
–वसन्त अनुभव-
दाङ,घोराही/ बसन्त पन्चमीको अवसर पारेर घोराही उपमहानगरपालिका वडा नं. १७, चौघेरास्थित गोरक्ष रत्ननाथ मठमा गोरक्ष रत्न पुस्तकालयको पुन: सन्चालन गरिएको छ ।
वरिष्ठ पत्रकार युवराज घिमिरेले एक कार्यक्रम बिच पानसमा दीप प्रज्वलन गरि पुस्तकालय पुनः आरम्भ कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । आज भन्दा करिब ५३ वर्ष पहिले स्वर्गीय योगी नरहरी नाथ योगीको अगुवाइमा उक्त पुस्तकालयको स्थापना गरिएको भएतापनी बिबिध कारणवश पुस्तकालय बन्द हुन पुगेको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार घिमिरेले पुस्तकालय पुन: आरम्भ गरिएकोमा खुशी ब्यक्त गर्दै उक्त कार्यमा अविराम खट्नु हुने गुरु देवनाथ लगायतका व्यक्तित्वहरुको प्रशंसा गर्नुभयो । साथै उहाँले पुस्तकालयका संस्थापक योगी नरहरी नाथका ग्रन्थहरु नेपालमात्र नभएर सारा विश्वकै लागि सहि दिशा प्रदान गर्ने मार्गदर्शक भएको धारणा ब्यक्त गर्नुभयो । साथै पुस्तकालयको जगेर्ना र विकासमा सबैले ध्यान दिनुपर्ने कुरा औल्याउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं.५ का सांसद अमर बहादुर डाँगीले गोरक्ष रत्ननाथ मन्दिरले पछिल्लो समयमा विविध गतिविधि संचालन गर्दै आएको जुन निकै सह्रानिय भएको बताउनु भयो । साथै उहाँले मन्दिरको संरक्षण र सम्बर्द्धन गर्नुका साथै यसको आयस्रोत वृद्धि तर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।
गोरक्ष रत्ननाथ मठका मठाधिश पीर जि महाराज योगी देवनाथले सबैको चाहना र सहयोगका कारण यो पुस्तकालयको पुन: आरम्भ हुन गएकोले सबैले अपनत्व ग्रहण गर्दै सर्वसाधारण लगायत सबैलाई पढ्न, अध्ययन गर्नका लागि आउन आव्हान गर्नुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १७ का अध्यक्ष खुशीराम चौधरी, सर्वोदय पुस्तकालय घोराही दाङका अध्यक्ष सुशील गौतम, संस्कृतिविद डा.गोविन्द आचार्य लगायतका महानुभावहरुले शुभकामना मन्तव्य दिदै गोरक्ष रत्ननाथ मन्दिरले दिनप्रतिदिन प्रगति गर्दै गएकोमा खुशी व्यक्त गर्नु भएको थियोे ।
कार्यक्रममा गोरक्ष रत्ननाथ मठका सचीव हिरानाथ योगीले कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरुलाई स्वागत गर्नुका साथै गोरक्ष रत्ननाथ मठ तथा पुस्तकालयका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा पतन्जली योग समिति , ५ नं. प्रदेश प्रभारी प्रेम शाह, पतन्जली योग समिति , दाङ जिल्ला अध्यक्ष उदय डाँगी, गोरखनाथ वैदिक गुरुकुलका अध्यक्ष एवं ज्योतिषपण्डित प्रकाश भट्टराई बोधी पुन, धनिराम योगी, कोमानन्द योगी, सुशीला खनाल, भोला अधिकारी लगायतको सहभागिता रहेको थियो ।

उक्त अवसरमा वरिष्ठ पत्रकार युवराज घिमिरेले वरिष्ठ दंगाली गायक शिशिर योगीद्वारा गाइएको भजन संग्रहको लोकार्पण गर्नुभएको थियो । साथै सोही अवसरमा तन्त्र गुरु पदम बस्नेतले गुरुकुललाई धोती र रुद्राक्ष माला प्रदान गर्नुभएको थियो । बस्नेतले यस अघि पनि गुरुकुललाई सामग्री सहयोग गर्नुभएको थियो ।
कार्यक्रम गोरक्ष रत्ननाथ मठका मठाधिश योगी देवनाथको अध्यक्षतामा र वरिष्ठ पत्रकार युवराज घिमिरेको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको संचालन गोरखनाथ वैदिक गुरुकुलका सचीव तोयानाथ योगीले गर्नुभएको थियो ।
