सिरिया,२ माघ/सिरियामा लडाइ सुरु भएको नौ वर्षपछि त्यहाँका दशौँ लाख बालबालिकाहरूको अवस्था झनै दयनीय भएको एक नयाँ राष्ट्रसङ्घीय प्रतिवेदनले जनाएको छ। त्यसका अनुसार बालबालिकामाथि हुने अपराध घटेको छैन र लाखौँ बालबालिका विद्यालय जान पाइरहेका छैनन्।
यसैबीच उत्तरी प्रान्त इद्लिबमा चर्किएको भिडन्तमा करिब ४० जनाको ज्यान गएको विवरण प्राप्त भएको छ। सिरियाली बालबालिकाबारेको नयाँ राष्ट्रसङ्घीय अध्ययन प्रतिवेदन अनुसार त्यहाँका बालबालिकाहरूको अवस्था निकै दयनीय छ। त्यहाँ १२ वर्ष उमेरका कलिला बालकलाई समेत यातना दिइएको र बालिकाहरूको अपहरण र बलात्कार जारी रहेको प्रतिवेदनमा उल्लेख छ।
सिरियाका विभिन्न स्थानमा केटाकेटीहरूको हत्या हुने क्रम पनि नरोकिएको मानवअधिकार अनुसन्धानकर्ताहरूको भनाइ छ। नयाँ अध्ययन अनुसार २० लाख भन्दा बढी सिरियाली बालबालिकाहरू विद्यालय जान पाइरहेका छैनन्।
राष्ट्रसङ्घीय प्रतिवेदनले त्यहाँ मानिसहरूलाई शिक्षा र स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न र सिरिया पुगेका विदेशी लडाकुका केटाकेटीलाई स्वदेश फर्काउन सरकारहरूलाई आग्रह गरेको छ। सिरियाली बालबालिकाको दयनीय अवस्थाबारेको प्रतिवेदन सार्वजनिक भएको बेला उत्तरी प्रान्त इद्लिबमा सिरियाली सरकारी फौज र विद्रोहीबीच भीषण लडाइ भएको खबर प्राप्त भएको छ।
बीबीसी