमा तुलसीपुर आइपुगेको समेत बताए । तुलसीपुर उ.म.न.पा.ले खानपिन सहित घर जान बसको ब्यवस्था गरिदिएकोमा खुसी व्यक्त गरे ।

    दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरसम्म आईपुगेका यात्रुहरूलाई खाना पानी, मास्कको व्यवस्था गरि उनिहरुको गन्तव्यमा पुर्‍याउनका लागि यातायातको व्यवस्था गर्दै आएको छ ।

    शुक्रबारमात्र तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरमा विभिन्न् ठाउँवाट आयका ११८ जना पैदल यात्रुहरुलाई मास्क, खाना पानीको व्यवस्था गरि यात्रुहरूको गन्तव्यस्थल जस्तो ववई, कपुरकोट सल्यान लगायत तुलसीपुरका विभिन्न वडाहरुमा यातायातको साधनको व्यवस्था गरि पठाउने काम गरेको थियो ।

    त्यस्तै शनिबार पनि तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर आई अलपत्र परेका यात्रुहरूको उद्दार गरि मास्क, खानपिनको व्यवस्था सहित थुप्रै यात्रुहरूलाई गन्तव्यसम्म यातायातको व्यवस्था गरि पठाउने काम गरेको छ । शनिबार दिउँसोमात्र पहिलो लटमा ७९ जना पठाएको छ भने दोश्रो लटमा १४ महिला, ९ वच्चा र ५९ पुरुष गरि ८२ जना (जसमा शारदा नपाका १५ जना र कुपिण्डेका ३ जना र कालीमाटी गापाका ६३ जना) लाई गन्तव्यमा पठाउने काम गरेको छ ।

    त्यस्तै तेश्रो लटमा २३ जना यात्रुलाई गन्तव्यमा पठाउने काम गरेको छ । दिनरात नभनी खटेर तुलसीपुरमा अलपत्र परेका यात्रुहरूलाई मास्क, खानपिनको व्यवस्था लगायत गन्तव्य सम्म पुर्‍याउनका लागि तुलसीपुर उपमहानगरपालिका, वस व्यवसायी समिति, पत्रकार, रेडक्रस, व्यापारी आदिको उल्लेखनीय सहयोग रहेको थियो ।

    शनिबार राती अबेरसम्म खटेर यात्रुहरूको खानपिन लगायत यातायातको व्यवस्थापनमा तुलसीपुर उमनपाको विपद व्यवस्थापन शाखा प्रमुख भिम प्रकाश खत्री , जनस्वास्थ्य प्रवर्धन महाशाखा तुलसीपुरका प्रमुख ओमप्रकाश न्यौपाने, जनस्वास्थ्य निरिक्षक विमल केसी , सिंअहेव अधिकृत विष्णु कुमार गिरि, प्रशासन शाखाका लक्ष्मी चौधरी ,वडा अध्यक्ष विरेन्द्र शाह, त्रिसेद्धेश्वरी यातायात अध्यक्ष सुरेश हमाल , उधोग वाणिज्य संघका विरु रावत , टेक प्रकाश केसी लगायतको टिम खटेको जानकारी जनस्वास्थ्य निरीक्षक विमल केसीले दिनुभयो ।

    Leave a Reply