
दाङ । सरकारले दैनिक उपभोग्य वस्तु खरिदका लागि बिहान ६ देखि ९ बजे दैनिक उपभोग्य बस्तु पाइने पसल खोल्ने निर्णय गरे पनि घोराही बजार पूर्ण रुपमा बन्द हुने भएको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि भन्दै घोराही उप–महानगरपालिका, वातावरण तथा विपद व्यवस्थापन समिति एवं वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा बसेको सर्वदलीय वैठकले यस्तो निर्णय गरेको हो ।
पसल संचालन गर्दा बजारमा अनावश्यक मानिसको भिडभाड हुने भन्दै सर्वदलीय बैठकले भोली सोमबार राति १२ बजेबाट लागु हुने गरी वडा नं. १४ र १५ का सम्पूर्ण किराना तथा तरकारी पसल लगायत घोराही बजार बन्द गर्ने निर्णय गरेको हो ।
साथै बैठकले सर्वसाधारणलाई अत्याबश्यक पर्ने दैनिक उपभोग्य बस्तु दाल,चामल,नुन, तेल आदि उद्योग वाणिज्य संघ दाङको समन्वयमा घरमै पुर्याइने व्यवस्था मिलाईएको जनाएको छ । त्यसका लागि समन्वय गर्न सम्बन्धित टोल विकास संस्था अध्यक्ष एवं पदाधिकारी, राजैनितिदल, स्थानिय निकायका प्रतिनिधी, सुरक्षाकर्मी र संघ संस्थाका प्रतिनिधीको सहयोगमा ति सामाग्री वितरण गरिने भएकोछ।
बैठकले लकडाउनको समयमा आई पर्ने समस्या समाधान गर्न घोराही उप–महानगरपालिका वडा नं.१४ मा कल सेन्टर स्थापना गर्ने भएको छ त्यसका लागि उपभोक्ताहरुलाई ०८२ः ५६३९७० मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
यस्तै अत्याबश्यक पर्ने दैनिक उपभोग्य बस्तु खरिद गर्न दाङ जिल्ला उद्योग वाणिज्य संघको ०८२ ५६००६३ मा सम्पर्क राख्न आम उपभोक्तालाई आग्रह गरिएको छ ।
बैठकमा बोल्दै घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आम उपभोक्ताको स्वास्थ्यलाई मध्य नजर राख्दै यस्तो निर्णय गरेको बताउँनुभयो । उहाँले अहिले बजारमा अनावश्यक चहल पहल बढेको भन्दै २४ सै घण्टा लकडाउनमा बस्न सर्बसाधारणलाई आग्रह गर्नुभयो।
यस्तै वडा नं. १५ का अध्यक्ष रमेश पाण्डेले विश्वभर फैलिएको कोरोना भाईसर बाट मानिसलाई संक्रमणबाट बचाउँन गरिएको निर्णय कार्यान्वयमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
बैठकमा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल, पाँच नं. प्रदेशका उपाध्यक्ष हेमराज बञ्जाडे, वडा प्रहरी प्रमुख दिनेश रिमाल, नेकपा घोराही १४ का अध्यक्ष कृतिमान पुन, नेपाली काग्रेस प्रतिनिधी गुरुप्रसाद कडेल, राष्ट्रिय जनमोर्चाका लिलाबहादुर पुन, राप्रपाका त्रिभुवन थापा र विभिन्न टोल विकास संस्थाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

