–वसन्त अनुभव-
दाङ, २१ माघ / घोराही उपमहानगरपालिका वडा नं १४ ले मेयरककप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको खेल प्रतियोगितामा भाग लिएका सम्पूर्ण खेलाडीहरुलाई आज जनही २ हजार ५ सय रुपैयाँ नगद र प्रशंसा पत्र सहित सम्मान गरेको छ।
खेल खेल्ने क्रममा दुर्घटना भइ घाइते भएका खेलाडी सागर चौधरीको उपचार गर्नुका साथै निजलाई पौष्टिक आहार व्यवस्थापनका लागि खेलाडीकी आमालाई पाँच हजार रुपैयाँ नगद पनि हस्तान्तरण गरिएको थियो । वडासदस्य गुलाम रसुलका अनुसार खेल खेल्ने क्रममा दुर्घटना भइ घाइते हुन पुगेका सबै खेलाडीहरुको उपचारको जिम्मा पनि वडा नं.१४ ले लिएको छ ।
उक्त अवसरमा घोराही उप-महानगरपालिकाबाट प्राप्त दोस्रो पुरस्कार वापतको रु पचास हजार पनि खेलाडी एवं प्रशिक्षकलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।
घोराही १४ का अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, वडा नं. १४ का सदस्य गुलाम रसुल, दिल कुमारी बुढा लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।