
–वसन्त अनुभव-
दाङ, घोराही / घोराही उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिन हालै भारत सहित तेस्रो मूलुकबाट घर फर्केका १९ वटै वडाका नागरिकहरुको नामावली संकलन गर्ने निर्णय गरेको छ ।
नगरको आकस्मीक नगर कार्यपालिका बैठकले भारत सहित अन्य देशबाट आएका व्यक्तिहरुको नाम, ठेगाना, आएको मिति, आएको देश, माध्यम, अहिलेको स्वास्थ्य अबस्था, परिवार संख्या, हालसम्म भेटेका व्यक्तिको संख्या र घरमा छुट्टै बसे नबसेको विबरणहरु संकलन गर्ने निर्णय गरेको हो ।

नामावली र अबस्था संकलनको फारमहरु बैठकमै वडा अध्यक्षहरुलाई बितरण गरिएको छ । अब वडा अध्यक्षहरुले सदस्य तथा टोल विकास संस्थाका पदाधिकारीहरुको समन्वयमा घर फर्केकाहरुको नामावली र अबस्थाको संकलन गरेर आबस्यक परामर्श गरिने प्रबक्ता भरतमणि आर्यालले जानकारी दिनुभयो ।
चैत्र १ गते पछि भारत सहित तेस्रो मूलुकबाट घर फर्केकाहरुको तथ्यांक संकलन गरिने छ । उनिहरुको लगत संकलन पछि परामर्श र उपचारका लागि तयारी थालिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।
वडा नम्बर तीनको कुईरेपानी स्थित प्रेरणाका लागि अभियान नेपालको भवन, वडा नम्बर १५ को परिवार नियोजन संघको भवन र वडा नम्बर १६ को सर्रा स्थित बाल अस्पतालको भवनलाई प्रयोग गरिने नगर प्रमुख चौधरीले बताउनुभयो ।
नगरले पहिलो चरणमा एक सय जनालाई राख्न सकिने क्वारेनटाईनको साथै कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि वडा अध्यक्षको संयोजकत्वमा रहेको वाताबरण तथा विपद व्यवस्थापन समितिलाई वडा स्तरीय विपद् जोखिम न्यूनिकरण एवं प्रतिकार्य कार्यदलकोरुपमा काम गर्ने जिम्मेवारी दिने समेत निर्णय भएको छ ।
सो समितिका वडाका जनप्रतिनिधी, राजनितिक दल, सुरक्षाकर्मी, रेडक्रस, टोल विकास संस्थाका प्रतिनिधीहरु रहेका छन् । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले कोरोनाको संक्रमणबाट बच्न सजकता अपनाउन नगरबासीलाई आग्रह गर्दै सरकारले गरेको लकडाउनलाई पूर्णरुपमा पालना गर्न अपिल गर्नुभएको छ ।

