
क्यानबरा । अष्ट्रेलियाका प्रधानमन्त्रीले संकटमा आफैलाई सहयोग गर्न नसक्ने आगन्तुक विद्यार्थी तथा भिसा होल्डरहरुलाई देश छाडेर जान अपील गरेका छन्।
प्रधानमन्त्री स्कट मोरिसनले भिजिट भिसामा रहेका तथा विद्यार्थी भिसामा आएकालाई पैसा तिर्न नसके ‘आफ्नै घर फर्कने उचित समय’ रहेको बताए। कोरोना भाइरस संकटका कारण बेरोजगार हुँदा कलेजको शुल्क तिर्न तथा खान बस्न समेत अफ्ठेरो भएको गुनासो आएपछि प्रधानमन्त्री मोरिसनको यस्तो प्रतिक्रिया आएको हो।
प्रधानमन्त्री मोरिसनले अहिले अष्ट्रेलियाले आफ्ना नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने बताए। ‘यी विद्यार्थी भिसा र विभिन्न भिसा अन्तर्गत अष्ट्रेलियामा रहेकाहरुलाई यहाँ अनिवार्य रूपमा राखिएको छैन’ क्याबिनेट बैठकपछि क्यानबरामा पत्रकारहरुसँग प्रधानमन्त्री मोरिसनले भने,“यदि उनीहरू आफैंलाई सहयोग गर्ने स्थितिमा छैनन् भने उनीहरूका लागि आफ्नै देश फर्कनको लागि विकल्प छ।”
अष्ट्रेलियामा धेरै व्यक्तिहरू भिजिट भिसामा रहेको समेत मोरिसनले बताए। उनले अगाडी भने, ‘उचित समयमा अष्ट्रेलिया भिजिट गर्न राम्रै भएपनि यस्तो समयमा यदि तपाई भिजिट भिसामा हुनुहुन्छ भने आफ्नै देश फर्किदा सहयोग पाउनुहुन्छ’ प्रधामन्त्री मोरिसनले विदेशबाट अष्ट्रेलिया आएका कामदारले देशका कुनैपनि भागमा हिँडडुल गर्नुअघि अनिवार्य १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्नु पर्ने बताए।
अष्ट्रेलियाले महामारीमा आफ्ना नागरिक र स्थायी बासिन्दाका लागि मात्रै सरकारी सहयोग गरिने भन्दै विदेशी विद्यार्थी र कामदारलाई आफ्नै देश जान भनेको हो। देशमा कोरोना भाइरसको संकट बढ्दै गएपछि अस्ट्रेलियाले कडा नियम जारी गर्दै गएको छ। न्यू साउथ वेल्समा ९० दिनको लकडाउन घोषणा गरिएको छ। मङ्गलवारदेखि लागू भएको लकडाउन आदेश जुन २९ सम्म जारी रहने छ।
लडाउनको नियम तोड्नेमाथि एक हजार अस्ट्रेलियन डलर जरिवाना तोकिएको छ। त्यहाँ विवाहमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने तथा कसैको निधन भएमा १० जना मलामी जना सक्ने नियम जारी गरिएको छ। सामान्य अवस्थामा २ जना भन्दा बढी भेला भए कारबाही हुने छ।
अस्ट्रेलियामा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ५ हजार नाघेको छ भने २३ जनाको मृत्यु भइसकेको छ। अष्ट्रेलियामा करिब ६० हजार नेपाली विद्यार्थी रहेको बताइन्छ। लकडाउन तथा जारी नियमहरुले गर्दा काम गरेर पढ्ने आगन्तुक विद्यार्थीलाई अफ्ठेरो परेको छ।
दैनिकिअनलाइन बाट ।

