
बैशाख २, २०७७
काठमाडौं : भारतले लकडाउन अवधी पुन: १९ दिन लम्बाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत मार्च २५ तारिख देखि सुरु गरिएको लकडाउन आज अप्रिल १४ तारिखमा सकिनै लाग्दा पुन: १९ दिन थप गर्दै मे ३ तारिख अर्थात् वैशाख २१ पुर्याउने घोषणा गरेका हुन्।
मंगलबार देशबासीको नाममा संबोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना सँग जुध्ने यहि नै अन्तिम विकल्प भएको भन्दै थप लकडाउनको घोषणा गरेका हुन । लकडाउन देशबासीलाई दु:ख दिनका लागि नभई कोरोनाको महामारी रोकथामको लागि अपरिहार्य भएकोले थप्नु पर्ने बाध्यता भएको बताउनु भयो ।
सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रण लागि गरेका हरेक प्रयास तथा काममा जनताले सहयोग गरेको बताउनु भयो । तसर्थ जनता नै उक्त कार्यको सहयात्री र साक्षी दुवै भएको कुरा उल्लेख गर्नुभयो । प्रधानमन्त्री मोदिको यो सम्बोधन पछिल्लो २६ दिनमा देशवासीको नाममा गरिएको चौथो संबोधन हो ।
संबोधनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले देशवासीहरुलाई मुख्य ७ वटा कुराहरू गंभिरताका साथ पालन गर्न अनुरोध गरेका छ्न ।
पहिलो कुरा उनलेे आफ्ना घरमा भएका वृद्धहरुको विशेष ख्याल राख्न भनेका छन । विशेषत विरामी वृद्धहरुको विशेष हेरचाह गर्नु पर्ने बताएका छन ।
दोस्रो बुदामा उनले लकडाउन र सोसल डिस्टेन्स ( सामाजिक दुरि ) को लक्ष्मण रेखाको पालना गर्न सुझाएका छन । साथै घरमा बनाएको मास्क प्रयोग गर्न भनेका छन ।
तेस्रो बुदामा उनले इम्युनिटी बढाउनका लागि आयुष मन्त्रालयबाट दिएको निर्देशन पालना गर्न भनेका छन ।
चौथो बुदामा उनले कोरोना संक्रमण रोक्नका लागि आरोग्य सेतु मोबाइल एप डाउनलोड गरि प्रयोग गर्न भनेका छन ।
पाचौ बुदामा उनले जति सकिन्छ गरिब, विपन्न परिवारको रेखदेख गर्न र भोजनको व्यवस्था गर्न भनेका छन ।
छैठौ बुदामा उनले कुनै पनि ब्यक्तिलाई नोकरीबाट ननिकाल्न भनेका छन ।
सातौ एवं अन्तिम बुदामा उनले कोरोनाका योद्धा भनेर चिनिने डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीहरुको आदर र सम्मान गर्न भनेका छन ।
भारतमा अहिलेसम्म त्यहाका आठ राज्य र एक केन्द्र शासित प्रदेशले ३० अप्रिलसम्म लकडाउन बढाउने घोषणा गरिसकेका छन । जसमा महाराष्ट्र, पश्चिम बंगाल, पञ्जाब, ओडिशा, अरुणाचल प्रदेश, मेघालय, तेलंगाना र तमिलनाडु र केन्द्र शासित प्रदेश पुडुचेरी रहेको छ ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएको छ। Worldometer का अनुसार हालसम्म भारतमा १० हजार ५ सय ४१ कोरोना संक्रमित भेटिएका छन भने ३५८ जनाले ज्यान गुमाइसकेका छन्। एजेन्सी

