
गैर आवसिय नेपाली संघ साउदी अरबले एक विशेष कार्यक्रम गरी नेपाली राजदुताबास रियादका लागी श्रम सहचारी अम्बिका प्रसाद अधिकारीलाई सम्मान पत्र प्रदान गरी बिदाई गरेका छन्।दम्माम स्थित रहेको मईमूना रेष्टुरेण्टमा ३१ जनवरी २०२० शुक्रवारका दिन एनआरएनए एनसिसी सदस्य नरेन्द्र कार्कीले संचालन गरेको उक्त कार्यक्रमको सभापतित्व एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज बहादुर थापाले गरेका थिए भने प्रमुख अतिथीको रूपमा नेपाली राजदुताबास रियादका राजदुत महेन्द्र सिं राजपूतको उपस्थिती रहेको थियो ।

अन्य अतिथीको रूपमा नेपाली राजदुताबास रियादका द्वितीय सचिव तारा गौतम लगायतका दुताबास परिवार, पूर्वी क्षेत्र दम्मामका लागी स्थानिय कर्मचारी हरी घिमीरे, एनआरएनए आईसिसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसिसी साउदीका संस्थापक राजु सैयद, ओम घले, बिरेन्द्र चौधरी, एनआरएनए एनसिसी साउदीका उपाध्यक्ष रोशन श्रेष्ठ, भोलानाथ पौड्याल लगायतका पदाधिकारीहरू, समाजसेवी तथा व्यवसायी कुबेर हुँमागाई र संचार कर्मीहरूको उपस्थिती रहेको थियो।

उक्त बिदाई कार्यक्रममा मन्तव्य राख्दै श्रम सहचारी अधिकारीले चार वर्षको कार्यकालमा श्रमिकहरूको हितार्थ गरेको कामकार्वाहीहरूमा एनआरएनए साउदीले गरेको सहयोग प्रसंसा गर्दै एनआरएनएले देखाएको आत्मियता प्रति धन्यवाद व्यक्त गरेका थिए। मन्तव्यकै क्रममा प्रमुख अतिथी प्रा.डा. महेन्द्र प्रसाद सिं राजपूतले आफू संगको दुई वर्षे सहकार्यमा श्रम सहचारी अधिकारी निष्ठावान र ईमानदार रहेको बताउँदै अगामी दिनमा कार्यदक्षताको उच्चता प्राप्तिको शुभेच्छा प्रकट गरेका थिए । कार्यक्रमलाई टुंग्याउने क्रममा बोल्दै एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज बहादुर थापाले विगतमा दुताबास संग रहेको तिक्ततालाई हटाई सहकार्य र दुताबास संगको निकटताको लागी विशेष भुमिका निभाएको प्रति दुताबास र श्रम सहचारी अधिकारीलाई कृतज्ञता प्रकट गरेका थिए।
