सार्क भिडियो कन्फरेन्स: कोरोनाभाइरस नियन्त्रण गर्न सबैको एकमत

  • २ चैत्र २०७६, आईतवार १९:२८ मा प्रकाशित
  • विश्वभर महामारीको रुप लिइरहेको कोरोनाभाइरस विरुद्ध साझा रणनीति बनाउन दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरूबीच भिडियो कन्फरेन्स भएको छ । कन्फरेन्समा सबै राष्ट्रका प्रमुख र प्रतिनिधिले कोरोनाभाइरस विरुद्ध एक भएर लड्न तयार रहेको बताएका छन्।

    नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रणका लागि सम्पूर्ण विश्व एकजुट भएर लाग्नु पर्ने बताएका छन्।
    प्रधानमन्त्री ओलीले कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्रमै गम्भीर समस्या उत्पन्न भएको बताउँदै यसको संक्रमण रोकथाममा सार्कका सबै सदस्य राष्ट्र र सबै राष्ट्रले आ–आफ्नो क्षेत्रबाट सक्दो पहल गर्नुपर्ने धारणा राखेका छन्।
    विश्वभरि त्रास फैलाएको कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकार प्रतिवद्ध रहेको भन्दै उनले हामी सार्क राष्ट्र, मित्र राष्ट्रहरुबीच एक भएर यसको नियन्त्रणका लागि राष्ट्रको सबै शक्ति लगाएर लड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
    त्यस्तै  बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोरोना भाइरसविरुद्ध लड्न सार्क क्षेत्रमा छुट्टै संस्था निर्माण गर्न प्रस्ताव गरेकी छिन् । उनले कोभिड १९ सँगै अन्य भाइरस र जनस्वास्थ्य समस्याविरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रमा एउटा संस्था निर्माण गर्नुपर्ने धारणा राखिन्।
    आफ्नो मुलुकमा कोरोनाभाइरस रोकथाम गर्न देशभर स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा राखिरहेको भन्दै उनले आवश्यक परेको बेलामा नागरिहरुलाई होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको जानकारी दिइन्।
    त्यस्तै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले कोरोनाभाइरससँग जुध्न बनाइने क्षेत्रीय रणनीतिमा दीर्घकालीन कार्यक्रम समेट्नुपर्ने बताएका छन् । राष्ट्रपति सोलिहले आफ्नो देशको अर्थतन्त्रमा ठूलो असर परेको उल्लेख गर्दै उक्त प्रस्ताव स्पष्ट पार्ने प्रयास गरे। 
    उनले  कोरोनाभाइरसका कारण माल्दिभ्समा वैदेशिक मुद्राको अभाव भइरहेको उल्लेख गरे। 
    अफगानिस्तानका राष्ट्रपति असरफ गानीले चीनले प्राप्त गरेको सफलता उदाहरण बन्न सक्ने भन्दै आफ्ना लागि इरानसँगको खुला सीमा सबैभन्दा ठूलो चुनौती भएको बताए । उनले सीमा बन्द हुँदा खाद्यान्न, औषधि र आधारभूत आवश्यकताका सामग्री अभाव हुन सक्ने भएकाले अप्ठेरोमा परेको बताए।
    भूटानका प्रधानमन्त्री लोटे छिरिङले सधैं एकै ठाउँमा हुनुपर्ने सामान्य आवश्यकता भएपनि विश्व एक विशेष रोगसँग लडिरहेका बेला झनै एकजुट हुनु अपरिहार्य रहेको बताए । उनले विभिन्न मुलुकबीच रहेका मत भिन्नतालाई केही समयका लागि थाती राख्नुपर्ने धारणा राखे ।
    पाकिस्तानका स्वास्थ्यमन्त्री जाफिर मिर्जाले विश्वका सबै देश यस भाइरसविरुद्ध उभिनुपर्ने धारणा राखे । उनले भाइरसबारे आरोप र प्रत्यारोप गर्न नहुने बताउँदै भाइरस नियन्त्रण गर्न एक हुनुपर्ने धारणा राखे । उनले पाकिस्तानमा सबै शैक्षिक संस्था ३ हप्तासम्म स्थगित गरेको जानकारी समेत दिए।
    त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको प्रकोपबाट डराउनुभन्दा एकजुट भएर सामना गर्नुपर्ने बताए । कन्फरेन्सको सुरुवातमै सम्बोधन गरेका भारतीय प्रधानमन्त्री मोदीले सार्क देशमा १५० भन्दा कम केस देखिएको उल्लेख गर्दै भारतले कोरोनासम्बन्धी जागरुता अभियान चलाइरहेको जानकारी दिए।
    मोदीले कोरोना भाइरस रोकथामका लागि सार्क क्षेत्रमा एक करोड भारतीय रुपैयाँको कोष घोषणा गरेका छन् । त्यसमा प्रधानमन्त्री ओलीले नेपालको पनि योगदान रहने बताएका छन्।

    हिमालखबर.कम बाट

    Leave a Reply