मजदुरहरु भन्छन् कस्तो सरकार ! न काठमाडौंमा खान दिन्छ, न घर जान दिन्छ

  • २९ चैत्र २०७६, शनिबार १८:०० मा प्रकाशित
  • २९ चैत, काठमाडौं । नागढुंगा नाकाको प्रहरी चेकपोस्टभन्दा केही तल दुईवटा मालवाहक ट्रक रोकिएका छन् । बाहिर मानिसको भिड मेला लागे सरह छ । अधिकाशंका काठमाडौंको कन्ट्रक्सन साइटमा काम गर्ने कामदारहरु हुन् ।

    लगातारको लकडाउनका कारण खान नपाउने अवस्था आएपछि उनीहरु घर जान खोजिरहेका छन् । कोही नेपालगञ्ज पुग्नुपर्ने बताउँछन त कोही वीरगञ्ज । रौतहट र सर्लाहीतिर पुग्नेहरु पनि हातमा जेब्रा झोला बोकेर उभिइरहेका छन् ।

    उनीहरु सबै मालवाहक ट्रकले लिफ्ट देला कि भन्ने आशामा अनुरोध गरिरहेका छन् । यो शुक्रबार रातिको दृश्य हो । तर, ट्रक चालकको आफ्नै दुःख छ । प्रहरीले रोकेर लाठी हान्छ, जहाँबाट चढाएको होस्, उही छाड्दे भनेर हप्काउँछ’ चालकले भन्दै थिए । काठमाडौंमा खाना नपाएपछि कहाँ जानु ? हामी प्रहरीलाई अनुरोध गर्छौं । तपाईंलाई समस्या पार्दैनौँ ?’ लिफ्ट मागिरहेका मजदुरहरु अनुनयविनय गर्छन् ।

    उनीहरुको कुरा काट्दै ट्रक चालक फेरि बोल्छन्, ‘सम्झनुस् न यार, हामीलाई गाह्रो हुन्छ । सधैं यही बाटो हिड्ने हो, भोलि फेरि पुलिसले तङ गर्छ । चालक बोल्दै गर्दा अर्का मजदुर बोले, ‘कस्तो सरकार यार, न काठमाडौंमा खान दिन्छ, न आफ्नो घर जान दिन्छ ।

    त्यही भिडमा रहेका एक युवकले आफ्नो कथा यसरी सुनाए, हामी चार जना काठमाडौं आएको १० दिन मात्रै भएको थियो भने काम सुरु गरेको पाँच दिन । कन्ट्रक्सन साइटमै बसेका थियौँ । तर लक डाउन सुरु भइगयो ।

    ठेकदार इन्डियन थियो । लकडाउन सुरु नहुँदै ऊ घर गयो । हामी मारमा पर्‍यौँ । कमाउन आएको काठमाडौंमा घरबाट पैसा बोकेर आउने कुरा भएन । त्यसैले केहीदिन सरसापट गरेर चलायौँ । तर, कति दिन थेग्नु ? जति कुर्दा पनि लक डाउन खुलेन । भोकले मरिएला जस्तो भयो । त्यही भएर घर जान लोकन्थलीबाट हिँडेका हौँ ।

    नागढुंगा आइपुग्दासम्म बाटोमा धेरै प्रहरीले सोधपुछ गरे । हामीले समस्या बतायौँ । कुनै ठाउँका प्रहरीले पानी दिएर पठाए भने कुनै ठाउँको प्रहरीले सरकारको नियम उल्लङ्घन गरेको भन्दै लाठीले हिर्काए । तर, हामीसँग अर्को विकल्प थिएन । जसोतसो गर्दै यहाँ आइपुग्यौँ । काठमाडौं यात्रा त हाम्रा लागि ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भनेझैँ भयो ।

    नागढुंगा नाकामा भेटिएका अधिकांश मजदुरहरुको कथा–व्यथा उस्तै थियो । सबै काठमाडौं छाड्न चाहन्छन् । झोलामा दालमोठ चिउरा भरिएको छ । पैदल हिँडेरै भएपनि घर पुग्ने आँट भएका उनीहरुको खल्ती भने रित्तो छ । नागढुंगा नाकामा देखिएको यो दृश्य र उनीहरुको कुरा सुन्दा लाग्थ्यो, ‘मजदुरहरुका लागि काठमाडौं र यहाँको सरकार बिरानो छ, जसले आपत पर्दा लाठी बर्साउँछ ।’

    उनीहरु र मालवाहक ट्रकको चालकको कुराकानी चलिरहेको थियो । त्यो बेला स्पिडमा एउटा ट्रक आएर रोकियो । केही क्षणको कुराकानीपछि आधा जसो मजदुरहरु त्यसमा चढे । आधा बाँकी रहे । बाँकी रहेका मजदुरलाई नारायणगढसम्म छाडिदिने भन्दै ती चालकले एउटा शर्त राखे, ‘बाटोमा पुलिसको जिम्मा तपाईंहरुले लिनुपर्छ ।’

    केही क्षणको अन्तरालमा दुईवटा ट्रकमा गरेर सयभन्दा बढी मजदुर नागढुंगा कटे ।  नागढुंगाबाट फर्किँदै गर्दा बाटोमा थुप्रै मजदुरहरु नागढुंगातर्फ लम्किरहेका थिए । सबैको गन्तव्य तराईका जिल्ला थियो । उनीहरु भन्दै थिए, ‘जे पर्ला त्यस्तै टर्ला, पाए गाडी चढ्ने हो नत्र हिँडेरै जाउँला ।

    अनलाईनखबर.कम.बाट ।

    Leave a Reply