
काठमाण्डौँ-
उपप्रधान तथा परराष्ट्रमन्त्रि प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९) ले बढी प्रभावित देशका गैरआवासीय नेपाली संघ अध्यक्षहरुसँग प्रत्यक्ष संवाद गरेका छन् । मन्त्री ज्ञवालीले सोमबार मन्त्रालयबाट विदेशस्थित ११ देशका राष्ट्रीय परिषदका अध्यक्षसँग भिडियो कन्फ्रेन्स मार्फत् नेपाली समुदायमा कोरोना भाइरसका कारणले बिचल्लीमा परेका नेपालीको आवाजलाई संबोधनार्थ छलफल भएको हो ।
‘नेपालमा लकडाउनको अवस्था लम्बिदै गएका कारणले विदेशमा रहेका नेपालीलाई तत्काल नेपाल फर्काउन नसकिएको जानकारी दिए । विदेशमा अलपत्र परेका नेपालीप्रति सरकार पूर्णरुपले जानकार र सचेत छ, हामी अवस्था अनुकूल हुने वित्तिकै नेपाल फर्काउने प्रकृया सुरु गछौं, मन्त्री ज्ञवालीले भने, ‘सरकार वैदेशिक रोजगारीमा रहेका नेपाली मुख्यतयः खाडी क्षेत्रका श्रमिकका समस्यालाई तत्काल सम्वोधन गर्ने बिषयमा सकरात्मक छ ।’
सरकारका कूटनीतिक नियोग र गैरआवासीय नेपाली संघसँगको छलफलबाटै समस्याको समाधान निकालिने जानकारी दिँदै मन्त्री ज्ञवालीले विदेशमा रहेका नेपालीलाई धैर्य गर्न आग्रह गरे । उनले अप्ठ्यारो अवस्थामा विदेशमा रहेका नेपालीले खेलेको भूमिकाको प्रशंसा गर्दै कोरोना भाइसरबिरुद्ध जनचेतना, पीडितका लागि राहत वितरण लगायतका काममा गैरआवासीय नेपाली संघका शाखाले खेलेको भूमिकाप्रति खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।
मन्त्री ज्ञवालीले कोरोनाबाट प्रभावित देश सँग समेत सरकारले छलफल गरिरहेको जानकारी दिँदै विदेश स्थित संघसंस्था र सरकारी नियोग नभएका देशमा गैरआवासीय नेपाली संघसँग मिलेर काम गर्न नेपाली दूतावासहरुलाई सक्रिय पारिएको जनाए ।
बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले कोरोना भाइरसको संक्रमणलाई रोक्न नेपाल सरकारले चालेका कदम प्रभावकारी रहेको बताए । अध्यक्ष पन्तले भने, ‘विदेशको अनुभवले पनि नेपाल सरकारका निर्णय निकै प्रभावकारी देखिएका छन् । धेरै देशले लकडाउनको निर्णय समयमा गर्न नसक्दा संक्रमण बढेको छ, लकडाउनको लागि नेपाल सरकारले गरेको निर्णय ऐतिहासिक हो ।’
अध्यक्ष पन्तले कोरोना भाइरसले प्रभावित पारेका वैदेशिक रोजगारीमा रहेका नेपाली प्रति राहत कार्यक्रममा सरकारसंग मिलेर काम गर्न संघ तयार रहेको बताए ।
उनले युरोप अमेरीकाका गैरआवासीय नेपाली भन्दा मध्यपूर्वका देशममा वैदेशिक रोजगारीमा रहेका नेपाली ठूलो समस्यामा रहेको बताए । पन्तले भने ‘सरकारसँग युरोपीय र अमेरिकाको धेरै अपेक्षा छैन तर श्रमिकका लागि सरकारले पहल कदमी चाल्नु पर्छ ।’
संघका महासचिव डा हेमराज शर्माले नेपाल सरकारले विदेशमा रहेका नेपाली चिकित्सकहरुको विज्ञतालाई अहिलेको कोरोना महामारीमा सदुपयोग गर्न सुझाव दिए । उनले विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीचको एक संयुक्त कार्यदलमार्फत कोरोना पीडितका लागि राहत वितरण गर्नुपर्ने विचार व्यक्त गरे ।
वैदेशिक रोजगारमा रहेका नेपालीको संख्या ठूलो भएकाले संघको साधनस्रोतले मात्र नपुग्ने हुँदा सरकारको तर्फबाट राहत कार्यक्रममा सहकार्यको लागि आग्रह गरेको गैरआवासीय नेपाली संघको नीति तथा प्रोसिडर समितिका संयोजक रामशरण सिमखडाले बताए । बैठकमा सहभागी अध्यक्षहरुले विद्यार्थीहरु, भूपूगोर्खा, वैदेशिक रोजगारीमा रहेका श्रमिकको समस्या, राहत तथा स्वास्थ्यसम्वन्धी सामग्री वितरण, नेपाल तत्काल फर्कने चाहनेको व्यवस्थापनलगायतका विषयमा मन्त्री समक्ष आ–आफ्ना भनाइ राखेका थिए ।
उनीहरुले कोभिड–१९ ले अर्थतन्त्रमा ठूलो प्रभाव पार्दा देश आर्थिक मन्दीमा जान सक्ने भन्दै दीर्घकालीन तथा अल्पकालीन आर्थिक नीति तय गर्न सरकारलाई सुझाव दिएका थिए ।
बैठकमा युके, जर्मनी, अमेरिका, इटाली, स्पेन, जापान, युएई, फ्रान्स, दक्षिण कोरिया, साउदी अरब लगायतका देशका एनआरएनए अध्यक्षको सहभागिता रहेको थियो । बैठकमा परराष्ट्र सचिव शंखर बैरागी लगायत परराष्ट्रमन्त्रालयका उच्च अधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।

