२०७६ फागुन १
दक्षिण कोरियाले बुधबार कोरोना भाइरसबाट प्रभावित सहर वुहानबाट बुधबार आफ्ना १४७ जना नागरिकको उद्धार गरेको छ । योसँगै दक्षिण कोरियाले १५ दिनभित्र ७०१ कोरियालीको उद्धार गरेको छ ।
उद्धार गरिएका व्यक्तिहरू चढेको चार्टर्ड विमान बुधबार बिहान ६ बजे पश्चिमी सिउलको गिम्पो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । सिउल फर्काइएकामध्ये कोरियाली नागरिक, उनीहरूका चिनियाँ पति, पत्नी तथा परिवारका सदस्य छन् । उद्धार गरिएकामध्ये ६ जनामा कोरोना भाइरसको लक्षण देखिएको छ । कोरोना भाइरसको लक्षण देखिएका यात्रुलाई थप मेडिकल जाँच र उपचारका लागि नजिकको अस्पतालमा पठाइएको छ । उद्धार गरिएका व्यक्तिहरूलाई राजधानी सिउलबाट करिब ८० किलोमिटर टाढाको इन्चोनमा १४ दिनसम्म क्वारेन्टाइनमा राखिएको अधिकारीहरूले बताएका छन् ।
बुधबार फर्काइएका यात्रुहरूमध्ये करिब ६० जना चिनियाँमूलका छन् । उनीहरूलाई चिनियाँ अधिकारीहरूको स्वीकृतिपछि दक्षिण कोरिया जान अनुमति दिइएको थियो । सिउलले पछिल्लो उडानमा ७० जना चिनियाँसहित १७० जनालाई कोरिया ल्याउने योजना बनाएको थियो । तर, सबै व्यक्ति विमानमा नआएकाले संक्रमित भएको अनुमान गरिएको छ ।
अझै पनि वुहानमा करिब १०० जना दक्षिण कोरियालीहरू रहेको बताइएको छ । तर, उनीहरूको उद्धारबारे सरकारले केही बताएको छैन । दक्षिण कोरियामा एक दर्जनभन्दा बढीमा कोरोना भाइरस देखिएको पुष्टि भइसकेको छ । दक्षिण कोरियामा दुई दर्जनभन्दा बढी व्यक्तिमा कोरोना भाइरस रहेको पत्ता लागिसकेको छ । तर, कसैको पनि मृत्यु भएको छैन ।
कोरोनाबाट मृत्यु हुने ११ सय नाघे
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो छ । मंगलबार थप ९७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ सय १५ पुगेको छ भाइरसबाट अहिलेसम्म ४५ हजार १ सय ७१ संक्रमित छन् । तीमध्ये अधिकांश हुवेई प्रान्तको वुहान सहरका छन् । भारइरसको उपचारपछि ४८ सय बिरामी घर फर्किएका छन् । यो संक्रमण चीनबाहेक ३० देशमा फैलिएको छ ।
कोरोना नियन्त्रणमा विश्व समुदायले चीनलाई सघाउने
कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न विश्व नेताहरूले चीनलाई सहयोगको आश्वासन दिएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले चीनलाई संक्रमणविरुद्धको लडाइँमा आवश्यक सहयोग गर्ने बताएका छन् । उनले अहिलेसम्म चीनले अघि सारेका नियन्त्रणका उपायहरूको प्रशंसा गरेका छन् ।
पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सोउसाले पनि चीनलाई सहयोगको वचन दिएका छन् । उनले भाइरस नियन्त्रणमा चिनियाँ प्रयासको सह्राहना गर्दै चीनले छिट्टै कोरोनामुक्त हुने बताए । ग्रिसका राष्ट्रपति प्रोकोपिस पाभ्लोपाउलसले यस भाइरसबाट ज्यान गुमाउने चिनियाँ नागरिकप्रति दुःख व्यक्त गर्दै बेइजिङलाई सहयोग गर्ने बताएका छन् । टर्कीका राष्ट्रपति रिसेप तेइक एर्डाेगान, अल्जेरिया र इथियोपियाका प्रधानमन्त्रीले पनि चीनलाई सहयोग गर्ने बताएका छन् ।
कोरोनाकाे औपचारिक नाम ‘कोभिड–१९’
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) महामारीको स्वरूप लिएको कोरोना भाइरसबाट लाग्ने रोगको नामाकरण गरेको छ । रोगको औपचारिक नाम ‘कोभिड–१९’ दिइएको छ । कोरोना संक्रमण ३० देशमा फैलिरहेका वेला डब्लुएचओले बुधबार नयाँ नाम जुराएको हो । ‘ कोरोना भाइरसको नाम कोभिड–१९ दिएका छौँ,’ डब्लुएचओका प्रमुख टेडोर्स एडहानोमले भने । नयाँ नाम ‘कोरोना’, ‘भाइरस’, ‘डिजिज’ र संक्रमित फेला परेको वर्षलाई संयोजन गरेर जुराइएको हो ।
नयाँ पत्रीका