काठमाडौं। चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आतंकित बनाइरहेको छ। ठूलो संख्यामा रोजगारीका लागि गएका नेपाली रहेको दक्षिण कोरियामा कोरोना भाइरसले आतंक मच्चाइरहँदा अन्य मुलुकमा पनि यसको संक्रमण देखिएको छ।
सोमबार नेपाली कार्यरत खाडी देश कुवेत, बहराइन र ओमनमा पनि यसका संक्रमित बिरामी भेटिएका छन्।
कुवेतको स्वास्थ्य मन्त्रालयले तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ। इरानको मशहदबाट फर्किएकाहरुको परीक्षणको क्रममा तीन जनामा संक्रमण भेटिएको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कुवेतमा भेटिएका पहिलो संक्रमित व्यक्ति ५३ वर्षका कुवेती नागरिक हुन्। दोस्रो व्यक्ति ६१ वर्षका साउदी नागरिक हुन् र तेस्रो व्यक्ति २१ वर्षका युवक हुन् जसको राष्ट्रियता पुष्टि हुन सकेको छैन। तीनै जनालाई निरन्तर निगरानीमा राखिएको मन्त्रालयले जानकारी दिएको छ। कुवेतमा झण्डै ९० हजारको हाराहारीमा नेपालीहरु रोजगारीका लागि गएका छन् ।
त्यसैगरि बहराइनमा पनि पहिलो पटक यस भाइरसको संक्रमण देखिएको छ। बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार इरानबाट बहराइन आएका एक बहराइनी नागरिकमा कोरोना भाइरस देखिएको हो।
भाइरस संक्रमित बिरामीलाई विशेष मेडिकल टोलीको सुपरिवेक्षणमा तत्काल परीक्षण तथा उपचारका लागि स्थानीय इब्राहिम खलील कानू मेडिकल सेन्टरमा सरुवा गरिएको छ। बहराइनमा १५ हजार बढि नेपालीले काम गर्दे आएका छन्।
त्यस्तै ओमनमा पनि दुई जनामा यसको संक्रमण भेटिएको छ। ओमनको स्वास्थ्य मन्त्रालयले सोमबार दुई जना महिलामा यसको संक्रमण पुष्टि भएको जनाएको छ। कोरोना पोजेटिभ देखिएका ती महिलाहरु इरानको यात्रा गरेर फर्केका थिए। ओमनमा करिब २० हजार नेपाली कार्यरत छन्।
साभार: डी सी नेपाल