बोयर जातको बाख्रापालनबाट तीन वर्षमा पाँच करोड रुपैयाँको कारोबार

  • १ चैत्र २०७६, शनिबार १८:०८ मा प्रकाशित
  • अर्घाखाँची, चैत १ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा सामूहिक बाख्रापालनले सफलता लिँदै गएको छ ।

    अष्ट्रेलियाबाट बोयर जातका केही पाठापाठी भित्र्याएर सुरु गरिएको बाख्रापलनबाट पछिल्लो तीन वर्षमा पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार भइसकेको देखिन्छ ।

    छोटो समयमै राम्रो आम्दानी हुने भएकाले अन्य ठाउँमा पनि यसको विस्तार हुन थालेको हो ।

    नेपालमा पहिलोपटक सामुदायिक व्यवस्थापनमा सञ्चालित बोयर बाख्रापालनबाट अपेक्षित लाभ हासिल हुँदै गइरहेको छ ।

    अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर–११ का १५३ घरधुरी संलग्न जालकाँडा बाख्रापालन समूहले २०७३ सालमा अस्ट्रेलियाबाट बोयर जातका २५ पाठी र बोका ल्याएपछि यसको उत्पादन वृद्धि हुँदै गइरहेको हो ।

    उक्त समूहले तीन वर्षको अवधिमा पाँच करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको पनि जनाएको छ ।

    १६२ किलोको बोकोसहित बोयर जातका १६ बाख्रा पालेका दिननाथ आचार्यले अहिले वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

    यी बाख्रा खरिदको लागि उत्पादन हुनुअघि नै ‘अर्डर’ आउने भएकाले यसको माग उच्च हुँदै गइरहेको छ ।

    अहिलेसम्म यहाँबाट उत्पादन भएका बाख्रा ३६ जिल्लामा बिक्री भइसकेको र अन्य जिल्लामा पनि चर्को माग रहँदै आएको छ ।

    २०७७ साल असोजसम्म जन्मिने सबै पाठापाठी बिक्रीका लागि ‘बुकिङ’ भइसकेका छन् ।

    सामूहिक प्रयासबाट सुरु गरिएको बाख्रापालनबाट यस क्षेत्रका स्थानीयको आर्थिक अवस्था माथि उठ्दै गइरहेको जालकाँडा बाख्रापालन समूहका अध्यक्ष गोपाल बस्यालको भनाइ छ ।

    परम्परागतरूपमा पालिँदै आएका स्थानीय जातका बाख्रा हुर्किन धेरै समय लाग्ने र आम्दानी पनि निकै कम हुने भएपनि यसबाट भने कृषकहरु निकै लोभिएका छन् ।

    एउटा बोकालाई ४० देखि ५० हजार रुपैयाँसम्म मूल्य पर्ने भएकाले यसबाट बढी नाफा हुने किसानहरुको भनाइ छ ।

    यति हुँदा–हुँदै पनि अर्कोतिर नगरपालिकाले यसलाई प्रोत्साहित गर्ने कुनै काम नगरेकामा भने कृषकको गुनासो देखिन्छ । इमेजखबर बाट साभार

    Leave a Reply