लखनऊ, १ फागुन । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् । बुधबार लखनऊस्थित मुख्यमन्त्रीको कार्यकक्षमा भएको भेटमा योगीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चासो व्यक्त गरेका थिए । दुवै नेताबीच नेपाल भारत सम्बन्ध र भविष्यमा धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउनेबारे छलफल भएको थियो ।
भेटमा सहभागीका अनुसार योगीले आध्यात्मिक पर्यटनलगायतका विषयमा कुराकानी गरेका थिए । उनले धर्मको विषयमा निकै चासो राखेका थिए । योगीले पशुपतिनाथ देखि विश्वनाथ, गोखरपुर देखि गोरखा, दाङ देखि बलरामपुर, मिर्जापुर देखि पोखरासम्मको धार्मिक तथा ऐतिहासिक सम्बन्धको चर्चा गर्दै धर्मको महत्वबारे व्याख्या गरेका थिए ।
योगीले काँग्रेस महामन्त्री डा. सशांक कोइरालाको विचार ध्यानपूर्वक सुनेका थिए । विश्वस्त स्रोतका अनुसार कोइरालाले धर्मका बारे आफू गम्भीर भएको बताएका थिए। धार्मिक सम्बन्धको महत्वबारे समेत कुराकानी गरेका थिए ।
भेटमा काँग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, भारतका लागि नेपालका पूर्व राजदूत दिपकुमार उपाध्याय र काँग्रेसका युवा नेता सन्दीप राना समेत सहभागी थिए । उनीहरुले नेपाल र भारतको उत्तर प्रदेशबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक निकटताबारे समेत छलफल गरेका थिए ।
योगी आदित्यनाथ नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापनाका पक्षधर मानिन्छन् । उनले उत्तर प्रदेशको मुख्यमन्त्री हुनु अगाडि यो विषय सार्वजनिक रुपमै उठाएका थिए । काँग्रेस महामन्त्री डा. सशांक कोइराला हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका छन् । उनले राजसंस्थाबारे पुर्नविचार गर्नुपर्ने विषय समेत राखिसकेका छन् ।
नेपाली काँग्रसको महाधिवेशन आगामी वर्ष हुने तय भइसक्दा डा. सशांक कोइरालाको सक्रियतालाई अर्थपूर्ण मानिएको छ । उनको योगी आदित्यनाथसँगको भेट निकै अर्थपूर्ण रहेको छ ।
रिपोर्टर्स नेपाल २