कन्चनपुरमा काेराेनाका र्‍यापिड टेस्ट सुरु

  • २५ चैत्र २०७६, मंगलवार २२:४१ मा प्रकाशित
  • भारतबाट फर्किएका एक युवामा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले कञ्चनपुरमा र्‍यापिड टेस्ट सुरु गरेको छ ।

    मंगलबारदेखि भारतबाट नेपाल फर्किएका तथा विभिन्न क्वारेन्टाइनमा रहेका व्यक्तिको र्‍यापिड टेस्ट गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति वीरसिंह साहुले जानकारी दिए । उनका अनुसार पहिलो दिन ९५ जनाको नमुना संकलन गरिएको छ ।

    काठमाडौंबाट आएको तालिमप्राप्त विशेषज्ञ चिकित्सकको टोलीले भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर बजारमा रहेको बैजनाथ माविको क्वारेन्टाइनमा बस्दै आएका ९५ जनाको नमुना संकलन गरेको हो । संकलन गरिएको नमुना काठमाडौंमा पठाएर र्‍यापिड डाइग्नोष्टिक टेस्ट किट र पिसिआर मेसिनबाट परीक्षण गरिने जनाइएको छ । संघीय सरकारले सुदूरपश्चिमका लागि खटाएको टोलीले कञ्चनपुर र कैलालीमा नमुना संकलनको काम थालेको छ ।

    भारतबाट फर्किएर विभिन्न क्वारेन्टाइनमा बस्दै आएका सबैको र्‍यापिड टेस्ट गरिने छ । भीमदत्त नगरपालिका– ४ बैजनाथ क्वारेन्टाइनमा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकाहरूलाई राखिएको छ । कञ्चनपुरका विभिन्न क्वारेन्टाइनमा दुई सय १० जना बस्दै आएका छन् ।

    फरकधार.कम बाट

    Leave a Reply